कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले विद्यालयमा क्षति

वसन्तप्रताप सिंह

बझाङ — बाढीपहिरोले दुई महिनाअघि निर्मित तल्कोट गाउँपालिका–२ बस्टीस्थित विश्वनाथ प्राथमिक विद्यालय क्षतिग्रस्त भएको छ ।

बाढीले विद्यालयमा क्षति

तल्कोट गाउँपालिकाको करिब १० लाखको लागतमा निर्माण भएको दुईकोठे पक्की भवन र त्यसमा रहेका फर्निचरहरूमा पूर्णरूपमा क्षति भएको विद्यालयका प्रधानाध्यापक बिर्खराज जोशीले बताए । विद्यालयभित्र पसेको बाढीले दिवा खाजा तयार गर्ने भान्साघर क्षतिग्रस्त भएको छ । पहिरोले खानेपानीको संरचना पनि बगाएर लगेको प्रधानाध्यापक जोशीले बताए ।

विद्यालय भवन, खाजाघर, खानेपानी र फर्निचर गरी झन्डै २० लाख रुपैयाँबराबरको क्षति भएको विद्यालयले जनाएको छ । ‘पुरानो भवनमा राखिएको हुनाले कागजपत्रहरू मात्र बचेका छन् । अरू सबै पहिरोले लग्यो,’ उनले भने । विद्यालयको फर्निचरलगायतका संरचनाहरू बाढीपहिरोले क्षति पुर्‍याएपछि यहाँ अध्ययनरत १ सय १० विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ । प्रअ जोशीले भने, ‘सबै संरचना बगिहाल्यो । विद्यार्थीलाई कहाँ राखेर पढाउने ?’

विद्यालय नजिकैको ठूलोखोला धार परिवर्तन गरी विद्यालयमा पसेपछि विद्यालय नजिकै निर्माण हँुदै गरेको सामुदायिक महिला भवनमा समेत क्षति पुगेको छ । यो भवन गाउँपालिकाको अनुदान र स्थानीयको श्रमदानमा बन्दै गरेको थियो । सोही खोलामा आएको बाढीपहिरोले स्थानीय चँदारा समुदायले ठेकी बनाउन प्रयोग गर्ने अन्सान्नु घर पनि बगाएर लगेको स्थानीय नरेश रोकायाले बताए । गाउँमाथिको पहिरोले विद्यालय भन्दा तलका स्थानीयका ३ वटा घर र करिब १ सय रोपनी खेतबारी पनि जोखिममा परेको उनले बताए ।

विद्यालयको सिरानमा निर्माण भएको चैनुपुर रुवातोला र बायाँतर्फ निर्माण भएको बस्टी भीमढुंगा सडकका कारणले पहिरो सुरु भएको स्थानीयको भनाइ छ । ‘यति नजिकै दुईवटा सडक नबनाऔं । खोलाले धार परिर्वतन गर्‍यो भने गाउँ नै बगाउँछ भनेर भनेकै हौं,’ स्थानीय झलक रोकायाले भने, ‘त्यो बेला गाउँलेको आवाज कसैले सुनेनन् । अहिले यस्तो दुर्दशा भयो ।’ उनले स्थानीय ठूलोखोलाको प्राकृतिक प्रवाह छेकिने गरी सडक बनाएका कारण खोला विद्यालयतर्फ फर्किएको बताए । खोलाले धार बदलेर स्कुल बगाएपछि त्यसको तल रहेका तीन घरका मानिसहरू बाढीपहिरोको डरले विस्थापित हुने अवस्थामा पुगेको बताए ।

यस्तै, शुक्रबार रातिको पहिरोले खप्तड छान्ना गाउँपालिका–७ गोर्खालीमा घर बगाएपछि ३ परिवारका गरी ३२ जना विस्थापित भएका छन् । स्थानीय खड्क सिंह, मोहन सिंह र हीरा सिंहको घर पूर्णरूपमा बगाएको हो । घर बगाउँदा करिब ६० लाख बराबरको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र नगद पहिरोमा पुरिएको स्थानीय ललित सिंहले बताए ।


घरभन्दा १ सय मिटरमाथि फाटे भन्ने ठाउँबाट आएको पहिरोका कारण त्यहाँका अरू ५ घर पनि जोखिममा परेको र पहिरोका डरले उनीहरू घरमा बस्न नसकेको उनले बताए । पहिरो आउने संकेत पाएपछि घरबाट भागेका कारण मानवीय क्षति भने हुन नपाएको सिंहले बताए ।

प्रकाशित : भाद्र ३, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?