कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनप्रतिनिधिको सवारीसाधन मोह

वडा कार्यालयलाई दिएको मोटरसाइकल वडाध्यक्षको व्यक्तिगत काममा प्रयोग
जनप्रतिनिधिले प्रयोग गर्ने सवारीसाधनको इन्धनमा मात्रै मासिक ९ हजार रुपैयाँ खर्च
सर्वसाधारणबाट संकलित रकमबाटै सवारी साधन किन्न स्थानीय तह अग्रसर
चलाउनै नजान्नेले पनि लिए सरकारी सुविधाको मोटरसाइकल
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकामा जनप्रतिनिधिहरूले कार्यभार सम्हालेकै वर्ष सबै वडाध्यक्षलाई १/१ मोटरसाइकल दिइएको थियो । निर्वाचित भएर कार्यभार सम्हालेकै वर्ष १९ वटै वडाध्यक्षलाई मोटरसाइकल उपलब्ध गराइएको हो ।

जनप्रतिनिधिको सवारीसाधन मोह

यहाँको शुक्लाफाँटा नगरपालिकाले पनि वडाध्यक्षहरूलाई मोटरसाइकल वितरण गरेको छ । उक्त नगरपालिकाले पनि गत आवदेखि नै मोटरसाइकल वितरण सुरु गरेको हो । पहिलो वर्ष वडा २ का अध्यक्ष शिवराज पनेरू र ७ का अध्यक्ष जगतबहादुर सिंहलाई मोटरसाइकल उपलब्ध गराइएको हो । यस वर्ष पनि थप अध्यक्षलाई आवश्यकताअनुसार सवारी साधन उपलब्ध गराउने कार्यपालिकाले निर्णय गरेको छ ।

जिल्लाकै दुर्गम मानिने लालझाडी गाउँपालिकाले पनि प्रमुख, उपप्रमुख र ६ वटै वडाध्यक्षलाई गत आवमै मोटरसाइकल उपलब्ध गराएको छ । उक्त गाउँपालिकामा प्रमुख उपप्रमुखले चढ्न चारपांग्रे सवारीसाधन नभए पनि उनीहरूलाई मोटरसाइकल नै उपलब्ध गराइएको छ ।

उपप्रमुख सत्यदेवी महराले आफैं चलाउन नजाने पनि वडा सदस्य र आफन्तलाई बोकेर हिँड्ने गरेकी छन् । उक्त गाउँपालिकामा पनि सबै वडामा उपलब्ध गराइएको मोटरसाइकलका लागि प्रत्येकलाई मासिक १० लिटर इन्धन उपलब्ध गराइन्छ ।

प्रमुख, उपप्रमुख र वडाध्यक्षले प्रयोग गर्ने सवारी साधनको इन्धनमा मात्रै करिब ९ हजार मासिक खर्च हुन्छ । वडाध्यक्षका लागि भन्दा पनि वडा कार्यालयलाई सहज होस् भनेर सवारी साधन उपलब्ध गराइएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बताए । उक्त सवारी साधन अहिले वडाध्यक्षले नै प्रयोग गरिरहेका छन् ।

यतिबेला देशभरिका स्थानीय तहमा कर वृद्धिको व्यापक चर्चा र विरोध भइरहेको छ । सामान्य विषयमा पनि तिर्नै नसकिने कर लगाएको भन्दै सर्वसाधारणहरू जनप्रतिनिधिप्रति रुष्ट पनि छन् । तर यहाँका जनप्रतिनिधिहरू भने संकलन भएकै करबाट सवारी साधन खरिद गर्नमा बढी केन्द्रित देखिएका छन् । प्रमुख र उप प्रमुखको मोह चारपांग्रे सवारी साधनमा छ भने वडाध्यक्षको मोह मोटरसाइकलमा देखिन्छ ।

‘जनप्रतिनिधिहरूलाई आवश्यकता अनुसार सवारी साधन उपलब्ध गराइएको हा,े’ शुक्लाफाँटाका नगर प्रमुख दिलबहादुर ऐरले भने, ‘जनताकै कामका लागि गाउँगाउँ पुग्न अहिले मोटरसाइकल नभई नहुने अवस्था भएको छ ।’ उनले वडा पनि ठूलो र नगरपालिका कार्यालयबाट टाढा रहेका वडालाई प्राथमिकतामा राखेर सवारीसाधन दिन थालिएको बताए । यसले जनताकै काममा सहज भएको उनको तर्क छ ।

भीमदत्त नगरपालिकामा त अझ कतिपय वडाध्यक्ष मोटरसाइकल चलाउन पनि जान्दैनन् । उक्त वडामा कार्यवाहक हुने वा वडा सदस्यले मोटरसाइकल चालउने गरेका छन् । ‘यो वडाध्यक्षलाई भन्दा पनि वडा समितिको कार्यालयका लागि उपलब्ध गराइएको हो,’ भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका वडा १८ का अध्यक्ष राजेन्द्र पाण्डेयले भने, ‘तर यसलाई वडाध्यक्षले नै प्रयोग गरिरहेका छन् ।’

जनप्रतिनिधिहरूले वडा समितिको कामसँगै व्यक्तिगत काममा पनि सवारी साधनको प्रयोग गरिरहेका छन् । उनीहरूले पाएका मोटरसाइकल आफन्तलाई समेत प्रयोग गर्न दिएको देखिन्छ । नगरपालिकाले उपलब्ध गराइएको मोटरसाइकलका लागि मासिक ११ सय बराबरको इन्धन पनि उपलब्ध गराइएको छ ।

वडाध्यक्षहरूलाई उपलब्ध गराइएको मोटरसाइकलका लागि मात्रै इन्धनमा मासिक करिब २१ हजार खर्च हुन्छ । अझ प्रमुख र उपप्रमुखले चढ्ने सवारी साधनको इन्धन खर्च जोड्दा यो रकम झन्डै दोब्बर हुन्छ ।

‘कतिपय ठाउँमा सवारी साधनको दुरुपयोग भएको छ,’ प्रवक्ता पाण्डेयले भने, ‘जनप्रतिनिधिहरूले वडा कार्यालय, नगरपालिका आउजाउ गर्दा र जनताको कामका लागि फिल्डमा जाँदा प्रयोग गर्नुपर्ने हो ।’ उनले जनताको काम छिटो छरितो र सहज होस् भनेर जनप्रतिनिधिहरूलाई कार्यपालिकाको निर्णयअनुसार साधन उपलब्ध गराइएको बताए ।

वडाध्यक्षलाई सवारी साधन उपलब्ध गराइए पनि अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुख चढ्ने गाडी एउटै हुँदा उनीहरूबीच आपसी विवाद समेत हुने गरेका कुराहरू विभिन्न समयमा सार्वजनिक हुने गरेका छन् ।

भएको सवारीसाधन प्रमुखले नछाड्ने हुँदा अनुगमनदेखि विभिन्न कामका लागि फिल्डमा जानसमेत समस्या हुने गरेको उपप्रमुखहरूले खुलेरै विरोध गर्न थालेका छन् । उपप्रमुखकै संयोजकत्वमा अनुगमन समिति हुने भएकाले अझ बढी समस्या हुने गरेको उनीहरू बताउँछन् ।

कञ्चनपुरमा २ गाउँपालिका र ७ नगरपालिकासहित ९ स्थानीय तह छन् । अधिकांश स्थानीय तहले वडाध्यक्ष र प्रमुख उपप्रमुखका लागि सवारी साधन खरिद गरेका छन् । लालझाडी गाउँपालिकाबाहेक सबै प्रमुख उपप्रमुखले चार पांग्रे सवारी साधन नै चढ्छन् ।

प्रकाशित : भाद्र ७, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?