कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकीय क्षेत्र शौचालयविहीन

गणेश चौधरी

टीकापुर — डल्फिन क्षेत्रमा शौचालय पनि बनेका छैनन् । सार्वजनिक शौचालय नहुँदा डल्फिन अवलोकन गर्न आउनेहरू आसपासमा स्थानीयका निजी शौचालय चहार्नुपर्ने बाध्यता रहेको छ ।

पर्यटकीय क्षेत्र शौचालयविहीन

डल्फिन अवलोकन गर्न आएका आन्तरिक पर्यटक दयाराम चौधरीले भने, ‘डल्फिन अवलोकनमा आएकाहरूले कम्तीमा ३/४ घण्टा बिताउँछन् । अध्ययन अनुसन्धान गर्न आएकाहरूले त झन् पूरै दिन काट्नुपर्छ । तर पर्यटकका लागि एउटा पनि शौचालय निर्माण भएको रहेनछ ।’


टीकापुर नगरपालिका–७ को मोहना पथरैया र कान्द्रा नदीको दोभानमा डल्फिन अवलोकनमा आउने पर्यटकका लागि शौचालय, आराम घर तथा सूचना केन्द्र नहुँदा पर्यटकले सास्ती भोग्नु परिरहेको स्थानीय भोजराज ढुंगानाले बताए । डल्फिन अवलोकनमा आउने पर्यटकलाई स्थानीय नै सूचनादाता र गाइड बनिदिने गरेका छन् । डल्फिन अवलोकनका लागि आएका दयाराम चौधरीले भने, ‘स्थानीयले सहयोग नगरेको भए डल्फिन अवलोकन सम्भव थिएन ।’ मोहना, पथरैया र काढा नदी किनारमा डल्फिन हेर्दै जाँदा थकान पनि महसुस हुन्छ । थकित पर्यटकलाई आराम गर्न स–साना घरहरू बनाइदिएको भए राम्रो हुने उनले बताए ।


डल्फिन हेर्न एउटा टावर बनाइएको छ । तर त्यो टावरमा बसेर डल्फिन हेर्नेलाई खानेपानीको पनि व्यवस्था छैन । पानी पिउन पनि स्थानीयकै भर पर्नुपर्छ । स्थानीय भोजराज ढुंगानाले भने, ‘नगरपालिकाबाट अहिलेसम्म कुनै सहयोग भएको छैन । विभिन्न गैरसरकारी संघसंस्थाकै पहलमा यो टावर र संरक्षण चेतनाका कार्यक्रम भएका छन् ।’


डल्फिन संरक्षण र पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले नीति तथा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने ढुंगानाको सुझाव छ । उनले भने, ‘नगरपालिकाले डल्फिन संरक्षणको स्वामित्व लिन जरुरी छ । संघसंस्था र स्थानीयको सहयोग त छँदैछ ।’ करिब ३० वर्ष पहिले यो स्तनधारी जन्तु नेपालका कोसी, गण्डकी र महाकालीमा देखिए पनि हाल कर्णालीको चिसापानीदेखि कोठियासम्म र वर्षायाममा कैलालीको मोहना, कान्द्रा, पथरैया र काढा नदीमा पनि देख्न पाइन्छ ।


अति दुर्लभ मानिए पनि यसलाई संरक्षित क्षेत्रभित्र भने राखिएको छैन । प्राणीविद् डा. मुकेश चालिसेले भने, ‘नेपालमा विभिन्न जीवजन्तु संरक्षणका लागि २७ वटा संरक्षित क्षेत्र छन् । तर डल्फिन अहिलेसम्म संरक्षित क्षेत्र बाहिर छ । यो क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र बनाउन सकिन्छ ।’ चालिसेका अनुसार स्थानीयको सक्रियतामा डल्फिन सिकार नियन्त्रण भएको छ । तर डल्फिन देखिने नदी किनारमा व्यक्तिका जग्गाजमिन छन् ।


त्यसलाई पनि व्यवस्थित गर्नुपर्ने र नदीको सतह सरसफाइमा ध्यान दिनुपर्ने देखिएको छ । स्थानीयस्तरमै यसको संरक्षण र प्रचारप्रसार भएपछि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । दैनिक २०/२५ जना आन्तरिक पर्यटक आउने गरेका स्थानीयले बताए । वर्षे सिजनमा यहाँ डल्फिन अवलोकन गर्न सकिन्छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?