पर्यटकीय क्षेत्र शौचालयविहीन

गणेश चौधरी

टीकापुर — डल्फिन क्षेत्रमा शौचालय पनि बनेका छैनन् । सार्वजनिक शौचालय नहुँदा डल्फिन अवलोकन गर्न आउनेहरू आसपासमा स्थानीयका निजी शौचालय चहार्नुपर्ने बाध्यता रहेको छ ।

डल्फिन अवलोकन गर्न आएका आन्तरिक पर्यटक दयाराम चौधरीले भने, ‘डल्फिन अवलोकनमा आएकाहरूले कम्तीमा ३/४ घण्टा बिताउँछन् । अध्ययन अनुसन्धान गर्न आएकाहरूले त झन् पूरै दिन काट्नुपर्छ । तर पर्यटकका लागिएउटा पनि शौचालय निर्माणभएको रहेनछ ।’

Yamaha


टीकापुर नगरपालिका–७ को मोहना पथरैया र कान्द्रा नदीको दोभानमा डल्फिन अवलोकनमा आउने पर्यटकका लागि शौचालय, आराम घर तथा सूचना केन्द्र नहुँदा पर्यटकले सास्ती भोग्नु परिरहेको स्थानीय भोजराज ढुंगानाले बताए । डल्फिन अवलोकनमा आउने पर्यटकलाई स्थानीय नै सूचनादाता र गाइड बनिदिने गरेका छन् । डल्फिन अवलोकनका लागि आएका दयाराम चौधरीले भने, ‘स्थानीयले सहयोग नगरेको भए डल्फिन अवलोकन सम्भव थिएन ।’ मोहना, पथरैया र काढा नदी किनारमा डल्फिन हेर्दै जाँदा थकान पनि महसुस हुन्छ । थकित पर्यटकलाई आराम गर्न स–साना घरहरू बनाइदिएको भए राम्रो हुने उनले बताए ।

डल्फिन हेर्न एउटा टावर बनाइएको छ । तर त्यो टावरमा बसेर डल्फिन हेर्नेलाई खानेपानीको पनि व्यवस्था छैन । पानी पिउन पनि स्थानीयकै भर पर्नुपर्छ । स्थानीय भोजराज ढुंगानाले भने, ‘नगरपालिकाबाट अहिलेसम्म कुनै सहयोग भएको छैन । विभिन्न गैरसरकारी संघसंस्थाकै पहलमा यो टावर र संरक्षण चेतनाका कार्यक्रम भएका छन् ।’

डल्फिन संरक्षण र पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले नीति तथा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने ढुंगानाको सुझाव छ । उनले भने, ‘नगरपालिकाले डल्फिन संरक्षणको स्वामित्व लिन जरुरी छ । संघसंस्था र स्थानीयको सहयोग त छँदैछ ।’ करिब ३० वर्ष पहिले यो स्तनधारी जन्तु नेपालका कोसी, गण्डकी र महाकालीमा देखिए पनि हाल कर्णालीको चिसापानीदेखि कोठियासम्म र वर्षायाममा कैलालीको मोहना, कान्द्रा, पथरैया र काढा नदीमा पनि देख्न पाइन्छ ।

अति दुर्लभ मानिए पनि यसलाई संरक्षित क्षेत्रभित्र भने राखिएको छैन । प्राणीविद् डा. मुकेश चालिसेले भने, ‘नेपालमा विभिन्न जीवजन्तु संरक्षणका लागि २७ वटा संरक्षित क्षेत्र छन् । तर डल्फिन अहिलेसम्म संरक्षित क्षेत्र बाहिर छ । यो क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र बनाउन सकिन्छ ।’ चालिसेका अनुसार स्थानीयको सक्रियतामा डल्फिन सिकारनियन्त्रण भएको छ । तर डल्फिन देखिने नदी किनारमा व्यक्तिका जग्गाजमिन छन् ।

त्यसलाई पनि व्यवस्थित गर्नुपर्ने र नदीको सतह सरसफाइमा ध्यान दिनुपर्ने देखिएको छ । स्थानीयस्तरमै यसको संरक्षण र प्रचारप्रसार भएपछि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । दैनिक २०/२५ जना आन्तरिक पर्यटक आउने गरेका स्थानीयले बताए । वर्षे सिजनमा यहाँ डल्फिन अवलोकन गर्न सकिन्छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कृषि उत्पादन र प्रविधिमा सहयोग

गणेश चौधरी

टीकापुर — रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले दोस्रो चरणको कार्यक्रम सुरु गरेको छ ।

कैलालीको चिसापानीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना । फाइल तस्बिर : कान्तिपुर

दोस्रो चरणमा सिँचाइ आयोजनाको कमान्ड क्षेत्रमा कृषि उत्पादन र बजारीकरणका लागि आवश्यक प्राविधिक सेवा र सामान्य पूर्वाधारलगायत काम हुनेछन् ।

आयोजनाको कृषितर्फको कार्यालयका प्रमुख सुनील सिंहले पोस्ट हार्वेस्ट केन्द्र स्थापना, कृषि यान्त्रीकरण उपकरण, नर्सरी ग्रिन हाउस, सेड हाउस स्थापनामा सहयोग, प्रविधि अवलम्बन सहयोग लगायतका कार्यक्रम गरिने जानकारी दिए । ‘उद्यमी कृषक, कृषक समूह, कृषि सहकारी र बजारीकरणका लागि पहिचान जोगाउन खटिएका क्लबहरूलाई दोस्रो चरणमा सहयोग गरिनेछ,’ उनले भने ।

पहिलो चरणमा कृषकलाई कृषि पेसामा आकर्षित गराउने कार्यक्रम सञ्चालन गरिएका थिए । दोस्रो चरणमा मागमा आधारित कार्यक्रम सञ्चालन हुने प्रमुख सिंहले बताए । उनले भने, ‘केही कार्यक्रम लागतमा स्थानीय सहभागिता ५० प्रतिशत र केहीमा २५ प्रतिशतको हुनेछ ।’ दोस्रो चरणको कृषि सहयोग कार्यक्रमको अवधि ५ वर्ष तोकिएको छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगले व्यावसायिक खेतीका लागि किसानमा जागरुकता र कृषि प्राविधिकहरूको सहयोग र अनुदानले कृषि उत्पादन बढ्दै गएको आयोजनाले जनाएको छ । आयोजनाको कृषितर्फको कार्यालयले सार्वजनिक गरेको पहिलो चरणको प्रगति प्रतिवेदनअनुसार कृषि प्लटमा प्रतिहेक्टर ३८ क्विन्टल धान फलेको छ । सहयोग नगरेका किसानको प्लटमा प्रतिहेक्टर २५ क्विन्टल मात्रै फलेको देखिन्छ ।

आयोजनाको सहयोग प्लटमा गहुँ प्रतिहेक्टर ३७ क्विन्टल फलेको र किसान आफंैले खेती गरेको प्लटमा प्रतिहेक्टर २९ क्विन्टल फलेको प्रगति प्रतिवेदनमा उल्लेख छ । आयोजनाले सहयोग गरेको प्लटमा तोरी प्रतिहेक्टर ११ क्विन्टल र किसानको प्लटमा प्रतिहेक्टर ९ क्विन्टल फलेको छ ।

आयोजनाले सहयोग गरेको प्लटमा कृषि प्राविधिकले नियमित रेखदेख र सुझाव सल्लाह दिइरहने र किसानले पनि उन्नत बीउ तथा मलको प्रयोग गर्ने भएकाले उत्पादन बढेको कार्यालय प्रमुख सिंहले बताए । ‘कृषिमा ठूलो लगानी भएको छ । किसान पनि व्यवसायीकरणमा जाँदैछन्,’ उनले भने ।

रानीजमरा र कुलरिया कुलो सिँचाइ आयोजनाका कारण विगतको जस्तो पानीको समस्या नहुनु र सिँचाइ आयोजनाको कृषितर्फको छुट्टै आयोजनाबाट भएको अनुदान सहयोगले यहाँको कृषि उत्पादन बढाउन सहयोग मिलेको किसान बताउँछन् ।

टीकापुर नगरपालिका–१ वनगाउँका जितबहादुर चौधरीले आयोजनाले किसानलाई कृषि तालिम तथा कृषियन्त्रमा पनि सहयोग गरेको बताए । उनले बीउ भण्डारण गृहसमेत निर्माण गरिएकाले उन्नत बीउ पाउन पनि सजिलो भएकामा खुसी व्यक्त गरे । ‘कृषि सीप र प्रविधिमा पनि आयोजनाबाट सहयोग भएको छ,’ उनले भने ।

प्रकाशित : भाद्र ९, २०७५ १०:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT