जलविद्युत् सम्भाव्यता अध्ययन

प्रदेश ७ सरकारले २ देखि ५ मेगावाटसम्मका जलविद्युत् आयोजना निर्माण गर्न बिभिन्न जिल्लामा सम्भाव्यता अध्ययन गर्न लागेको हो
मोहन बुढाऐर

धनगढी — प्रदेश ७ सरकारले २ देखि ५ मेगावाटसम्मका जलविद्युत् आयोजना निर्माण गर्न विभिन्न नदीमा सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

डडेलधुराको शीर्षगाडबाट ल्याएको नहर । प्रदेश सरकारले यहाँ ३ मेगावाट विद्युत् निकाल्न अध्ययन थालेको छ । तस्बिर : मोहन

डडेल्धुराको शीर्षगाड, बैतडीको सुर्नाया, डोटीको ठूलीगाड र दार्चुलाको चमेलियामा लघु जलविद्युत्गृह निर्माणको सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।

‘प्रारम्भिक अध्ययनको काम सुरु भएको छ,’ भौतिक पूर्वाधारमन्त्री पठानसिह बोहराले भने, ‘प्रदेश सरकारले विद्युत् विकास बोर्ड गठन गरेर लघु हाइड्रोपावर निर्माणका लागि बृहत् सम्भाव्यता अध्ययनको काम अघि बढाउने तयारी गरेको छ ।’ उनले छिट्टै प्रदेश सरकारले विद्युत् विकास गठन गर्ने जानकारी दिए ।

Yamaha

मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७४/७५ मा ३० लाखको बजेटमा प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ । ‘परामर्शदाता कम्पनीको पूर्ण प्रतिवेदन आइसकेको छैन,’ मन्त्री बोहराले भने, ‘कन्स्लटेन्सी कम्पनीलाई समय अपुग भएर २ महिनाको म्याद थपेका छौं ।’ उनले गएको आर्थिक वर्षको अन्त्यमा कन्सल्टेन्सीले काम सुरु गर्नुपरेकाले म्याद थप्नुपरेको बताए ।

मन्त्रालायका अनुसार डडेल्धुराको महाभारतबाट निस्कने शीर्षगाडको कटाल जाने नहरमा ३ मेगावाटको विद्युत् उत्पादनको अध्ययन भएको छ । तर अहिलेकै अवस्थामा नहरबाट १ मेगावट विद्युत् उत्पादन गर्न सकिन्छ । नहरको विकास गरेर गाडको सबै पानीको सदुपयोग गर्न सकेमा ३ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यस्तै डोटीको बीपीनगर क्षेत्रमा पर्ने ठूलीगाडबाट ३ मेगावाट विद्युत् उत्पादन गर्न सकिने उल्लेख छ । तर ठूलीगाडमा मिसिने सबै जलाधार क्षेत्रको पानीलाई एकत्रित पार्न सके ५ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने सम्भावना औंल्याइएको छ । बैतडीको सुर्नयागाडमा ५ सय ४० किलोवाट मात्रै विद्युत् उत्पादन गर्न सकिने ग्लोबल सिबिल कन्सल्टेन्ट प्रालि काठमाडौंले आफ्नो प्रारम्भिक अध्ययन प्रतिवेदनमा जनाएको छ ।

मन्त्री बोहराले १ मेगावाटसम्मका विद्युत् उत्पादन स्थानीय तह आफैंले गर्न सक्ने बताए । उनका अनुसार प्रदेश सरकारले २ मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनामा मात्रै लगानी गर्ने सोच बनाएको छ । त्यसैले सुर्नयागाडमा निर्माणको सम्भावना न्यून छ । तर पनि विकास बोर्डले पुन: बृहत् अध्ययन गर्न सक्ने मन्त्री बोहराको भनाइ छ । चमेलिया गाडमा पनि गत आर्थिक वर्षमा थप विद्युत् उत्पादन गर्न प्रारम्भिक अध्ययनका लागि बजेट छुट्टयाइएको छ । तर, कन्सल्टेन्सी कम्पनीले अध्ययन गर्न बजेट अपुग भएको भन्दै काम नै सुरु गरेको छैन । पीडीएसपी इन्जिनियरिङ काठमाडौंले सम्भाव्यता अध्ययनको जिम्मा लिएको थियो ।

मन्त्रालयका अनुसार प्रदेश सरकारले ०७४/७५ मा चेमेलिया र सुर्नयाको सम्भाव्यता अध्ययन खर्च ५/५ लाख र शीर्ष र ठूलीगाडका लागि १०/१० लाख छुट्टयाएको थियो । शीर्ष र ठूलीगाडको सम्भाव्यता अध्ययन कार्य डिजायन प्वाइन्ट प्रालि ललितपुरले गर्दै छ । मन्त्रालयका एक कर्मचारीले सम्भाव्यताका नाममा खर्च मात्र भएको बताए । ‘कुनै वस्तुगत तथ्य र प्राविधिक विज्ञतामा आधारित अध्ययन प्रतिवेदन ५ लाखमा तयार हुन्छ ?’ उनले भने, ‘यो त कुनै कन्सल्टेन्सीको नाममा ५/१० लाख बाँड्न खोजेजस्तो मात्रै भयो ।’ तर पनि उनले अब गठन हुने विद्युत् विकास बोर्डले प्रदेश सरकारको हाइड्रोपावर क्षेत्रमा काम अघि बढाउन सक्ने बताए ।

मन्त्री बोहराले उक्त प्रतिवेदनले बिजुली उत्पादनको प्रारम्भिक सम्भाव्यता अध्ययनले आगामी कार्यक्रमको बाटो देखाएको बताए । ‘विद्युत् विकास बोर्डले अब बृहत् सम्भाव्यता अध्ययन, डीपीआर र एआई, ईआईएलगायत काम अघि बढाउने छ,’ उनले भने, ‘डीपीआर निर्माणमा कम्तीमा २/३ वर्ष लाग्नेछ । त्यसपछि स्रोतको खोजीमा केही समय लाग्छ तर हाम्रो सरकारको ५ वर्षमा निर्माणको ठेक्का सम्झौता सुरु गर्नेछ ।’

उनका अनुसार बढीमा ५/७ वर्षमा हाइड्रोपावर निर्माण हुने गरी कामको सुरुआत गरिन लागेको हो । मन्त्री बोहराले प्रदेश सरकारले स्थानीयमा विद्युत्को पहुँच पुगाउने उद्देश्यले मात्रै नभएर राष्ट्रिय ग्रिडमा समेत आफनो उत्पादन दिन हाइड्रोपावर निर्माणका योजना सुरु गरेको बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र ११, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कञ्चनपुर आन्दोलन: ‘पैसा लिन गएको छोरा फर्किएन’

प्रहरीको गोलीले मारिएका शनि खुनाको आइतबार सम्मानका साथ महाकाली नदीमा दाहसंस्कार गरिएको छ
भवानी भट्ट

कञ्चनपुर — भीमदत्त–१८ भगतपुरका १४ वर्षीय शनि खुना शुक्रबार दिनभरि घरमै थिए । उनी घरमा मार्बल लगाउने मिस्त्रीको काम गर्थे ।

प्रहरीको गोलीले मारिएका किशोर शनि खुनाका आमा र दिदीबहिनी । तस्बिर : भवानी

किशोरीको बलात्कारपछि हत्या गरिएको घटनाविरुद्ध महेन्द्रनगरमा चर्किएको आन्दोलनले काम प्रभावित भएपछि घरमै बसेका थिए ।

साँझपख दाई उमेश (ठूलो बुवाको छोरा) सँगै भीमदत्त नगरपालिकाकै भासीमा रहेका ठेकेदारसँग पैसा माग्न निस्किए । रकम लिएर घर फर्किन लाग्दा जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन भइरहेको थियो । त्यही बेला प्रहरीले चलाएको गोली लागेर शनि त्यहीं ढले ।

‘दिनभरि घरमै थियो, साँझ पैसा मागेर ल्याउँछु भनेर गएको हो तर घर फर्किएन,’ शनिकी कान्छी आमा मञ्जुले भनिन्, ‘त्यहि मजदुरीको पैसा उसका लागि काल बनेको रहेछ ।’

शनिले घर नजिकैको मदन भण्डारी प्राविमा ३ कक्षा पढ्दापढ्दै स्कुल छाडेपछि मार्बल लगाउने काम सिकेका हुन् । पढाइमा ध्यान नदिए पनि उनी घरपरिवारको पीडा बुझ्ने र निकै समझदार रहेको मञ्जु बताउँछिन् । घर फर्किने बेला शनिका दाइ उमेश पनि सँगै थिए । प्रहरीले ताक्दा शनिले आफू आन्दोलनकारी नभएको र काम गरेको रकम मागेर फर्किरहेको जानकारी गराउँदा पनि नछाडेको मञ्जुले बताइन् ।

‘म आन्दोलनकारी होइन भनिरहेको थियो,’ उमेशले भनाइ उद्धृत गर्दै मञ्जुले भनिन्, ‘तर प्रहरीले छाडेन, गोली हानेर ढलायो ।’ शनि डेढ वर्षको छँदा उनकी आमा मायाको मृत्यु भएको थियो । उनका बुवा वीरबहादुरले मञ्जुलाई भित्र्याएका हुन् । सौतेनी आमा भए पनि उनले शनिप्रति कहिल्यै नराम्रो व्यवहार गरेकी थिइनन् । आफ्नै छोरासरह मानेकी थिइन् । ‘आफ्नो छोराभन्दा बढी माया गर्थें, आज छाडेर गयो,’ उनले भनिन्, ‘आमाले सानैमा छाडेर गएपछि मैले नै पालेर हुर्काएकी हुँ ।’ उनको पारिवारिक अवस्था निकै कमजोर छ । बुवा वीरबहादुर भीमदत्त नगरपालिकाको सरसफाइ शाखाका कर्मचारी हुन् । आमा पनि यहीँको एक मन्टेस्वरीमा खाना पकाउने काम गर्छिन् ।

जमिनका नाममा भूमिसुधार कार्यालयले उपलब्ध गराएको ४ धुर मात्रै छ । ‘ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाएका छौं,’ मञ्जुले भनिन् । शनिका २ दिदी र १ भाइ छन् । शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयअगाडि प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका खुनाको आइतबार सम्मानका साथ महाकाली नदीमा दाहसंस्कार गरिएको छ ।

सरकारले उनलाई सहिद घोषणा गरेसँगै परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । मृतकका परिवार भने सरकारले घोषणा गरेर मात्रै नहुने र व्यवहारमा पनि देखाउनुपर्ने बताउँछन् ।

शनिका नाममा स्मारक निर्माणसँगै सम्झनलायक कामहरू गर्नुपर्ने उनीहरू बताउँछन् ।

प्रकाशित : भाद्र ११, २०७५ १०:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT