कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुर आन्दोलन: ‘पैसा लिन गएको छोरा फर्किएन’

प्रहरीको गोलीले मारिएका शनि खुनाको आइतबार सम्मानका साथ महाकाली नदीमा दाहसंस्कार गरिएको छ
भवानी भट्ट

कञ्चनपुर — भीमदत्त–१८ भगतपुरका १४ वर्षीय शनि खुना शुक्रबार दिनभरि घरमै थिए । उनी घरमा मार्बल लगाउने मिस्त्रीको काम गर्थे ।

कञ्चनपुर आन्दोलन: ‘पैसा लिन गएको छोरा फर्किएन’

किशोरीको बलात्कारपछि हत्या गरिएको घटनाविरुद्ध महेन्द्रनगरमा चर्किएको आन्दोलनले काम प्रभावित भएपछि घरमै बसेका थिए ।

साँझपख दाई उमेश (ठूलो बुवाको छोरा) सँगै भीमदत्त नगरपालिकाकै भासीमा रहेका ठेकेदारसँग पैसा माग्न निस्किए । रकम लिएर घर फर्किन लाग्दा जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन भइरहेको थियो । त्यही बेला प्रहरीले चलाएको गोली लागेर शनि त्यहीं ढले ।

‘दिनभरि घरमै थियो, साँझ पैसा मागेर ल्याउँछु भनेर गएको हो तर घर फर्किएन,’ शनिकी कान्छी आमा मञ्जुले भनिन्, ‘त्यहि मजदुरीको पैसा उसका लागि काल बनेको रहेछ ।’

शनिले घर नजिकैको मदन भण्डारी प्राविमा ३ कक्षा पढ्दापढ्दै स्कुल छाडेपछि मार्बल लगाउने काम सिकेका हुन् । पढाइमा ध्यान नदिए पनि उनी घरपरिवारको पीडा बुझ्ने र निकै समझदार रहेको मञ्जु बताउँछिन् । घर फर्किने बेला शनिका दाइ उमेश पनि सँगै थिए । प्रहरीले ताक्दा शनिले आफू आन्दोलनकारी नभएको र काम गरेको रकम मागेर फर्किरहेको जानकारी गराउँदा पनि नछाडेको मञ्जुले बताइन् ।

‘म आन्दोलनकारी होइन भनिरहेको थियो,’ उमेशले भनाइ उद्धृत गर्दै मञ्जुले भनिन्, ‘तर प्रहरीले छाडेन, गोली हानेर ढलायो ।’ शनि डेढ वर्षको छँदा उनकी आमा मायाको मृत्यु भएको थियो । उनका बुवा वीरबहादुरले मञ्जुलाई भित्र्याएका हुन् । सौतेनी आमा भए पनि उनले शनिप्रति कहिल्यै नराम्रो व्यवहार गरेकी थिइनन् । आफ्नै छोरासरह मानेकी थिइन् । ‘आफ्नो छोराभन्दा बढी माया गर्थें, आज छाडेर गयो,’ उनले भनिन्, ‘आमाले सानैमा छाडेर गएपछि मैले नै पालेर हुर्काएकी हुँ ।’ उनको पारिवारिक अवस्था निकै कमजोर छ । बुवा वीरबहादुर भीमदत्त नगरपालिकाको सरसफाइ शाखाका कर्मचारी हुन् । आमा पनि यहीँको एक मन्टेस्वरीमा खाना पकाउने काम गर्छिन् ।

जमिनका नाममा भूमिसुधार कार्यालयले उपलब्ध गराएको ४ धुर मात्रै छ । ‘ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाएका छौं,’ मञ्जुले भनिन् । शनिका २ दिदी र १ भाइ छन् । शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयअगाडि प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका खुनाको आइतबार सम्मानका साथ महाकाली नदीमा दाहसंस्कार गरिएको छ ।

सरकारले उनलाई सहिद घोषणा गरेसँगै परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । मृतकका परिवार भने सरकारले घोषणा गरेर मात्रै नहुने र व्यवहारमा पनि देखाउनुपर्ने बताउँछन् ।

शनिका नाममा स्मारक निर्माणसँगै सम्झनलायक कामहरू गर्नुपर्ने उनीहरू बताउँछन् ।

प्रकाशित : भाद्र ११, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?