कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलानाला अतिक्रमण बढयो

भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगर बजारमै रहेको मालपोत कार्यालय अगाडिको नाला पूरै अतिक्रमण गरेर भौतिक संरचनाहरू निर्माण गरिएका छन् । व्यापारिक प्रयोजनका लागि बनेका घरका कारण पानीको निकास पूर्ण रूपमा बन्द भएको छ ।

खोलानाला अतिक्रमण बढयो

सामान्य वर्षामा पनि उक्त नाला भरिँदा पानी सडकमै आउँछ । कहिलेकाहीं त नालाको पानी यहाँ रहेका विभिन्न कार्यालय र अन्य घरभित्रै पस्छ । बजारको बीच भाग भएर बग्ने खोला पनि ठाउँठाउँमा अतिक्रमणको चपेटामा छ । चुरे क्षेत्रबाट आउने उक्त खोलामा बाढी आउँदा बजार पूरै जलमग्न हुन्छ । यसले अन्य खोलानालाका निकाससमेत बन्द हुन्छ ।


बजारको पूर्वतिर रहेको भाँसी खोलादेखि पश्चिमतिर रहेको गोबरिया खोलासम्म पर्ने आधा दर्जन बढी खोला नालाहरू अतिक्रमणको चपेटामा छन् । कतिपय ठाउँमा नगर विकास समितिले नै खोला नाला किनारमा घरेडी बनाएर बिक्री पनि गरेको छ । बजार क्षेत्रमा ढल निकासका लागि खाली छाडिएको ठाउँसमेत कित्ताकाट गरेर बिक्री गर्दा पानीको निकास पूर्ण रूपमा बन्द भएको स्थानीय बताउँछन् ।


सामान्य वर्षामा पनि महेन्द्रनगर बजार क्षेत्र जलमगन हुने प्रमुख कारण खोला नालाको अतिक्रमण नै हो,’ स्थानीय प्रभुनिधि पन्तले भने, ‘अहिले त खोलामा समेत घर निर्माण भइरहेका छन् ।’ उनले नगरपालिका, नगर विकास समितिलगायतका निकायको लापरबाहीका कारण यस्तो समस्या आएको बताए । अहिले पनि बजार र आसपासका क्षेत्रमा खोलानाला अतिक्रमण गरेर भौतिक संरचना बनाउने काम चली नै रहेको छ । कतिपय ठाउँमा त खोला नै गायब हुने अवस्थासमेत आएको छ । तर सम्बन्धित निकायले यसतर्फ चासो देखाएको छैन् ।


बजार क्षेत्रमै ढल निकास व्यवस्थित नहुँदा झन् समस्या हुने गरेको स्थानीय बताउँछन् । भएका ढल पनि वर्षौंसम्म सफा नहुने समस्या देखिन्छ ।

प्रकाशित : भाद्र १३, २०७५ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?