कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेपत्ता पत्रकारको खोजीमा सेना परिचालन 

अर्जुन शाह

धनगढी — बाजुराको बुढीनन्दा एफएममा कार्यरत ३८ वर्षीय पत्रकार तेजबहादुर खड्का ६ दिनदेखि बाजुराको बुढीनन्दा क्षेत्रबाट बेपत्ता छन् । उनको खोजी कार्यमा प्रहरी र सेनाको टोली परिचालित छ । 

बेपत्ता पत्रकारको खोजीमा सेना परिचालन 

पत्रकार महासंघले पत्रकार खड्काको खोजी कार्यमा थप बल पुर्‍याउन केन्द्रिय महासचिव रमेश बिष्टको संयोजकत्वमा गठन गरेको मिसन टोलीले प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहसंग छलफल गरेको छ ।


प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले खड्काको खोजी गर्न सेनानीको नेतृत्वमा नेपाली सेनाको टोली र प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खोजी कार्यमा परिचालन भइरहेको बताएका छन् । खड्का जनैपूर्णिमाको अघिल्लो दिन ९ गतेदेखि हराएका हुन् ।


मिसन टोलीसमक्ष मन्त्री शाहले पत्रकार खड्काको खोजी कार्यलाई प्रदेश सरकारले गम्भिरताताका साथ लिएको बताए । ‘खोजी कार्यमा कुनै कसर बाँकी रहन्न’ उनले भने । पृतनापति झंकर कडायतले खोजीमा खटिएको सेनाको टोलीले शुक्रबारदेखि बुढीनन्दा क्षेत्रमा बेस खडा गरेर खोजी गरिरहेको बताएका छन् । ‘शुक्रबार २२ जनाको टोली थप पठाएका छौं’ पृतनापति कडायतले भने ‘त्यस क्षेत्रमा बाक्लो कुहिरो र सिमसिम वर्षा भइरहने भएकाले अप्ठेरो भइरहेको छ ।’ पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्टले खोजी कार्यमा कुनै कमजोरी हुन नदिन आग्रह गरेका छन् ।


बुढीनन्दा बाजुराको प्रसिद्ध तीर्थस्थल हो । त्यहाँबाट फर्किने क्रममा शनिबारदेखि खड्का बेपत्ता भएका हुन् । लौरीविनायकमा पुगेपछि त्यहाँबाट करिब २ घण्टा माथि रहेको वरमाग्ना भन्ने स्थानमा आफ्नो समान छुटेको बताएर उनी फर्किएका रेडियो बुढीनन्दाका नहकुल जोशीले बताए ।


पत्रकार खड्काले ०५५ सालदेखि १४ वर्ष रेडियो नेपालको क्षेत्रिय प्रसारण केन्द्र दिपायलमा काम गरेका थिए । त्यसपछि उनी रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र काठमाडौंबाट समेत काम गरेका थिए । रेडियो नेपालमा रहँदा उनको ‘देउडा गीतको सेरोफेरो’ र गीतिकथाको कार्यक्रम निकै चर्चित थियो । पछिल्लो समय उनी रेडियो नेपाल छाडेर एक वर्षदेखि बाजुराको बुढीनन्दा एफएममा कार्यरत थिए ।


बुढीनन्दा करिब १६ हजार फिटको उचाईमा पर्दछ । मानववस्तीविहीन यो क्षेत्रमा जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्दछ । बुढीनन्दा यात्रा अत्यन्तै कठिन मानिन्छ । तिलिचोपछिको उचाईमा रहेको ताल बुढीनन्दा हो । यसस्थानमा पुग्न ठाडै उकालो बाटो, अत्यधिक चिसो, लेक लाग्ने, अधिकांश समय वर्षा र कुहिरो लागिरहन्छ । सञ्चार सम्पर्कसमेत नहुने त्यस ठाउँमा वर्षको एक दिन मात्र मानिस हुने अघिपछि सुनसान हुन्छ । छाप्रे पाटनसम्म भने स्थानीय बासिन्दाका भैसी खर्कहरु हुन्छन् ।

प्रकाशित : भाद्र १५, २०७५ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?