कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बझाङमा मदिरा निषेध

असोज १ बाट लागू हुने गरी जिल्लाभर मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयको सर्वत्र स्वागत
बसन्तप्रताप सिंह

बझाङ — ‘बझाङलाई मदिरा निषेधित’ जिल्ला घोषणा गर्नुपर्ने माग अन्तत: पूरा भएको छ । शुक्रबारको जिल्ला सभा बैठकले असोज १ गते देखि लागू हुने गरी जिल्लाभर मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बझाङमा मदिरा निषेध

प्रतिनिधि र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, जिल्ला समन्वय समितिका पदाधिकारी, सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत, जिल्लास्थित सुरक्षा निकाय प्रमुख तथा विषयगत कार्यालयका प्रमुखको सहभागितामा निषेधित गर्ने निर्णय भएको हो ।
‘लामो समयदेखिको बझाङवासीको रक्सी बन्द गर्नुपर्ने माग पूरा भएको छ,’ जिल्लासभाको निर्णय सुनाउँदै जिल्ला समन्वय समितिका प्रमुख खडग्बहादुर खड्काले भने, ‘विगतमा भएका जघन्य अपराधदेखि विभिन्न खाले हिंसा र विकृतिको पछाडि मदिरा नै मुख्य कारण भएको तथ्यांक छ । मलाई आशा छ, अबका दिनमा यसो हुने छैन ।’

उनले मदिरा निषेध गर्ने निर्णय कार्यान्वयन गर्नका लागि सबै क्षेत्रको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । मदिरा निषेध गर्ने निर्णय गर्नुअघि जिल्ला सभाको बैठकका ‘निषेध’ गर्ने की ‘नियन्त्रण’ भन्ने शब्दलाई लिएर लामो छलफल भएको थियो । अधिकांश स्थानीय तहले मदिरा निषेध गर्ने निर्णय गरी त्यसको सफल कार्यान्वयन गरिसकेको र केही स्थानीय तहमा निषेध गर्ने तयारी भइरहेको भन्दै अन्तत सहभागी सबै निषेधकै पक्षमा सहमत भएका थिए ।

जिल्लासभाको निर्णय नम्बर २५ मा ०७५ असोज १ गतेदेखि बझाङलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ । निर्णय कार्यान्वयन गर्न जिल्लास्थित सुरक्षा निकाय र कोष तथा लेखा नियन्त्रण कार्यालयसँग सहकार्य गरिने जिल्ला समन्वय अधिकारी उमेश बस्नेतले बताए ।

सर्वत्र स्वागत
जिल्लासभाले गरेको मदिरा निषेध गर्ने निर्णयको सबैले स्वागत गरेका छन् । ‘लामो समयदेखि बझाङी महिलाहरूको माग पुरा भएको छ,’ महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीले भनिन्, ‘निर्णय कार्यान्वयन गर्न सबैले प्रतिबद्ध भएर लाग्नुपर्छ ।’

उनले मदिराका कारण सबैभन्दा बढी महिला पीडित भएको बताउँदै अब धेरै महिलाले सन्तोषको श्वास फेरेको बताइन् । ‘स्वागतयोग्य निर्णय भएको छ,’ लामो समयदेखि मदिरा निषेधको माग राख्दै आएका अगुवा सञ्चारकर्मी एवं मदिरा बन्द अभियानका अभियन्ता मीनबहादुर सिंहले भने, ‘सामाजिक, अर्थिक र मानवीय विकासको बाधक रहेको मदिरा बन्द नभएसम्म जिल्लाको विकास सम्भव छैन । ढिलै भए पनि राम्रो निर्णय भयो ।’महिलाहरूले विभिन्न स्थानीय तहमा स्वत:स्फूर्त मदिरा निषेध अभियान चलाइरहेको बेला जिल्ला सभाले यो नियर्ण गर्नु खुसीको कुरा भएको अर्की अभियन्ता राधा विष्टले बताइन् । उनले यो निर्णय गरेर जनप्रतिनिधिले जनताको पीडा बुझेको प्रतिक्रिया दिइन् ।

सांसद आशा विकले लामो समयसम्म सम्बोधन हुन नसकेको महिलाको एकसूत्रीय माग जनप्रतिनिधिहरूले सम्बोधन गरेको बताउँदै यसको सफल कार्यान्वयन हुने विश्वास ब्यक्त गरिन् । बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले भने यो निर्णयको बारेमा मिश्रित प्रतिक्रिया दिए ।

उनले भने, ‘जिल्लामा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले गरिएको यो निर्णय स्वागतयोग्य छ । तर विगतमा जस्तो सीमित मान्छेले प्रशाशनको संरक्षणमा रक्सी बेच्ने र सर्वसाधारणले बेच्न नपाउने खालको वातावरण भएमा हाम्रो सहमति हुँदैन ।’

हत्या, बलात्कार, सम्बन्ध विच्छेदलगायत दैनिक हुने कुटपिटका अधिकांश घटनाका पछाडिको कारण मदिरा नै भएको जिल्ला प्रहरी कार्यालयको महिला सेलकी प्रमुख वाग्मती धामीले बताइन् । ‘श्रीमान् जँड्याहा भएको र दिनदिनै कुटपिट गर्ने भएकै कारण पछिल्लो समय आत्महत्या गर्ने महिलाहरूको संख्या पनि बढिरहेको देखिन्छ,’ उनले भनिन् ।

प्रकाशित : भाद्र १७, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?