कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरी हत्या प्रकरण: सीआईबीको अर्को टोली महेन्द्रनगरमा

बम दिदीबहिनीको बयान लिइँदै
भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानका लागि दोस्रोपटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली महेन्द्रनगर आएको छ ।

किशोरी हत्या प्रकरण: सीआईबीको अर्को टोली महेन्द्रनगरमा

स्रोतका अनुसार एसएसपी ठाकुरप्रसाद ज्ञवाली नेतृत्व टोली आइतबार आइपुगेको हो । यसबारे प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन ।

यसअघि डीएसपी अंगुर जीसी नेतृत्व टोलीले गरेको अनुसन्धान शंकास्पद भन्दै फिर्ता पठाइएको थियो । गत साउन ११ गते भीमदत्त नगरपालिका १८ निम्बुखेडामा निर्मलाको शव भेटिएको दोस्रो दिन डीएसपी जीसी नेतृत्वको टोली यहाँ आएको थियो ।

पहिलो टोली फिर्ता भएको डेढ सातापछि अर्को आएको हो । ‘हामीलाई आवश्यक परे प्राविधिक टोली पनि मगाउँछौं, आफ्नो काम गरेर फर्किन्छ,’ जिल्ला प्रहरी कञ्चनपुरका एसपी कुबेर कडायतले भने, ‘अहिले भने घटनाकै अनुसन्धानका लागि कुनै त्यस्तो टोली आएको छैन ।’

उनले आवश्यक परे धनगढी र हेडक्वार्टरबाट समेत विज्ञ मगाएर अनुसन्धान गरिने बताए ।
खासगरी मोबाइल, फेसबुक र अन्य प्राविधिक विषयमा अनुसन्धानका लागि आवश्यक सहयोग माग्ने गरिएको उनले बताए ।

कडायतले घटनाको भने गम्भीर रूपमा अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धानकै क्रममा बम दिदीबहिनीमध्ये वविताको बयान लिइरहेको उनले जनाए । बहिनी रोशनीको भने यसअघि नै बयान भइसकेको छ ।

बिहीबार जिल्ला अदालतमा थुनामा म्याद थप्नुअघि रोशनीले सरकारी वकिल कार्यालयमा बयान दिएकी हुन् । ‘उनीहरूको बयान लिने काम भइरहेको छ,’ एसपीले भने, ‘हामी गम्भीर भएर लागेका छौं । घटनाको २६ औं दिनमा जिल्ला प्रहरीले जीसी नेतृत्व सीआईबी टोलीको सहयोगमा भीमदत्त नगरपालिका १९ बाग्फाँटाका ४१ वर्षीय दिलीप विष्टलाई सार्वजनिक गरेपछि शंका उपशंका आएका थिए ।

त्यसपछि अंगुर जीसी नेतृत्व टोली फिर्ता भयो । प्रहरीले मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको भन्दै पीडित परिवार तथा स्थानीयले आन्दोलन चर्काएका थिए । आन्दोलनले उग्ररूप लिएपछि प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।

उक्त घटनापछि तत्कालीन प्रहरी प्रमुख एसपी दिल्ली विष्टलाई केन्द्रमा तान्नुका साथै निलम्बनसमेत गरिएको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडका, डीएसपी ज्ञानबहादुर सेटी र अनुसन्धान अधिकृत एकिन्द्र खडकालाई पनि केन्द्र तानिएको थियो ।

घटना छानबिनका लागि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा तीनवटै सुरक्षा निकाय प्रतिनिधि र प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव सदस्य रहेको ५ सदस्यीय उच्चस्तरीय छानबिन टोली महेन्द्रनगर पठाएको छ । उक्त टोलीले पनि आवश्यक अनुसन्धान र सूचना संकलन गरिरहेको जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?