कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरी गर्भवती हुने बढे

अर्जुन शाह

धनगढी — प्रदेश ७ मा कम उमेरमै गर्भवती हुनेको संख्या बढदै गएको छ । गएको आर्थिक वर्ष ०७४/०७५ मा उमेर नपुगी गर्भवती भएकाहरूको संख्या १० हजार छ ।

किशोरी गर्भवती हुने बढे

कम उमेरमा गर्भवतीबाट जन्मिएका शिशुहरूको तौल र उनीहरूको स्वास्थ्यसमेत जोखिमयुक्त रहेको तथ्यांकले देखाएको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य इकाइका अनुसार प्रदेशका ९ जिल्लामा गत आर्थिक वर्षमा उमेर नपुगी गर्भवती भएका ९ हजार ७८६ गर्भवती स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न आएका छन् । यो संख्या कैलालीमा सबैभन्दा बढी छ । ‘कैलालीमा २ हजार ६९६ गर्भवती २० वर्षभन्दा कम उमेरका छन्,’ मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले भने, ‘यो संख्या स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न आएकाको दर्ताका आधारमा मात्रै गणना भएकाहरूको हो ।’ बालविवाहलाई कानुनविपरीत माने पनि ग्रामीण क्षेत्रमा कम उमेरमै विवाह गर्नेको संख्या बढदा गर्भवतीको संख्यासमते बढेको देखिएको हो ।

कञ्चनपुरमा कम उमेरमै गर्भवती भएकाहरूको संख्या १ हजा ५०६ जना रहेको तथ्यांक छ । पहाडी जिल्लामा सबैभन्दा बढी अछाममा छ । अछाममा १ हजार २५१ छ । त्यसपछि बझाङमा १ हजार १५३ किशोरी गत आर्थिक वर्षमा कम उमेरमै गर्भवती भएको तथ्यांक छ । ‘बालविवाहका नकारात्मक असरबारे सचेतना फैलाउने कार्यमा सबै पक्ष सक्रियता बढाउनुपर्ने आवश्यकता छ,’ कैलाली प्रहरीको महिला सेलकी प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भनिन्, ‘कम उमेरमै विवाह रोक्ने कार्यमा लाग्नु जरुरी छ ।’

डोटीमा १ हजार ७३ जना किशोरी कम उमेरमै गर्भवती भएको स्वास्थ्य इकाइको तथ्यांक रहेको छ । डडेल्धुरामा समेत यो संख्या उच्च छ । डडेल्धुरामा ६ सय ४३ जना महिला किशोरावस्थामै गर्भवती भएका छन् । बाजुरामा ५ सय ९२, दार्चुलामा ४ सय ३२ जना किशोरी गर्भवती भएको तथ्यांक रहेको छ भने सबैभन्दा कम बैतडीमा छ । ‘बैतडीमा सबैभन्दा कम संख्या छ,’ अधिकृत कुँवरले भने ।

उमेर नपुगेका किशोरीबाट जन्मिएका शिशुको तौल कम हुने गरेको पाइएको छ । २० वर्षभन्दा कम उमेरका किशोरीबाट जन्मिएका ३ हजार शिशुको तौल साढे २ किलो मात्र रहेको पाइएको छ । सामान्य अवस्था हुनका लागि शिशुको तौले साढे दुई किलोभन्दा माथि हुनैपर्छ । कैलालीमा ९ सय ५५ शिशु जोखिमयुक्त तौलका जन्मिएको स्वास्थ्यकर्मीले जनाएका छन् । बझाङमा २ सय १३ शिशु कम तौलका जन्मिएका छन् ।

स्वास्थ्य संस्थामा जन्मिएका शिशुको विवरणअनुसार प्रदेशभरि ३ सय २७ शिशुको तौल डेढ किलो मात्रै थियो । डेढ किलो तौलका शिशुलाई बचाउनै मुस्किल हुने जनस्वास्थ्य अधिकृत कँुवर बताउँछन् । कैलालीका स्वास्थ्य संस्थामा जन्मिएका १ सय ६ शिशुको तौल डेढ किलोभन्दा मुनि थियो ।

प्रदेश ७ स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी बालविवाह न्यूनीकरण हुनुको साटो झन्झन् बढदै जानु स्वास्थ्य क्षेत्रका लागि चुनौती भएको बताउँछन् । ‘सूचना प्रविधिको दुरुपयोगले किशोरकिशोरीमा कम उमेरमै विवाह गर्ने प्रवृत्ति बढेको देखिएको छ,’ निर्देशक डा. अवस्थीले भने, ‘मातृशिशु सुरक्षाका लागि बालविवाहविरुद्धका अभियान तीव्र पार्नु जरुरी छ ।’

गरिबी, सचेतना अभाव, सूचना प्रविधिको दुरुपयोगलगायत कारणले बालविवाह बढिरहेको बालविवाह विरुद्धको अभियान सञ्चालन गरिरहेका वल्र्ड भिजन नेपालका विनयप्रकाश बराल बताउँछन् । ‘नेपालमा ३७ प्रतिशत बालविवाह हुने गरेको तथ्यांक छ,’ बरालले भने, ‘सन् ०३० भित्र बालविवाह निवारणको लक्ष्य लिएको नेपालका लागि यो तथ्यांकमा सुधार गर्नैपर्नेछ ।’ उमेर नपुगी विवाह गर्ने जोडीको घरबार बिग्रने, आमा तथा शिशुको स्वास्थ्यमा गम्भीर समस्या पैदा हुने, आर्थिक परिस्थिति नकारात्मक हुने र शिक्षादीक्षासमेत पूरा नहुने समस्या पैदा हुने गरेको बालविवाहविरुद्ध क्रियाशील प्रतिनिधिहरू बताउँछन् ।

प्रकाशित : आश्विन ६, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?