कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कार्यकर्ताकेन्द्रित बजेट’

मेनुका ढुंगाना

अछाम — एक वर्षअघि स्थानीय चुनावको चहलपहल हुँदा पञ्चदेवल विनायक ३ जुनधाराकी राधा विष्ट जति उत्साहित थिइन्, अहिले त्यति नै निराश छिन् । झन्डै दुई दशकपछि चुनिएका जनप्रतिनिधिसँग उनको ठूला अपेक्षा भने थिएन ।

‘कार्यकर्ताकेन्द्रित बजेट’

टोलका महिलाहरूको सक्रियतामा बनेको गाउँघर क्लिनिकमा स्वास्थ्य सामग्रीको उपलब्धता, टोलसम्म सडक, सार्वजनिक ठाउँमा एक धारा र एक शौचालयलगायतका सामान्य माग थिए । जनप्रतिनिधि आएको एक वर्ष बित्नै लाग्दा पनि राधा र उनको टोलवासीका यस्ता समस्याबारे सुनुवाइ भएको छैन ।

जुनधारामा गोरेटो बाटोसमेत नभएको अर्की स्थानीय हस्तना रोकायाले बताइन् । ‘साँघुरो बाटोमा मान्छे हिँड्नसमेत गाह्रो पर्छ,’ उनले भनिन्, ‘सडक चाहिन्छ भनेर पटकपटक जनप्रतिनिधिसँग माग राख्दा पनि कुनै सुनुवाइ भएन ।’ जनप्रतिनिधिले राजनीतिक पूर्वाग्रहका आधारमा काम गरेको त्यहाँका स्थानीयको भनाइ छ । जनप्रतिनिधि सबैको साझा बन्न नसक्दा सामान विकासको अवधारणा लागू हुन सकेको छैन ।

‘बहुसंख्यक नगरवासीको आवश्यकता र हितलाई हेरिंदैन, आफ्ना पार्टीका मान्छे जता बढी छन् त्यतै बजेट खन्याइएको छ,’ स्थानीय दुरादेवी न्यौपानेले भनिन् । बजेट विनियोजन गर्दा गाउँलाई वास्ता नगरेर विकासमा पछाडि पारिएको गुनासो स्थानीयको छ । उनीहरूका अनुसार जनप्रतिनिधि आएसकेपछि पनि पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती र लापरबाही रोकिएको छैन ।

निर्वाचनका बेला बाटो बिजुली, खानेपानी, सिँचाइजस्ता आधारभूत विकासलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता गरेका जनप्रतिनिधि अहिले आफ्ना कार्यकर्ताअनुकूल बजेट बाँड्ने, स्थानीय तहलाई पार्टीका कार्यकर्ता भर्तीको थलो बनाउने र सतही लोकप्रियताका लागि विवादास्पद निर्णय गर्नेमा अगाडि देखिएका छन् ।आवश्यकता पहिचान गरी विकासका योजना अगाडि बढाउनुपर्नेमा त्यसो हुन सकेको छैन ।

एनजीओको सहायता नलिईकन जनप्रतिनिधि अघि बढ्न नसकेको जुनधारा आमा समूहका अध्यक्ष कृष्णा रोकायाले बताइन् । ‘गाउँमा हामीले एक धारा र एक शौचालय मागेका छौं, नगर प्रमुखले एनजीओको सहायताले मात्र बनाउन सकिने बताउनुभयो,’ उनले भनिन्, ‘स्थानीयबाट नि:शुल्क जग्गा उपलब्ध गराएर महिलाहरूको सक्रियतामा बनेको गाउँघर क्लिनिकको समेत जनप्रतिनिधिले वास्ता गरिदिएनन् ।’

गाउँमै स्वास्थ्य सेवा पाए सबैलाई सुविधा हुन्छ भनेर जग्गा उपलब्ध गराउँदा पनि सेवा नपाएको स्थानीय भगिराम न्यौपानेले बताए । ‘नगरपालिकाको स्वास्थ्य शाखाले दिएको सामग्री विनायकको होटलमा राखिएको छ,’ उनले भने, ‘गाउँसम्म ल्याउन वडाध्यक्षले पहल नै गरेनन् ।’गाउँको विकासका लागि कुनै पनि राजनीतिक पूर्वाग्रह नराखेको वडा नम्बर ३ का वडाध्यक्ष सुरेन्द्र शाहीले बताए 

। ‘जनप्रतिनिधिलाई असफल गराउने तत्त्व षडयन्त्रमा लागेका छन्,’ उनले भने, ‘जुनधारा गाउँमा सडक पुर्‍याउन ३ लाख छुटयाइएको छ ।’ विकासमा राजनीति गरेको र साझा बन्न नसकेको भन्ने प्रमाण पेस गर्न सके मात्रै त्यसबारे आफूले स्पष्ट पार्ने उनले प्रतिक्रिया दिए ।

स्थानीय सरकारका रूपमा नयाँ अभ्यास र अनुभवको कमी हुँदाहुँदै पनि नगरवासीको हितमा कानुन निर्माण गरी अगाडि बढेको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटाले बताए । समान विकासको अवधारणामै अगाडि बढेको उल्लेख गर्दैै नगर प्रमुख देवकोटाले भने, ‘भूगोल र जनसंख्यालाई मिलाएर लैजाने प्रयास गरिरहेका छौं, सानातिना कमीकमजोरी भए तिनलाई पनि सुधारेर अगाडि बढ्नेछौं ।’

प्रकाशित : आश्विन ७, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?