कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछा ठेक्काले ताल संकटमा

मोहन बुढाऐर

धनगढी — कैलालीका अधिकांश स्थानीय तहले प्राकृतिक तालतलैयालाई माछा ठेक्कामा लगाए पनि तिनको संरक्षणमा भने ध्यान दिएका छैनन् । बिनायोजना माछापालनका लागि ठेक्का दिइँदा तालहरूको प्राकृतिक स्वरूप बिग्रँदै गएको छ । सिमसार क्षेत्रको जैविक विविधतासमेत नष्ट भइरहेको छ ।

माछा ठेक्काले ताल संकटमा

कैलालीको वसन्ता, कर्णाली र मोहना जैविक मार्गभित्र तथा सिमसारमा सूचीकृत घोडाघोडी क्षेत्रका सय वटा प्राकृतिक तालतलैयामा स्थानीय तहहरूले माछा पालनको ठेक्का दिएको छ । घोडाघोडी नगरपालिकाले मात्र ५७ वटा तालतलैयाहरूमा माछा पालन व्यवसायको ठेक्का दिएको छ ।

प्राकृतिक तालको जैविक महत्त्वको अध्ययनै नगरी वातावरणीय प्रभाव मूल्यांकनबिना दिएको ठेक्कापट्टाले तालतलैया संकटमा परिरहेको लामो समयदेखि संरक्षणका क्षेत्रमा कार्यरत विजयराज श्रेष्ठले बताए ।

‘स्थानीय तहले प्राकृतिक तालतलैयाको उपभोगसँगै, त्यसको संरक्षणमा समेत केही रकम छुट्टयाउनु पर्ने हो,’ उनले भने, ‘संरक्षण क्षेत्रमा कुनै बजेट विनियोजन गरेको पाइँदैन ।’ उनले यसले तालका रैथाने माछाका प्रजाति समेत समाप्त हुने चेतावनी दिए । ‘ताल वरपरको सिमसार क्षेत्र समेत नष्ट हुनेछ,’ उनले भने ।

घोडाघोडीपछि २७ बढी तालतलैया रहेको भजनी नगरपालिकाले पनि माछाको ठेक्का लगाएको छ । भजनी नगरपालिकाको पनि आम्दानीको प्रमुख स्रोत ताल ठेक्का नै हो । अरू नगरपालिकाहरूको पनि वन जंगल र तालतलैयाबाट उठ्ने राजस्व प्रमुख आम्दानीको स्रोत बनाएका छन । जिल्लामा सानाठूला गरी १ सय ८२ भन्दा बढी तालतलैयाहरू रहेको जिल्ला समन्वय समितिको वार्षिक पुस्तकमा उल्लेख छ ।

जिल्लाको वसन्ता संरक्षित वन क्षेत्रभित्र धेरै तालतलैया छन् । वसन्ता कैलारी गाउँपालिका, भजनी र घोडाघोडी नगरपालिकामा पर्छ । वसन्ता संरक्षित वन परिषद्का अध्यक्ष पुस्कल बमले पछिल्लो समयमा कैलालीका प्राकृतिक तालतलैया संरक्षणको अभावमा संकटमा परेको बताए । ‘यसअघि सामुदायिक वन क्षेत्रका तालतलैयाको संरक्षण र उपभोग दुवै सामुदायिक उपभोक्ता समितिले गर्दथे,’ उनले भने, ‘अहिले स्थानीय तहले आफूले तालको ठेक्का दिएको छ, तर संरक्षणको योजना छैन ।’

घोडाघाडी नगरपालिका प्रमुख ममता चौधरीले ताल संरक्षणका कार्यक्रम ल्याएको दाबी गरेका छन् । उनले आफ्नो नगरपालिकाभित्र घोडाघोडीसहित ६६ भन्दा बढी तालतलैयाहरू भए पनि ५७ मा मात्रै माछाको ठेक्का दिएको जानकारी दिए । घोडाघोडीसहित वरपरका १५ ताललाई पर्यटकीय विकास केन्द्रका रूपमा अगाडि बढाइने बताए । उनले घोडाघोडी आसपासका १५ तालमा माछाको ठेक्का नदिएको जानकारी दिए ।

संरक्षणबिना कैलालीका आधाभन्दा बढी ताल अस्तित्वको संकटमा रहेको भजनी नगरपालिकाका दीपक सुनारले बताए । उनले माछापालक ठेकेदारले तालको प्राकृतिक बनोटलाई बिगारेर आफ्नो किसिमले पार्टिसन गर्दा ताल संकटमा पर्ने गरेको बताए । ‘प्राकृतिक तालको स्वरूपमा परिर्वतन भएमा पानीको स्रोत सुक्छ,’ उनले भने, ‘माटोको ड्यामले तालको पार्टिसन गर्दा तालको सतहमाथि उठ्छ ।’ उनका अनुसार ठेक्का लगाएपछि तालको पानी सुक्दै जानु र ड्याम फुट्ने लगायत कारणले ताल संकटमा पसररहेका हुन् ।

भजनीमा रहेको पुरैनाताल, लालबोझीको भकरिया र दिदीबहिनीतालको अस्तित्व नामेट भइसकेको उनी बताउँछन् । ‘कहीँ तालको पानी सुकाएर खेतमा परिणत गरेको अवस्था छ,’ सुनारले भने, ‘जिल्लाको अन्य ताल क्षेत्रमा समेत अतिक्रमण बढेको छ ।’

प्रकाशित : आश्विन २१, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?