कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिकुनियामा भीडभाड, टीकापुर सुनसान

आयो दसैं
गणेश चौधरी

टीकापुर — सीमा पारीको तिकुनिया बजारमा दसैं किनमेलको चहलपहल छ । वारि टीकापुर भने सुनसान जस्तै छ । वारिका उपभोक्ता पनि दसैंको किनमेल गर्न तिकुनिया पुगेका छन् । नेपाली ग्राहकको भीडभाडले त्यहाँको बजारमा खुट्टा राख्ने ठाउँ छैन ।

तिकुनियामा भीडभाड, टीकापुर सुनसान

दसैैं नजिकिंदा यहाँका उपभोक्ता किनमेलका लागि सीमावर्ती बजार तिकुनिया जाने चलन जस्तै छ । तिकुनिया बजारमा किनमेल गरी फर्केकी टीकापुर नगरपालिका–१ की निर्मला कडायतले भनिन्, ‘टीकापुरको भन्दा तिकुनियामा सामान सस्तो पाइन्छ । मलाई यहाँको भन्दा सस्तो लाग्छ र सामान किन्न त्यतै जान्छु ।’

कैलालीको पूर्वी भेगका टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकाका बासिन्दा किनमेलका लागि भारतीय बजार तिकुनिया जाने गरेका छन् । नेपाली बजारमा भन्दा भारतीय बजार तिकुनियामा चिनी, मसला लगायतका उपभोग्य सामान सस्तोमा पाइने निर्मलाले बताइन् । उनले भनिन्, ‘तिकुनियामा सामान पनि सस्तो पाइने र बजार पनि नजिकै रहेकोले किन्न उतै जान्छु ।’ महँगी अति नै बढेकाले सस्तोको खोजीमा अधिकांश उपभोक्ता तिकुनिया नै जाने गरेका छन् । टीकापुरमा सुपथ मूल्यका पसल पनि संचालनमा छैनन् ।

खुला सीमा र टीकापुर घटनाका कारण पनि टीकापुर बजार अस्तव्यस्त बनेको यहाँका व्यापारीहरू बताउँछन् । टीकापुर उद्योग वाणिज्य संघका महासचिव रामबहादुर भण्डारीले भने, ‘टीकापुरका व्यापारी पूरै विस्थापित हुने अवस्था आएको छ । सरकारी तथा निजी क्षेत्र मिलेर पहल गर्न जरुरी छ ।’

कैलालीको टीकापुरबाट तिकुनिया बजार करिब २० किलोमिटर दूरीमा रहेको छ । चाडबाड आउँदा यहाँका स्थानीयले किनमेलका लागि भारतीय बजार तिकुनियालाई नै रोज्ने गरेका छन् । सर्वसाधारण उपभोक्ता साइकल, मोटरसाइकलमा किनमेलका लागि तिकुनिया बजार जाने गरेका छन् ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?