कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरघरमा मकैको लुठो

बसन्तप्रताप सिंह

बझाङ — यस जिल्लाको धान र गहुँपछिको तेस्रो मुख्य बाली मकै हो । भदौ र असोज अन्तिमसम्म नै यहाँका किसानहरू मकै भित्र्याउन व्यस्त हुन्छन् । मकै भण्डारण गर्न घर घरमा बनाएका लुठोले यहाँका गाउँहरू हेर्न लायक देखिन्छन् ।

घरघरमा मकैको लुठो

घरको अगाडि काठको खाबो गाँडेर त्यसमा मकैको कुन्यु लगाउनुलाई लुठो बनाउनु भनिन्छ । कुन्युको टुप्पोमा खरले छोप्ने गरिन्छ । अचेल केहीले कुन्यु छोप्नका लागि प्लास्टिकको समेत प्रयोग गर्दछन् । यो मकै भण्डारण गर्ने यहाँको परम्परागत तरिका हो । मकैलाई मुसाले क्षति नगरोस् भनेर लुठोको फेदमा रहेको काठमा औलीसल्लाका पातहरूलाई बेरेर राख्ने गरिन्छ । यसरी भण्डार गरिएको मकै दुई तीन वर्षसम्म पनि सुरक्षित हुने देउलेकका हरिश खड्काले बताए ।


बझाङको वित्थड चिर गाउँपालिका र बुङ्गल नगरपालिकामा पर्ने साबिकका देउलेक, स्याडी, पिपलकोट, दहबगर, देउलिकोट, कफलसेरी लगायतका गाविसमा यो प्रमुख वर्षेबाली हो । यहाँको ९५ प्रतिशत क्षेत्रमा बर्खामा मकै खेती गरिन्छ । यस क्षेत्रको मकै स्वादका हिसाबले पनि जिल्लामै प्रख्यात छ । यो बाहेक जिल्लाका सबै ठाउँमा मकै खेती हुने गरेको छ । ठूलो मात्रामा मकैको उत्पादन हुने भए पनि यसले बजार पाउन नसकेको मकै उत्पादक किसानहरूको भनाइ छ ।


सडक यातायातसँग जिल्ला नजोडिएको बेला रोटी खानका लागि प्रयोग हुने मकै जिल्लामा गाडी पुगेपछि पशुबस्तुको आहाराको रूपमा प्रयोग हुन थालेको स्याडीका लोकेन्द्र बोहराले बताए । ‘८/१० क्विन्टल मकै नहुने कुनै घर पनि हुँदैन । कसै कसैले त ३५/४० क्विन्टल मकै फलाउँछन्’ उनले भने ‘पहिला चामल नपाइने भएकोले मकैको रोटी खाने चलन थियो ।


अहिले सबै भात खान्छन् । मकै पशुलाई मात्र खुवाउने गर्दछन्’ उनले बजारमा बिक्री नहुने भएका कारण धेरै मकै हुनेले खेर फाल्नुपर्ने अवस्था रहेको बताए । बझाङ जिल्लामा करिब ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । जिल्लाभर वार्षिक ७ हजार मेट्रिक टनभन्दा बढी मकै उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बझाङको तथ्यांक छ ।


जिल्लामा मकैलाई खाद्यान्नका रूपमा प्रयोग गर्ने प्रचलन नभएको र यसको मूल्य वृद्धि गरी बजारीकरण गर्नतर्फ पनि खासै पहल नभएको कृषि ज्ञान केन्द्र प्रमुख राजेशकुमार केसीले बताए । उनले बझाङमा उत्पादन हुने मकै पूर्णरूपमा अर्गानिक भएकाले यसलाई परिवारहरूमा विविधीकरण गरी खाद्यान्नको रूपमा उपयोग गर्न र कर्न फ्लेस, पशुपंछीको दाना जस्ता व्यावसायिक उत्पादनको कच्चा पर्दाथको रूपमा निर्यात गर्न सकिने सम्भावना रहेको बताए ।

यता बित्थड चिर गाउँपालिका अध्यक्ष प्रेम बोहराले मकैको बजारीकरणका लागि गाउँपालिकाले अध्ययन गरिरहेको बताउँदै यसको उत्पादकत्व बढाउने खालका कार्यक्रमहरू संचालन गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?