कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाडपर्वमा अखाद्य वस्तु छ्यापछ्याप्ती

डीआर पन्त

डडेलधुरा — चाडपर्व सुरु भएपछि कैलाली र कञ्चनपुरका व्यवसायीले पहाडी जिल्लालाई ‘टार्गेट’ गरेर वर्षभरि बिक्री नभएका र म्याद गुज्रिएका अखाद्य वस्तु पठाउने गरेका छन्  । सीमापारि र वारिका खाद्यवस्तु उत्पादन गर्ने कम्पनीहरूले नै त्यसरी सामान पठाउने गरेको खुलेको छ  ।

चाडपर्वमा अखाद्य वस्तु छ्यापछ्याप्ती

गौरादेखि बिसु पर्वसम्म पहाडी जिल्लामा सुरु हुने विभिन्न चाडपर्व, जात्रा र मेलालाई लक्षित गरी म्याद गुज्रेका सरसामान नियोजित रूपमै पहाडी बजारमा पुर्‍याउने गरिएको हो ।


‘डडेलधुरामा रहेका प्रमुख बिक्रेताले तराईबाट भित्र्याउने अधिकांश खाद्य सामग्री र दैनिक उपभोग्य वस्तु या त म्याद नाघेका छन् या कम्पनीबाटै खराब भएका दुई नम्बरी भनेर चिनिने सामग्री छन्,’ उद्योग वाणिज्य संघ डडेलधुराका पूर्व अध्यक्ष कालीप्रसाद जोशीले भने । उनका अनुसार डडेलधुरा सदरमुकाममा सव–डिलर राखेर अन्य पहाडी जिल्लामा अखाद्य वस्तुहरू बिक्री बितरण भइरहेको छ । ‘यस्तो व्यापार नियन्त्रणका लागि न प्रभावकारी अनुगमन छ न कसैले चासो नै राखेका छन्,’ उनले भने ।


प्राय: गुणस्तरहीन चामल, दाल, तेल, वनस्पति घिउ, मसला, तयारी खाजाका रूपमा रहेको चाउचाउ, बिस्कुट र पेय पदार्थहरू पहाडी जिल्लामा पठाइन्छ । खाद्यवस्तुसँगै कम्पनीबाटै ‘डिफेक्टेड’ मानिएका लत्ताकपडासमेत डडेलधुरालाई बिक्री केन्द्र बनाएर डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा र दार्चुला पठाउने गरिएको छ । ‘जताततै अखाद्य र म्याद गुज्रिएका उपभोग्य वस्तु छयाप्छयाप्ती छन्,’ उपभोक्ता मञ्चका अध्यक्ष गुणाकर चटौतले भने, ‘पहाडी जिल्ला अखाद्य वस्तु बिक्री गर्ने केन्द्र बन्दै गएका छन् ।’


उनका अनुसार जिल्लामा रहेका एक दर्जन सव–डिलरहरूमा आउने अधिकांश खाद्य सामग्रीमा उत्पादन र सामानको म्याद सकिने मिति नै उल्लेख भएको भेटिंदैन । नेपाली उत्पादन मात्र नभई बहुराष्ट्रिय कम्पनी र भारतीय बजारबाट आउने उपभोग्य वस्तुसमेत म्याद सकिएपछि मात्र सुदूरपश्चिमका पहाडी जिल्लाको बजारमा आउने गरेका छन् । स्थानीय प्रशासनले अनुगमनको औपचारिकता मात्र पूरा गर्ने गरेको भए पनि प्रभावकारी हुन नसक्दा उपभोक्ताले चर्को मूल्यमा अखाद्य र गुणस्तरहीन वस्तु उपभोग गर्नुपरेको अध्यक्ष चटौतले बताए ।
केही सामग्री उत्पादन कम्पनीबाटै गुणस्तरहीन आउने गरेको डडेलधुराकै व्यवसायी धर्मराज जोशीले बताए । ‘पहाडी जिल्लामा उपभोग्य वस्तु पुग्दासम्म म्याद नाघिसकेको र अखाद्य वस्तुमा परिणत भइसकेको हुन्छ । त्यस्ता वस्तु पनि बिक्री भइरहेका छन् ।’ बैतडी सदरमुकाम हुंँदै आउने भारतीय उत्पादन पनि गुणस्तरहीन हुने गरेको व्यवसायीले बताए ।


उपभोक्तामा चेतना नहुँदासम्म यस्ता वस्तु बिक्री वितरण बन्द हुन कठिन छ । पहाडी जिल्लाका सदरमुकामभन्दा ग्रामीण क्षेत्रमा झन् कहालीलाग्दो अवस्था छ । ‘सामान म्याद नाघेका छन् तर व्यवसायीले खरिद गरेका बिल भने नयाँं छन्,’ नागरिक समाजका सचिव रमेश जोशीले भने, ‘यसबाट पनि अखाद्य वस्तुको बिक्री वितरणमा उत्पादन कम्पनी, अधिकृत बिक्रेता र सव अधिकृत बिक्रेताको मिलोमतो हुने गरेको प्रस्ट हुन्छ ।’


डडेलधुरा र डोटीमा गरिएको एक सर्भेक्षणमा अधिकांश व्यवसायीसँग म्याद सकिएको सामान भेटिनु तर अधिकृत विक्रेताबाट खरदि गरिएका बिलहरू नयांँ फेला पर्नुले पनि यो कुराको पुष्टि भएको सचिव जोशीले बताए । ‘उपभोक्तालाई जानकारी नहुनु त स्वाभाविक हो ।


विक्रेताहरूलाई नै उपभोग्य वस्तुका बारेमा जानकारी छैन,’ उनले भने, ‘प्रशासनले अनुगमन गर्दा अधिकृत विक्रेतालाई समेत जानकारी नभएको देखियो ।’
५ वर्षअघि कैलालीमा रहेको नापतौल तथा गुणस्तर विभागले गरेको अनुगमनपछि अहिलेसम्म उक्त कार्यालयका अधिकारी पहाडी जिल्लामा उक्लेका छैनन् ।


अखाद्य वस्तुको संगठित तस्करी
बिक्रेता, अधिकृत बिक्रेता र खुद्रा बिक्रेताको मिलोमतोमा मात्र अखाद्य वस्तु बिक्री हँुंदैन । सीमापारिबाट संगठित रूपमा नै म्याद गुज्रेका, उत्पादक कम्पनीमा ‘डिफेक्टेड’ सामान नेपाल भित्र्याउने गिरोह नै सक्रिय छ । भारतीय बजारमा अखाद्य मानिएका, म्याद सकिएका र उत्पादक कम्पनीबाटै डिफेक्टेड भएका अखाद्य वस्तु दैनिक ठूलो मात्रामा तस्करी गरी नेपाल भित्रिन्छ ।


यसरी नेपाल भित्रिने वस्तुमा चामल, दाल, गुड, चिनी, गट्टा, मसला, बिस्कुट, चकलेट, बेकरी, अण्डा, तेल, साबुन, सर्फ, दन्तमञ्जनलगायत रहेका छन् । भारतीय बजारमा भण्डारण गरी यस्ता सामग्री नेपाल तस्करी हुने गरेको हो ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?