कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असहायको सहारा घर

सडेगलेका फोहोर खाने र फोहोरमै सुत्ने बेसहराको जीवन हिजोसम्म अलग थियो । आमनागरिक उनीहरूलाई ‘पागल’ भन्थे । तर, आज सहारा घरको छानोमुनि बस्दा उनीहरूको जिउने शैली फेरिँदै छ ।
कान्तिपुर संवाददाता

कैलाली — कैलालीको बर्दगोरिया गाउँपालिकाको चुरे फेदमा रहेको धार्मिक पर्यटक वनको पूर्वी कुनामा एउटा असहायहरूको सहारा घर छ  । जहाँ ४६ सुस्त मनस्थितिका, अपांग र बेसहारा सडक बालबालिकादेखि वृद्धवृद्धा आश्रित छन्  ।

असहायको सहारा घर

यो घर सुविधायुक्त छैन । निर्माणाधीन अवस्थामै रहेको दुईकोठे पक्की घर र अर्काे टिनको पाताले छाएको टहरो छ । यसको वरपरको ४ कट्टा जतिमा तारबार गरिएको छ । एउटा पक्की र अर्काे कच्ची शौचालय छ । यहि संरचनाभित्र बेसहराहरू आफ्नो दैनिकी चलाइरहेका छन् । सहारा घरका मुली बलबहादुर विष्ट भन्छन्, ‘सडक पेटीका बेसहराहरूको एउटा छानो मात्रै हो ।’


सडेगलेका फोहोर खाने र फोहरमै सुत्ने बेसहराहरूको जीवन हिजोसम्म आममानिसभन्दा भिन्न थियो । आमनागरिकले उनीहरूलाई ‘पागल’ भन्थे । तर आज यो सहारा घरको छानोमुनि बस्दा उनीहरूको जिउने शैली पनि फेरिएको छ ।

उनीहरूमा मरेको भोक र प्यास मात्रै होइन, मानवीय समवेदनाहरू फर्केको छ । सफा र चिटिक्क भएर बस्छन । कुराकानी गर्छन् । आज्ञाकारी छन् । आफूलाई आफैं चिन्ने प्रयत्नमा छन् । ‘सडक पेटीका बेसहरालाई छानोमुनीको बसाइ र दुई छाक स्वस्थ खाना खुवाउने हामीले कर्म गरेका छौं,’ विष्टले भने, ‘धेरै मानसिक सन्तुलन गुमाएकाहरूका लागि सहारा घर अस्पताल समेत भइदिएको छ ।’ उनका अनुसार २६ मानसिक रोगी निको भएर घर फर्केका छन् । उनले बिनाऔषधि सहारा घरमा उपचार पाएको घर परिवारको वातावरण र स्वस्थ खानाले निको भएर घर फर्केको बताए । उनी यो कर्मबाट आफूले मान्छेलाई सवैभन्दा ठूलो माया चाहिने रहेछ भनने बुझेको बताउँछन् ।


‘सहरा घरमा सहारा माग्ने बेसहराहरू क्षमता भन्दा बढी भयो,’ उनले भने, ‘ठाउँबारे जति प्रचार हुदै गयों त्यति धेरै बेसहाराहरूलाई यहाँ पुर्‍याइदिन थाले ।’ उनका अनुसार अहिले भवन, सुत्नलाई खाट र ओढ्ने बिछ्याउनेको अभाव भएको छ । उनले सुत्केरी, बालबालिका र अशक्त वृद्धवृद्धालाई खाटमा र बाँकीलाई भुइँमैं सुताउनुपरेको बताए ।


सहारा घरमा खाना खाने मेस हलमा भाँडा र बस्ने कुर्सी अभाव छ । मूलबाट खानेपानीको पाइप तानिएको छ । धारा र स्नान गृह बनाउन बाँकी छ । असहायको सहायताका लागि विष्टले ‘असहायका लागि सहयोगी हातहरू नेपाल’ संस्थाको नाममा देश/बिदेशबाट सहयोग जुटाउने गरेका छन् । ‘सहयोगी हातहरू भर्खर जुट्दै छन्,’ उनले भने, ‘सामाजिक सञ्जालमार्फत यहॉका असहायका लागि सहायता माग्छु ।’ उनले संस्थाको नाममा बैंक खाता र फेसबुक एकाउन्ट खोलेका छन् ।


‘सामाजिक सञ्जाल हुन्थेन भने आफ्नो हात सहयोगीसम्म पुगाउन सक्दैन्थें,’ उनले भने, ‘सहयोगी हातविना आफ्नो कर्म यहाँसम्म पुग्दैन्थ्यो ।’ अहिले सहयोगी हातहरू अमेरिका लगायत बिश्वका हरेक कुनाबाट लम्किरहेका छन् । सहारा घरको दसैंै अमेरिकामा बसेका युवाहरूले रमाइलो गरिदिए । सहयोगी मनले गर्दा आफूहरूले सडक पेटीका बेसहारा र मानसिक सन्तुलन गुमाएकालाई एक ठाउँमा राखेर स्याहार्न सकेको उनी बताउँछन् ।


विष्ट बौनियामै एक मेडिकल क्लिनिक चलाउने स्वास्थ्यकर्मी पनि हुन् । उनी व्यक्तिगत रूपमा डेढ दशकदेखि सडक पेटीका असहायको सेवामा छन् । तर उनले संस्था दर्ता गरी असहायहरूलाई सेवा पुर्‍याउन थालेको गत वर्षदेखि मात्रै हो । ‘असहायका लागि ब्यक्तीगत रुपमा सहायता म माग्दा भिख मागेको जस्तो लाग्यो । बिश्वसनीय पनि भएन,’ उनले भने, ‘केही सेवाभाव बोकेका गाउँका युवालाई साथमा लिएर गत वर्ष मंसिर २७ मा संस्था दर्ता गरेको हुँ ।’


सुरुमा उनी आफ्नै क्लिनिकबाट सडक पेटीका पागल भनिएका मानसिक रोगीको घाउचोट निको बनाइ दिने कर्मबाट सेवामा लागेको बताउँछन् । ‘पागल भनेका सडक पेटीका अशक्तहरूको मुखमा र शरीरका विभिन्न भाग लागेको घाउचोट पाकेर किरा परेको देखिन्थे,’ उनले भने, ‘त्यस्तालाई क्लिनिकमा ल्याएर किरा निकाली दिने र औषधिमुलो गरिदिने मन हुन्थ्यो । कतिपयको क्लिनिक बाटै सेवा गरें ।’


उनले संस्था दर्ता भएपछि कांग्रेसका पूर्व सांसद मोहनसिंह राठौरको संसदीय कोषको सहयोगमा यो धार्मिक वन क्षेत्रमा अधुरो २ कोठे पक्की घर निर्माण गरेको बताए ।


‘सत्यकर्ममा मनदेखि जुट्नुपर्छ’, उनले भने, ‘सवै कुरा विस्तारै प्राप्त हुन्छ ।’ यति धेरै मानसिक रोगी सहित अपांग अशक्त र असहायलाई एकै ठाउँमा राखेर भरणपोषण गर्न सकौला भन्ने आफुले कल्पना समेत नगरेको उनी भन्छन् । उनले यो सेवाको कर्ममा हिँड्दै जाँदा मानिस रोगी, अशक्त, अपांग र असहायलाई आफ्नै घरमा राखेर पालेको बताए । ‘सस्था दर्ता गरी सहारा घर खोल्न अघि मेरो आफ्नै घरमा ५/७ बेसहारा सडक पेटीका अशक्त पालेको थिएँ,’ उनले भने, ‘घरमा पागल जम्मा गरेर दुनियॉ हसाएको भन्थे ।’ उनले त्यसै कारण घरबाट मात्रै नभएर बस्तीबाटै टाढा बनाएको सहारा घरका लागि जग्गा मागेको बताए ।


उनले यहॉपनि स्थानीयबाट विरोध भएको बताए । ‘स्थानीयवासीले समेत सुरुमा यहाँ पागल थुन्ने खोर नराख्न भनेका थिए ।’ उनले सुनाए, ‘अहिले भने स्थानीय पनि सहयोगी बन्दै गएका छन् ।’ उनले अहिले बिजुली, बाटो घाटो, स्वास्थ्य क्लिनिक र एम्वुलेन्स लगायतका सुबिधा सहारा घरलाई चाहिएको बताए । उनी आफूसँग धन भएर मात्रै दानविर हुदैंन, धन नभएका र मन भएकाहरूबाट उनले ठूलो सहयोग पाइरहेको बताउँछन् । उनले भने, ‘अहिले त मैले सहारा घरमा असाहयको सेवा गर्ने ७ भाइबहिनी पनि पाएको छु ।’ उनले सातैजनालाई आफ्नो संस्थामा आबद्ध गरेका छन् ।


जसमध्येका तपेन्द्र विक भन्छन्, ‘बलबहादुर काकाको सेवा भावनाबाट प्रेरणाप्राप्त भएको छ ।’ उनी संस्थाका सदस्य भएपछि असहायको सहारा घरमा पूर्णकालीन रूपमा सेवा गर्न आएको बताउँछन् ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?