कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साँफेबगरमा हवाई सेवा पुन: सञ्चालन

मेनुका ढुंगाना

अछाम — बन्द भएको १७ वर्षपछि अछामको साँफेबगर विमानस्थल पुन: सञ्चालनमा आएको छ  । गत सातादेखि नियमित हवाई सेवा सुरु भएको हवाई उड्डयन प्राधिकरणले जनाएको छ  ।

साँफेबगरमा हवाई सेवा पुन: सञ्चालन

तत्कालीन माओवादी विद्रोहीले ०५८ फागुन ४ गते आक्रमण गरेपछि विमानस्थल बन्द भएको थियो ।

१७ वर्षसम्म गौचरणमा परिणत भएको साँफेबगर विमानस्थलबाट यसै दसैंको महाअष्टमीका दिन पहिलो नियमित उडान सुरु भएको हो ।

गत जेठ ११ गते साँफेबगर विमानस्थलमा हवाई उडान परीक्षण गरिएको थियो । ‘विमानस्थल उद्घाटनपछि हाल एउटा उडान तालिकाअनुसार नियमित भइरहेको छ,’ साँफेबगरका नगरप्रमुख कुलबहादुर कुँवरले भने । हप्ताको आइतबार र बुधबार नेपालगंज–साँफेबगर हवाई सेवा सञ्चालन भएको उनले बताए ।

नेपाल वायु सेवा निगमले सेवा सुरु गरेको हो । तर निगमको कार्यालय नभएकाले टिकट बिक्रीका लागि नगरपालिकाले जिम्मेवारी लिएको छ । नगरपालिका प्रवक्ताले टिकटको व्यवस्थापन गरिरहेको नगरप्रमुख कुँवर बताउँछन् ।

‘अर्को व्यवस्था नभएसम्मका लागि नगरपालिकाले नै टिकटको बिक्री गर्ने जिम्मेवारी लिएका हौं,’ कुँवरले भने ‘साँफेबगर विमानस्थलमा जहाज चल्नुपर्छ भनेर यात्रु नपाएको अवस्थामा ५ जना बराबरको भाडा तिरेरै भए पनि सेवा सुचारु गराउने समझदारी गरेका छौं ।’ नेपाल वायुसेवा निगम बाहेक निजी क्षेत्रका विमान कम्पनीसँग उडान सम्झौता गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले लगानी गरेर भए पनि निजी विमान कम्पनीको सेवा पनि सञ्चालन गर्ने तयारी गर्दै छौं,’ नगरप्रमुख कुँवरले भने, ‘धनगढी–साँफेबगरमा हवाई सेवा सुरु गर्ने विषयमा समेत निगमसँग छलफल भइरहेको छ ।’

०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल ०३२ सालदेखि सञ्चालनमा आएको थियो । ०४४ सालदेखि २०५८ सालसम्म यो विमानस्थलबाट नियमित हवाई सेवा हुने गरेको थियो । बन्द हुनुअघि यस विमानस्थलबाट अछाम, बाजुराका यात्री र बिरामीलाई सहज भएको थियो ।

हाल यो विमानस्थलको रनवे कालोपत्रे गरिएको छ । ५ सय मिटर लम्बाइ र ८० मिटर चौडाइ रनवे रहेको यो विमानस्थलको पुनर्निमाण गर्न भ्याटसहित ११ करोड ५० लाख खर्च भएको हो ।

यो विमानस्थल पुन:सञ्चालनका लागि यस क्षेत्रका बासिन्दाले पटकपटक सरकारसँग अनुरोध गर्दै आएका थिए । सुदूरपश्चिम प्रदेशमा धनगढीको गेटा विमानस्थलपछिको विमान अवतरण र उडानका लागि सबैभन्दा सजिलो साँफेबगर विमानस्थल भएको प्राविधिकहरू बताउँछन् ।

लामो समयपछि हवाई सेवा पुन: सञ्चालन हुँदा आकस्मिक कामका लागि जिल्लाबाहिर आवतजावत गर्ने र सिकिस्त बिरामीलाई निकै सहज भएको स्थानीयको भनाइ छ । ‘नियमित हवाई सेवा सञ्चालन भमा बिरामीलाई सहज हुनेछ,’ उद्योग वाणिज्य संघका महासचिव बमबहादुर रावलले भने, ‘बिरामी मात्रै नभई यहाँको पर्यटन क्षेत्र फस्टाउनेछ ।’

प्रकाशित : कार्तिक ९, २०७५ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?