कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलाले स्थानीयमा उत्साह

मेनुका ढुंगाना

अछाम — अछामका विभिन्न ठाउँमा लाग्ने मेलापर्वको अवसरमा महिलाहरूले स्थानीय उत्पादन, निगालोबाट बनेका डोका र अन्य सामग्रीको राम्रो व्यापार गर्ने गरेका छन्  । मेलालाई केन्द्रित गरेर अछामको मेल्लेख, बान्नीगढी जयगढ गाउँपालिकाका महिलाले मम्फली (बदाम) खेती नै गर्ने गरेका छन्  ।

मेलाले स्थानीयमा उत्साह

बुधबार बान्नीगढी जयगढ गाउँपालिकाको तिमिल्सैनमा सम्पन्न भएको जात्रामा २० हजार भन्दा बढीको मम्फली बिक्री गरेको मेल्लेख गाउँपालिका ७ कि पवित्रा बुढाले बताइन् । ‘तिमिल्सैनको सैनेगडा र गाज्राको डौठेगडा मेलामा बेच्नको लागि नै बदाम खेती गर्ने गरेका छौं’ उनले भनिन्, ‘अरू बेला समय निकालेर बजारमा बेच्न आउन सकिंदैन । मेला हुने दिन जसरी पनि समय निकाल्छौं ।’ गाउँभरिका मान्छेले मम्फली खेती गरेका छन् । मेलापर्वले उनीहरूलाई फाइदा हुन्छ ।

अधिकांश श्रीमान् कामको सिलसिलामा भारतमा हुने र गाउँमा महिलाले नै उत्पादन गरेका स्थानीय उत्पादन र सामग्रीले यस्ता मेलाहरूमा व्यापार फस्टाउने गरेको नन्देगडाकी सावित्रा बुढाको भनाइ छ ।

‘गाईबस्तुको हेरचाह, छोराछोरीको झन्झटले बाहिर निस्कन पाइँदैन’ उनले भनिन्, ‘उसो त महिलाले व्यापार गर्न गएको समाजले ठीक मान्दैन । मेलामा व्यापार गर्ने अवसर मिल्छ ।’ स्थानीयले जंगलमा पाउने निगालोबाट पहाडका गाउामा अत्यधिक प्रयोग हुने डोका बुनेर मेलापर्वका अवसरमा बिक्री गर्ने गरेका उनको भनाइ छ ।

लेकाली जंगलहरूमा पाइने निगालोबाट फुर्सदको समयमा हातले बुनेका डोकाहरू संकलन गरी विभिन्न ठाउँमा लाग्ने मेलापर्वहरूमा बिक्री गर्दै स्थानीयले यसबाट राम्रो आम्दानीसमेत गरेका छन् । धेरैजसो ठाउँमा कच्चा पदार्थ निगालो नपाउने र पछिल्लो पुस्ताका युवा पिँढीहरू यो सीप सिक्न पनि इच्छुक नहुँदा बाँस र निगालोबाट बनेका सामान नपाइने अवस्थामा छ ।

तर यसरी मेलापर्वमा लेकाली भेगका स्थानीयले ल्याउने यस्ता सामग्रीको निकै माग हुने गरेको छ । टाढाबाट मेला भर्न आएकाहरूसमेत बाास निगालाबाट बनेका सरसामान किनेर लैजाने हुँदा आफूले बिक्रीका लागि ल्याएको सामान फिर्ता लिन नपरेको एक जना व्यापारी जौमती धामीले बताइन् ।

कोजाग्रत पूर्णिमाका दिन लागेको अछामको एक प्रमुख मेला तिमिल्सेनको दसैं मेलामा डोकाको व्यापार गरिरहेका मेल्लेख गाउापालिका १ ऋषिदहकी जौमतीले आफूले वर्षातको समयमा फुर्सदमा बुनेका डोका बिक्रीबाट राम्रो आम्दानी भएको बताइन् ।

‘डोका नाम्लो बुन्ने काम खास गरी पुरुषले नै गर्छन् । तर घरमा न श्रीमान् छन् न छोरा । आफैंले फुर्सद भएको बेला डोको, नाम्लो बुनें,’ उनले भनिन् । डोकाको आकार हेरेर २ देखि ४ सय रुपैयाँसम्ममा बिक्री गरेको उनको भनाइ छ । आफूसँगै गाउँबाट करिब २०/२५ जना स्थानीय डोकालगायत चोया र चित्राका सामान बोकेर मेला भर्न आएको भन्दै धामीले एक जनाले ५ देखि ७ हजारसम्म कमाउने गरेको जानकारी दिइन् ।

सामान ओसारपसार गर्न, घरमा सरसामान राख्न निकै सजिलो हुने डोको केही ठाउँमा त बिरामी बोक्नसमेत प्रयोग गरिन्छ । यस्तै मेला–जात्रामा ऐतिहासिक लोकसंस्कृति झल्किने देउडा, न्याउले, खुकुरी नाचजस्ता खेलहरू पनि खेल्ने प्रचलन रहेको छ ।

प्रकाशित : कार्तिक १०, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?