कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बूढीगंगा आयोजनाको काम सुस्त

दसैंअगावै डीपीआर तयार भइसक्ने बताइएको भए पनि आयोजनाले हालसम्म उक्त काम सम्पन्न गरेको छैन
मेनुका ढुंगाना

अछाम — अछामको बूढीगंगा जलविद्युत् आयोजनाको अध्ययन सुरु भएको २३ वर्षसम्म पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुन सकेको छैन  । दसैंअगावै डीपीआर तयार भइसक्ने बताइएको भए पनि आयोजनाले हालसम्म उक्त काम सम्पन्न गरेको छैन  ।

बूढीगंगा आयोजनाको काम सुस्त

सरकार आफैंले निर्माण गर्ने २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजनाको निर्माणका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएको थियो । २०७३ सालमा अध्ययन सम्पन्न हुने र २०७६ सालमा निर्माण सम्पन्न गर्ने सम्झौता थियो ।


सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनअनुसार अनुमानित कुल लागत नेपाली मुद्रामा करिब ६ अर्ब अर्थात् ६० मिलियन अमेरिकी डलर रहेको आयोजनाका प्रमुख सञ्जय ढुंगेलले बताए । यस लागतमा प्रसारण लाइनको निर्माणको लागतसमेत समावेश गरिएको छ ।


आयोजनाको इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरी निर्माणका लागि २०१४ जुन १८ तारिखमा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ११२ दशमलव ५० मिलियन साउदी रियाल (३ अर्ब नेपाली रुपैयाँ) को ऋण सम्झौता भइसकेको इन्जिनियर वीरबहादुर बोहराले बताए ।


त्यसैगरी २०१२ जुलाई ४ तारिखमा कुबेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टसँग ५ मिलियन कुबेती दिनार (नेपाली रुपैयाँ १.८ अर्ब) ऋण सम्झौता भइसकेको छ । बाँकी रकम नेपाल सरकारले बेहोर्ने उक्त सम्झौतामा उल्लेख गरीएको इन्जिनियर बोहराले बताए ।


तर, अध्ययन सुरु भएको २३ वर्ष बितिसकेको छ । अहिलेसम्म जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार छैन । पटक–पटक समय थप गरिए पनि डीपीआर तयार नभएको आयोजना प्रमुख ढुंगेलले बताए । ‘पुल निर्माणको काम भइरहेको छ । सायद फागुनभित्रै सकिन्छ । यसै आवभित्र टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘अस्ट्रेलियन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीले बूढीगंगाको डीपीआर बनाउने जिम्मा पाएका छन् । उनीहरूले चाँडै रिपोर्ट दिने बताएका छन् । अहिले स्थानीयको सहयोग पनि पाइएको छ ।’


आयोजनाको काम ढिलो भएको प्रति अहिले राजनीतिक दलले पनि चासो राख्न थालेका छन् । आयोजनाको काम अपारदर्शी ढंगले बढेको र आयोजना प्रमुख बदलिरहने भएकाले काम प्रभावित भएको पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री एवम् कांग्रेस नेता गोविन्दबहादुर शाहले बताए ।


स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएको १ वर्ष पूरा हुँदा पनि अछामका १० वटा स्थानीय तहबीच आयोजनाको बारेमा कुनै छलफल र चासो नदेखिएकाले आफैंले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर काम छिटो गर्न आयोजनाका प्रमुख र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरिरहेको जिसस अछामका प्रमुख नरबहादुर कुँवरले बताए । ‘बूढीगंगा जलविद्युत् आयोजना ७ नम्बर प्रदेशको गौरवको आयोजना हो । यसमा सबैले चासो देखाउनुपर्छ,’ उनले भने ।


नेपाल सरकार, ऊर्जा मन्त्रालय विद्युत् विकास विभागको निर्माणाधिन यो पहिलो जलविद्युत् आयोजना हो । सरकारी स्तरबाट आयोजनाको कामप्रति चासो नभएको र अछामका राजनीतिक दल र सरोकारवालाले देखाएको उदासीनताका कारण जलविद्युत् आयोजना अन्योलमा रहेको छ ।


जलविद्युत् आयोजनाको डीपीआर तयार नभए पनि अहिले आयोजनास्थलसम्म पुग्ने बाटो र कार्यालय भवन निर्माण भइरहेको छ । बूढीगंगा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ७ नम्बर प्रदेशका जिल्लाहरूमा खपत हुने र बाँकी विद्युत् कैलालीको पहलमानपुरसम्म पुगाएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ । ८.६४ हेक्टर क्षेत्रफल रहेको आयोजनाको मुख्य संरचनामा बाँध, इन्टेक, सेटलिङ, वेसिन, सुरुङ, सर्जटयांक, विद्यत्गृह, टेलरेस, सव–स्टेसन, प्रसारण लाइन आदि रहनेछन् ।

प्रकाशित : कार्तिक १३, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?