कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीज वृद्धिमा कृषि सहकारी

गणेश चौधरी

टीकापुर — धानको मिनीकिट ब्लक प्रदर्शनबाट बीउ उत्पादन सुरु गरेको बिज वृद्धि कृषि सहकारी संस्था मुनुवाले अहिले धान गहुँ र तोरीको  करिब २  सय टनभन्दा बढी बीउ उत्पादन र बिक्री वितरण गर्दै आएको छ  ।

बीज वृद्धिमा कृषि सहकारी

सहकारीमार्फत ८५ हेक्टर क्षेत्रफलमा धान र गह‘ँको बीज वृद्धि खेतीको कार्यक्रम गरिरहेको छ । सहकारी बीज वृद्धिमा लागेपछि उन्नत बीउ पाउन सहज बन्दै गएको छ ।


यो सहकारीले यहाँका स्थानीय किसान, व्यावसायीक फर्म तथा अन्य जिल्लामा पनि बीउ पठाइरहेको सहकारीका अध्यक्ष रामफल बडायकले बताए । उनले भने, ‘यहाँको उन्नत बीउलाई कैलालीसहित बर्दिया, बाँके र सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि बीउ पठाइरहेका छौं ।’


रानी जमरा कुलरिया सिंचाइ आयोजनाको कृषि कार्यालयले पनि बीज वृद्धिमा ५० प्रतिशत अनुदान सहयोग गरेपछि सहकारी र सम्बद्ध किसान बीज वृद्धि खेतीमा आकर्षित भइरहेको जनाइएको छ । नमुना, पशुपति, किसान, उज्यालो लगायतका सहकारी संस्था बीज वृद्धिमा लागेका छन् ।


बीउमा जातीय शुद्धता, भौतिक शुद्धता, उमारशक्ति राम्रो भएकोले यो सहकारीबाट उत्पादित बीउले किसानको विश्वास जित्दै गएको अध्यक्ष बडायकले बताए । उनले भने, ‘बीउ उत्पादक किसानलाई आर्थिक र प्राविधिक सहयोग कृषि कार्यालयले गरेपछि बीउ उत्पादन बढ्दै गएको छ ।’


यो सहकारीले यो आर्थिक वर्षमा १ सय ८० टन बीउ भण्डार गरेको सहकारीका प्रबन्धक गोविन्द रावतले बताए । सहकारीमा १७ सय ३१ क्विन्टल गहुँको बीउ, १९ सय क्विन्टल धानको बीउ, १३ क्विन्टल तोरीको बीउ उत्पादन गरी भण्डार गरिराखेको उनले बताए । ३८ औं विश्व खाद्य दिवसको अवसरमा बुधबार मनुवाको वीज वृद्धि सहकारीलाई देशभरिमा बीज वृद्धि खेती गरी गुणस्तरीय बीउ उत्पादन तथा वितरण गरेकोमा कृषि तथा पशुपंक्षी सहकारी मन्त्रालयले पुरस्कृत पनि गरेको छ ।


नमुना कृषि सहकारी संस्थाका अध्यक्ष जीतबहादुर चौधरीले स्थानीय बजार भाउभन्दा अन्नको बीउको मूल्य १५ प्रतिशत बढी हुने भएपछि खाद्यान्नका लागिभन्दा बीउका लागि खेती थालेको सुनाए । उनले भने, ‘हामीले किसानलाई मूल बीउ दिन्छौं । पछि उत्पादन भएपछि बीउको पैसा कटाएर किसानलाई दाम दिन्छौं । रानी जमरा कुलरिया सिंचाइ आयोजनाको कृषितर्फको कार्यालयले बीउमा आत्मनिर्भर बनाउन बीउ भण्डार गृह र ग्रेडिङ मेसिनको सहयोग गरेको छ ।


कैलालीमा बीउ उत्पादन कम्पनी तथा सहकारी खुल्दै गएपछि भारतबाट बीउ ल्याउने प्रचलन पनि घट्दै गएको किसानहरू बताउँछन् । टीकापुर नगरपालिका–४ बाघमाराका किसान जोखन चौधरीले भने, ‘भाारतबाट कोही कोहीले मात्र धान गहुँको बीउ ल्याउँछन् । उताबाट ल्याएको बीउको ग्यारेन्टी हुन्न ।’


टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख गौरीशंकर गुप्ताले सिफारिस गरिएका प्रमाणित बीउ लगाउने किसानको संख्यामा वृद्धि हुँदै गएको बताए । बीउको महत्व बुझेका धेरै किसानले घरमा बीउ नराखेर सर्टिफाइड बीउ लगाउन थालेका छन्’ उनले भने ।


बीउको महत्व किसानले बुझ्दै गएपछि कृषि सहकारी र कम्पनीलाई पनि बीज वृद्धि गर्न दिने नीति सरकारले ल्यायो । अहिले विभिन्न जिल्लामा बीज वृद्धिका लागि सहकारी र बीउ कम्पनी खुल्दै गएका छन् । स्थानीयस्तरमा बीउ उत्पादन हुन थालेपछि भारतबाट बीउ ल्याउने क्रम कम हुँदै गएको कृषि शाखा प्रमुख गुप्ताले बताए । उनले भने, ‘हाइब्रिड जातका न्यून परिमाणमा बीउ ल्याउँछन् । अरू त यतैको लगाउँछन् ।’

प्रकाशित : कार्तिक १७, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?