एउटा बूढो सहरको कथा

आगलागीदेखि भीमदत्तको नुन काण्डसम्म
भवानी भट्ट

कञ्चनपुर — ब्रह्मदेव भन्ने बित्तिक्कै धेरैले किसान नेता भीमदत्त पन्तको नुन काण्ड सम्झिन्छन् । कतिपयले विवादास्पद महाकाली सन्धिलाई पनि सम्झिन्छन् । यी इतिहास र वास्तविकतासँगै जोडिएको छ ब्रह्मदेव मण्डी ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मा रहेको ब्रह्मदेव बजार । ब्रह्मदेवमण्डी अहिलेको बजारभन्दा १ किलोमिटर उत्तरतिर थियो । तस्बिर : भवानी/कान्तिपुर

कुनै जमानामा सुदूरपश्चिमको प्रमुख व्यापारिक नाकाका रूपमा चिनिने ब्रह्मदेव मण्डी हाल आएर ओझेलमा परेको छ ।


परापूर्व कालमा सूर्यवंशीय राजा ब्रह्मदेवले शासन गरेकाले उनकै नामबाट यसको नामाकरण गरेको पाइन्छ । ब्रह्मदेव मण्डी स्थापना र पुनस्र्थापनाका आफ्नै कथा छन् । १९८६ मा ब्रह्मदेवघाट खोल्ने सहमतिपछि बजार पनि विस्तार भएको हो । त्यसअिघ यो बजार ५ किलोमिटर उत्तरको खल्लामा थियो । भूकम्प, बाढीपहिरो आदिका कारण बजारमा क्षति भएपछि ब्रह्मदेवमा सारिएको हो । ‘अहिले पनि खल्लामा मण्डीका भग्नावशेष र झोपडपट्टीहरू सहजै देख्न सकिन्छ’ ब्रह्मदेव बजार र सिद्धनाथ मन्दिरबारेका खोज अनुसन्धान गरेका खगराज ८० वर्षीय चटौतले भने, ‘खल्लाकै बजारमा ठूलो आगलागी पनि भयो ।’ खल्लाको मण्डीको इतिहास १९६३ सम्मको देखिन्छ ।

Citizen


उक्त मण्डीमा आगलागीसँग एउटा रोचक घटना पनि जोडिएको छ । हरेक वर्ष होलीमा मण्डीमा आगलागी हुन्थ्यो । १९८० तिर मण्डीमा ठूलो आगलागी भयो । आगलागी नियन्त्रणका केन्द्रमा पत्राचार भयो । केन्द्रबाट ६ महिनापछि पत्र आयो । मण्डी नजिकै महाकाली नदी छ, त्यही नदीबाट पानी ल्याएर आगालागी नियन्त्रण गर्नु । यो अहिले पनि बुढापाकाको जिब्रोमै झुन्डिएको छ ।


आगलागी र भूकम्पका कारण खल्लादेखि ब्रह्मदेवमा सारिएको बजार त्यतिबेलाको चलनचल्तीको थियो । हालको सुदूरपश्चिम र कर्णालीका बासिन्दाको मुख्य बजार यही थियो । सीमावर्ती बजार टनकपुरबाट मण्डीमा ल्याइएको नुनतेल, खाद्यान्न, चिनी, गुड र लुगाकपडालगायत भेडा, च्यांग्रा र घोडा खच्चर प्रयोग गरी पहाडी जिल्लातर्फ लगिन्थ्यो ।


‘भोटेहरूले गाउँगाउँ पुगेर नाउ पुकार्दै सामान आएको जानकारी गराउँथे’ लामो समयदेखि ब्रह्मदेवमा व्यापार व्यवसाय गर्दै आएका वीरबहादुर खड्काले भने, ‘ब्रह्मदेवबाटै कसकसको सामान हो नाम टिपेर भेंडा च्यांग्रामा लगिन्थ्यो ।’ त्यतिबेला ब्रह्मदेवमण्डीलाई भट्ट बजार पनि भनिन्थ्यो । सिमलको रूखमुनिको बजार भएकाले सिमलघाट पनि भनिन्थ्यो ।


पुरानो मण्डी भएको ठाउँ टुँडिखेलमा भेंडा च्यांग्रा र खच्चरहरू राख्ने अड्डा थियो । भोटेहरू राति बास पनि त्यही बस्थे । टुँडिखेलमा ५२ कोठे गोदाम र होटेलहरू पनि थिए । त्यही खानपिन गर्ने र मण्डीमा आएर मालसामान लोड गरेर पहाडी जिल्लातर्फ लगिन्थ्यो । ‘त्यतिबेलाको प्रशासनिक अड्डा बेलौरी थियो भने व्यापारिक अड्डा ब्रह्मदेव थियो’ चटौतले भने, ‘ब्रह्मदेवमण्डी सुदूरपश्चिम र कर्णालीकै व्यापारिक केन्द्र थियो ।’


महाकालीमा डुंगाको माध्यमबाट मालसामान ब्रह्मदेव पुर्‍याइन्थ्यो । चटौतका अनुसार कुमाउका रौसवालहरूले डुंगा चलाउने ठेक्का लिन्थे । त्यसैगरी मण्डीको पनि ठेक्का लाग्थ्यो । मण्डीमा पनि कुमाउ, काशीपुर र फरुखावाद लगायतका ठाउँका व्यापारीहरू व्यवसाय गर्थे । त्यतिबेला टनकपुर बजार विस्तार भइसकेको थिएन । मण्डीका व्यापारीहरूले काशीपुरबाट मालसामान ल्याउने गर्थे । टनकपुरसम्म मालवाहक गाडी आउँथे । त्यहाँबाट डुंगामा तारेर वारि ल्याइन्थ्यो । टनकपुरसम्म काठ ओसार्ने गाडीहरू पनि पुग्थे ।


२०१६ मा तत्कालीन घुसुडी भनिने ठाउँलाई महेन्द्रनगर नामाकरण गरी योजनाबद्ध रूपमा महेन्द्रनगर बजार विस्तार गरियो । ब्रह्मदेवमा रहेका काशीपुर, कुमाउ र फारुखावादका भारतीय व्यापारीहरूलाई महेन्द्रनगरमा व्यापार व्यवसाय गर्न जमिन उपलब्ध गराएपछि ब्रह्मदेव बजार महेन्द्रनगर सारिएको चटौतले बताए । भीमदत्त पन्तको नुनकाण्ड पनि २००८ मा भएको हो । उनले पहाडबाट मालसामान किन्न आएकाहरूलाई दुख दिने कर्मचारीहरूलाई बोरामा हालेर नदीमा फालेका थिए । पन्तले सर्वसाधारणलाई व्यापारीहरूको गोदामबाट बिना शुल्क चाहिएजति सामान लुट्न लगाएका थिए ।


भीमदत्त नगरपालिका–९ मा रहेको अहिलेको ब्रह्मदेव बजार २०४५ पछि विकास भएको हो । उसो त २०२२ तिर यहाँ बसोबास सुरु भएपछि फाटफुट रूपमा पसलहरू पनि खुल्न थालेका थिए । २०४५ मा टनकपुर ब्यारेज निर्माण सुरु भएपछि बजार पनि विस्तार भएको चटौत बताउँछन् । टनकपुर बजार पनि २००० का आसपास भएको चटौतद्वारा लिखित सिद्धनाथ महात्म्य भाग २ मा उल्लेख छ ।


त्यतिबेलाको ब्रह्मदेवमण्डी र अहिलेको ब्रह्मदेव बजार व्यापार व्यवसाय र भीडभाडका हिसाबले धेरै फरक छ । त्यतिबेला भारतबाट आयात भएका दैनिक उपभोग्य सामग्री नेपालीहरूले खरिद गरेर लैजान्थ्ये । वर्षभरि चाहिने नुनतेल खाद्यान्न यहीबाट लगिने गरिन्थ्यो । व्यापारीहरूले पनि यहींबाट थोकमा मालसामान लैजान्थे । ‘१५/२० दिनदेखि महिना दिन लगाएर यहाँबाट पहाडतिर मालसामान ढुवानी हुन्थ्यो’ सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका खड्काले भने, ‘तर अहिले चाइनिज सामान खरिद गर्न यहाँको बजारमा भारतीय आउँछन् ।’


केही वर्ष अघिसम्म भारतमा चाइनिज सामान पाइँदैनथ्यो । ब्रह्मदेव बजार विद्युतीय सामग्री, खेलौना, लुगाकपडा आदिका लागि प्रचलित थियो । जब भारतमै चाइनिज सामान पाइन थाल्यो यहाँको बजार पनि सेलायो । अहिले पूर्णगिरी मेला लागेका बेला ३ महिना मात्रै धेरथोर व्यापार हुने गरेको छ । बाँकी ९ महिना सुनसान हुने गरेको व्यवसायी मोहनदेव पन्त बताउँछन् ।

प्रकाशित : कार्तिक १७, २०७५ ०९:४१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बेपत्ता सासुु र बुहारी मृत फेला

रासस

बैतडी — बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् । दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साैगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए । 

बुधवार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासु पार्वती खोजतलास गर्न जाँदा उनी पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सासु पार्वती शुक्रबार स्थानीय झल्कोट जङ्गलमा झुन्डिएको अवस्थामा फेला पारेकाे र बुहारी निर्मला बिहीबार स्थानीय ओडीगाँउ जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला पारेका थिए । घटना रहस्यमय रहेकाले थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक १७, २०७५ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT