कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा नागरिकता लिने बढे

कान्तिपुर संवाददाता

दार्चुला — जिल्लामा पछिल्लो समय नागरिकता लिनेको संख्या बढेको छ । पछिल्ला ५ वर्षमा नागरिकता प्राप्त गर्नेको संख्या तेब्बरले वृद्धि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दार्चुलामा नागरिकता लिने बढे

कार्यालयका अनुसार आव ०७०/७१ मा १ हजार १ सय ६७ जनाले नागरिकता दिएकामा गत आव ०७४/७५ मा ३ हजार ३ सय ९४ पुगेको छ । ०७१/७२ मा नागरिकता प्राप्त गर्नेको संख्या २ हजार १ सय ८० छ । आव ०७२/७३ मा २ हजार ६ सय ७ जना र ०७३/७४ मा २ हजार ८ सय ९६ जनाले नागरिकता बनाएको कार्यालयले जनाएको छ । आव ०७३/७४ सम्म नागरिकता बनाउनेको संख्या दोब्बर रहेको थियो भने गत तेब्बरले वृद्धि भएको तथ्यांकले देखाएको छ ।


‘पछिल्लो समय माध्यमिक तहको शिक्षा उत्तीर्ण गर्नेबित्तिकै नेपाली नागरिकताको प्रमाणपत्र बनाउने गर्छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर कुँवरले भने, ‘सरकारी निकायबाट सेवासुविधा प्राप्त गर्न र प्राविधिक शिक्षा अध्ययनका लागि नागरिकता अनिवार्य गरेको छ ।’ अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति र अन्य सुविधा प्राप्त गर्न नागरिकता आवश्यक पर्ने भएकाले लिनेको संख्या बढेको उनको भनाइ छ ।


नागरिकता लिनेमा महिलाभन्दा पुरुषको संख्या बढी छ । कुनै निकायमा नागरिकता पेस गर्नुपर्ने आवश्यक भए मात्र महिलाहरूले नागरिकता बनाउने गर्छन् । सहायक प्रजिअ कुवरका अनुसार अन्य बेला प्रयोगमा नआउने भएकाले पुरुषको तुलनामा थोरै महिलाले मात्र नागरिकता बनाउँछन् । सामाजिक सुरक्षा कार्यक्रमले पनि नागरिकता लिनेको संख्या बढेको छ । पछिल्लो समय स्थानीय सरकारहरूले सामाजिक सुरक्षा भत्ता पाउने सबै नागरिकको नागरिकतासहितको विवरण मागेपछि धेरै ज्येष्ठ नागरिकले नागरिकता बनाउने गरेको नागरिकता फाँटका नायब सुब्बा सतिस साहले बताए ।


नागरिकता प्राप्त गर्नेमध्ये अधिकांशले वंशजका आधारमा पाएका छन् । भारतीय महिलासँग विवाह गरेपछि ती महिलाले वैवाहिक अंगीकृत नागरिकता बनाउनुपर्ने प्रावधान छ । आव ०७०/७१ मा ९ जनाले वैवाहिक अंगीकृत नागरिकता पाएका छन् । ०७१/७२ मा २५ जना, ०७२/७३ मा २१ जना र ०७३/७४ मा २२ जनाले वैवाहिक अंगीकृत नागरिकता पाएका छन् । गत आव ०७४/७५ मा २४ जनाले वैवाहिक अंगीकृत नागरिकता बनाइएको साहले जानकारी दिए ।


त्यस्तै यस अवधिमा नागरिकता प्राप्त गर्नेको संख्यामा वृद्धि भए पनि प्रतिलिपि लिनेको संख्या घटेको छ । अघिल्लो वर्षको भन्दा गत आवमा नागरिकताको प्रतिलिपिको संख्या करिब ४ सयले घटेको सहायक प्रजिअ कँुवरले जानकारी दिए । कार्यालयको अभिलेखअनुसार नागरिकताको प्रतिलिपि लिनेको संख्या घटेको छ । आव ०७३/७४ मा १ हजार ६ सय ३९ जनाले प्रतिलिपि बनाएकामा गत आवमा १ हजार २ सय ४८ जनाले प्रतिलिपि लिएका छन् ।


कार्यालयले जिल्लाभर १ लाखभन्दा बढी नागरिकता वितरण गरिसकेको छ । २०७५ वैशाखसम्मको अभिलेखअनुसार जिल्लाभर वंशजका आधारमा १ लाख १ हजार ९० नागरिकता वितरण भएका छन् । वैवाहिक अंगीकृतका आधारमा हालसम्म ६ सय ९० नागरिकता वितरण गरिएका छन् भने जन्मसिद्धका आधारमा ३५ नागरिकता दिइएका छन् । अंगीकृत नागरिकता ७ सय ९ जनालाई दिइएको छ ।

प्रकाशित : कार्तिक २५, २०७५ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?