कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रसायनिक छाडेर प्रा‌ंगारिकतर्फ

वसन्तप्रताप सिंह

बझाङ — कुनै बेला उत्पादन हातै बढ्ने हल्लाका कारण परम्परागत प्रांगारिक र गोठेमल छोडेर रासायनिक मल र विषादीको प्रयोग गर्न थालेका बझाङका ग्रामीण किसानहरू पुन: जैविक खेती प्रणालीतर्फ फर्किन थालेका छन् । 

रसायनिक छाडेर प्रा‌ंगारिकतर्फ

जग्गाको गुणस्तर बिग्रिन थालेपछि ग्रामीण किसानमा रासायनिक मलप्रतिको मोह घट्न थालेको हो । ‘विकासे मल हालेको पहिलो वर्ष त राम्रै उत्पादन भयो,’ जयपृथ्वी नगरपालिका १ कैलाशका राजेन्द्र सिंहले भने, ‘पछिल्लो वर्षदेखि त माटो नै ढुङगा जस्तो साह्रो भयो । खनजोत गर्नै नसकिने भयो’ एक पटक रासायनिक मल प्रयोग गरेको जमिन पहिलाकै अवस्थामा फर्काउन २/३ वर्ष लागेको बताउने

उनले आफ्नो खेतमा रासायनिक मल नफापेको बताए ।


हल्लाका आधारमा सुरुवातमा आफ्नो गाउँका धेरै किसानले रासायनिक मल र विषादीको प्रयोग गरे पनि यसले माटो बिगार्न थालेपछि अचेल सबैले गोठे मल नै प्रयोग गर्न थालेको मष्टा गाउँपालिका कोटदेवलका नवराज बोहराले बताए । उनले भने ‘रासायनिक मल हालेको अन्नको स्वाद पनि गतिलो नहुने माटो पनि बिग्रन थालेपछि आजभोलि सबैले गोठे मल नै प्रयोग गर्छन्,’ गोठेमल प्रयोग गर्दा

माटो नबिग्रने र खेतीपाती गर्न सजिलो हुने भएकाले आफ्नो गाउँका किसान पुन: प्राङगारिक खेतीतर्फ फर्किएको उनले बताए ।


‘बझाङका अधिकांश ग्रामीण क्षेत्रमा रासायनिक मल कहिल्यै पनि प्रयोग भएको छैन,’ छविस पाथिभेरा गाउँपालिकाको कृषि शाखा प्रमुख मदनराज जोशी भन्छन्, ‘सदरमुकाम नजिक र सेती किनाराका गाउँमा रासायनिक मल प्रयोग भैरहेको थियो । यो पनि वर्षेनी घटो क्रममा छ,’ सुरुमा किसानको रासायनिक मलप्रतिको आकर्षण बढे पनि अहिले यो धेरै घटिसकेको उनले बताए । जिल्लाका ८० प्रतिशतभन्दा बढी किसानले अहिले प्राङगारिक र गोठेमल नै प्रयोग गरिहेको जोशीको भनाइ छ ।


रासायनिक मल प्रयोग गर्दा कोसेबाली हलक्क बढे पनि फल नलाग्ने, माटोमा हावाको मात्रा कम हुने भएका कारण खनजोत गर्न गाह्रो हुने र बिस्तारै माटामा अम्लीयपना बढ्न गई जमिनको उत्पादकत्व घटदै जाने भएकाले किसान गोठेमलमा आकर्षित भएको कृषि प्राविधिक बताउँछन् ।


प्राय: सबै किसानले अनिवार्य रूपमा पशुपालन गर्ने र जंगलमा प्रशस्त पाइने स्याउला र पशुबस्तुको मलमुत्रबाट सजिलै गोठेमल बनाउन सकिने र यसको प्रयोगले जमिनलाई फाइदा गर्ने भएकाले आफ्नो गाउँमा कसैले पनि रासायनिक मल प्रयोग नगर्ने गरेको बुङ्गल नगरपालिकाको कफलसेरीका मानबहादुर बोहराले बताए ।


यस्तै रासायनिक विषादीहले पनि जनस्वास्थ्य र वातावरण असर पर्न थालेपछि यहाँका किसानले जैविक विषादी प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् । विषादी छर्दा छाला चिलाउने, रिङगटा लाग्ने जस्ता समस्या देखिएपछि यसको साटो गाउँमै पाइने तितेपाती, टिमुर, सिस्नु आदिबाट जैविक विषादी बनाएर बालीमा लागेको रोगको उपचार गर्ने गरेको केदारस्यूँ गाउँपालिकाको बाँझका अगुवा किसान लालबहादुर मल्लले बताए । उनले भने, ‘मान्छेको स्वास्थ्यमा त असर परेकै थियो । घारका मौरी पनि मर्न थाले । त्यही भएर विषादी प्रयोग गर्न छोडिदियाैं ।’


किसानमा रासायनिक मल र विषादीप्रतिको आकर्षण घटदै गएको भए पनि गुणस्तरीय गोठेमल र प्राङगारिक मल बनाउने तरिकाको बारेमा जानकारी नभएका कारण भने जस्तो उत्पादन बढ्न नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख रामलाल जोशीको भनाइ छ ।


जैविक खेतीलाई प्रवद्र्धन गर्नका लागि कृषि ज्ञान केन्द्र प्राङगारिक मलमा अनुदान, गोठेमल सुधार र गोठ सुधारका कार्यक्रम सञ्चालन गरिरहेकाले यसबाट लाभ लिन चाहाने किसानले कार्यालयमा सम्पर्क गरे आफूहरूले सहयोग गर्ने उनको भनाइ छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?