कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहाडमा मेलाको रौनक

मोहन शाही

डोटी — केआईसिंह गाउँपालिका १ डुम्राकोटस्थित शेरामा मंगलबार भव्य जाँत (मेला) आयोजना गरियो । रातभर स्थानीय जाग्राम (रतेडी) बसेर दिउँसो मेलामा सहभागी भए । 

पछिल्ला दिनमा यहाँ आयोजना हुने जातमा देउडा खेलाउन बाहिरबाट व्यावसायिक कलाकारलाई समेत बोलाउने गरिएको वडा १ का वडाध्यक्ष कृष्णबहादुर बमले बताए । तिहार लगत्तै सुदूरपश्चिमका पहाडी जिल्लामा मेलाको रौनक बढ्न थालेको छ ।


कात्तिक प्रतिपदादेखि बर्सेनि देवी देउताको मन्दिरमा जातको अवसर पारी भव्य मेला लाग्छ । पूर्णिमाका दिनसम्म लाग्ने यस्ता मेलाले गाउँका कुना कन्दरा र उकाली ओरालीमा भिन्नै रौनक छाएको छ । मौलिक

वेशभूषा तथा बाजागाजाका साथ मनाइने यस्ता परम्पराले यहाँको संस्कृति जोगाउनुका साथै मौलिकतालाई झल्काउने गरेको छ ।


आफ्ना इष्टकुल देवीदेउता पुज्न विभिन्न जातजाति तथा क्षेत्रका बासिन्दा सांस्कृतिक परम्परासहित मेलामा सहभागी हुन थालेका छन् । यहाँका बासिन्दाले गौरापछिको ठूलो पर्वका रूपमा स्थानीय जातलाई मान्दै आएका छन् । रातभर देउडा खेलिन्छ । यस्ता मेलामा अस्थायी बजारको स्थापना गरेर व्यापारिक कारोबार पनि हुने गरेको छ ।


डोटीमा मात्रै ३ सयभन्दा बढी ठाउँमा जात हुने गरेको स्थानीय केशवराज ओझा बताउँछन् । वृद्धवृद्धा यतिबेला आफ्ना कुल देउवताको महिमा बारे चर्चा गर्ने, प्रशंसा गर्ने, खुसी पार्न अनेक पूजा आराधना गर्ने गर्छन् । डोटीमा विशेषगरी, बेताल, मोहन्याल, सुकाटी, बडीकेदार, तेडी लगायतका देवता शक्तिशाली मानिन्छन् । यी देवता पुजेपछि मात्रै अन्य देवीदेवताहरूको पूजा गर्ने चलन रहेको शिक्षक गौरी बमले बताए ।


सबै जातिका आफ्नै कुल देवता हुन्छन् । तिनका छुट्टै धामीझाक्री, भराण, पुजारी समेत तोकिएका हुन्छन् । मेलाका दिन नाँच्दै काम्दै आफ्नो देउताको गाँजलाई स्थानीयहरूले निश्चित ठाउँमा प्रतिस्थापन गर्दछन् । ‘देउता पुज्ने अघिल्लो रात नाचगान गरी जाग्राम बसिन्छ,’ शिक्षक बमले भने, ‘दोस्रो दिन गाँज नचाएर देउता पुज्ने गरिन्छ ।’


विशेष गरी शिवका अवतार मानिने दुत्यधारी देउता तथा भगवतीको अवतार मानिने रग्तभोगी देवीको यतिबेला पूजा गर्ने परम्परा छ । दुत्यधारी देउतालाई दूध चढाएर पूजा गर्ने चलन छ भने रग्तभोगी देवीको पूजा गर्नेहरूले बली दिएर पूजा गर्छन् ।


यतिबेला अधिकांश ठाउँमा दुत्यधारी देउताको पूजा भइरहेको छ । ‘यो परापूर्व कालदेखिकै परम्परा हो,’ मुडभरा डोटीका साहित्यकार पदमराज जोशीले भने, ‘कुल देउता एउटै भए पनि फरक समुदाय तथा जातिका आफ्नै स्थानीय देउता हुने भएकाले यहाँ फरक फरक मेला लाग्ने गर्छ ।’ उनका अनुसार वैशाख शुक्ल, भाद्र शुक्ल र कार्तिक शुक्लमा देउता पुजिने भए पनि कार्तिक शुक्लमा हुने पूजालाई बढी महत्व दिइन्छ ।


डोटीको बड्डीकेदार तथा रानागाउँको ब्वार, दिपायल, सिलगढी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, अछामको वैद्यनाथमा भव्य जात लाग्ने गर्दछन् । यी जातहरूमा भारतीय श्रद्धालुहरूसमेत पूजा गर्नका लागि आउने गरेका भेटिन्छन् । यहाँका देउतालाई साक्षी राखेर वर माग्नेहरूले भाकल पूरा गर्न जातका बेला आउने गरेको स्थानीय बताउँछन् । जातका बेला प्रदेश गएकाहरू पनि घर आउने चलन छ ।

‘हरेक गाउँमा बर्सेनि हुने यस्ता साना ठूला मेलाको आयोजनाले सुदूरपश्चिम मेलामय भएको छ,’ डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक खड्काले भने, ‘यसलाई अझ व्यवस्थित गर्न सके व्यापार राम्रो हुन्छ ।’ कुल देउता पुज्न टाढा टाढाबाट आउनेहरू भाकल गरे अनुसार दान दक्षिणा गर्ने होडमा यतिबेला धार्मिक आस्थाका साथ लाग्ने गरेका भेटिन्छन् ।


मेलामा सहभागी हुन तराईका जिल्लाहरूबाट ओइरो लागेकाले यहाँका सवारी साधनहरूलाई भ्याइ नभ्याइ छ । मेलामा स्थानीय बिदा दिइने भएकाले कर्मचारी, विद्यार्थी लगायत जागिरेहरू पनि जातमा खुलेर आनन्द लिइरहेका हुन्छन् । माहोल मेलामय भएको छ ।

प्रकाशित : कार्तिक २९, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?