कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोर्ड छ, सेवा छैन

डीआर पन्त

डडेलधुरा — सुदूरपश्चिममा रहेको एकमात्र उपक्षेत्रीय अस्पताल लथालिंग अवस्थामा पुगेको छ । आधा शताब्दी अघिदेखि सेवा दिइरहेको टिम र जिल्ला अस्पताललाई गाभेर बनाइएको उपक्षेत्रीय अस्पताल स्थापना भएको ६ वर्ष बितिसक्दा पनि एक जना विशेषज्ञ चिकित्सकसमेत नहुँदा बिरामी मर्कामा पर्दै आएका छन् ।

स्थापनासँगै अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी सिर्जना गरियो । विशेषज्ञसहित ४२ जना चिकित्सकको दरबन्दी रहे पनि पछिल्लो समय एकजना पनि चिकित्सक छैनन् । सुदूरपश्चिमकै रेफरल अस्पतालको रूपमा विकास गर्ने लक्ष्यका साथ स्थापना गरिए पनि अहिलेसम्म दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामी मर्कामा पर्दै आएका छन् ।


अस्पतालमा हाडजोर्नी, रेडियोलोजी, बालरोग, स्त्रीरोग तथा प्रसूतीसम्बन्धी एक जना पनि विशेषज्ञ चिकित्सक नभएका हुन् । भवन निर्माण लगायत भौतिक पूर्वाधारमा करोडौं लगानी भए पनि अस्पतालमा सामान्य सेवासमेत नपाएको बिरामीको गुनासो छ ।


सामान्य उपचारका लागिसमेत धनगढी, नेपालगञ्ज वा सीमावर्ती भारतीय क्षेत्रका अस्पतालमा पुग्नुपर्ने अवस्था छ । ‘यो कस्तो उपक्षेत्रीय अस्पताल हो,’ हातमा चोट लागेर उपचार गर्न बैतडीबाट आएका रमेश धामीले भने, ‘नाम लेखाएर सामान्य जाँच गरेपछि धनगढी रिफर गरियो ।’


जिल्ला अस्पताल विकास समितिका पूर्व अध्यक्ष हेमराज चटौतले टिम अस्पतालमा उपक्षेत्रीयको बोर्ड

झुन्ड्याउने बाहेक अरू केही काम हुन नसकेको बताए । नागरिक समाज डडेलधुराका सचिव रमेश जोशीले पनि ६ वर्षदेखि उपक्षेत्रीयको साइनबोर्ड मात्र भएको तर भित्रको उपचार उपस्वास्थ्य चौकीको जस्तो पनि नभएको गुनासो गरे । ‘बीचका दुई वर्ष व्यवस्थापन समिति हुँदा अस्पताललाई व्यवस्थित गर्न गरिएका प्रयास पनि सार्थक हुन सकेका छैनन्,’ उनले भने ।


बिरामीलाई सामान्य उपचारका लागि पनि लामो र जोखिमपूर्ण पहाडी राजमार्ग छिचोलेर तराई पुग्नुपर्छ । सबैभन्दा बढी गर्भवती महिलाले सास्ती भोग्नुपरेको छ । लक्ष्मण सिंह अस्पताल व्यवस्थापन समिति अध्यक्ष भएपछि सुरु गरिएका सुधारका प्रयास पनि ६ महिनायता ठप्प भएको जोशीले बताए ।


अस्पताल व्यवस्थापन समिति गठनमा राजनीति सुरु भएपछि अस्पताल अलपत्र जस्तै भएको छ । ‘उपक्षेत्रीय अस्पताल बिरामीको नाम ठेगाना लेख्ने काममा मात्र सीमित भएको छ,’ स्वास्थ्यकर्मी संघका अध्यक्ष प्रेम महरले भने, ‘न त चिकित्सक छन्, न कुनै सेवा संचालनमा छन् । बोर्ड मात्र उपक्षेत्रीय अस्पतालको हो ।’ अरू सेवा जिल्ला अस्पतालको जस्तो पनि छैन । सरकारको चरम लापरबाहीका कारण ठूलो जनसंख्या प्राथमिक उपचार सेवाबाट समेत वञ्चित भएको उनले बताए ।


‘सरकारले घोषणा मात्र गर्‍यो,’ महरले भने, ‘आवश्यक दरबन्दी, बजेट र पूर्वाधार विकासमा कुनै चासो राखेको छैन ।’ पछिल्लो समय अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सक छैनन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जितेन्द्र कंँडेल पनि दरबन्दी अनुसार विशेषज्ञ नहुँदा उपचार सेवा प्रभावकारी हुन नसकेको बताउँछन् । डा. कंँडेलले भने, ‘भएका विशेषज्ञहरूलाई पनि विशेष सेवा सुविधा दिएर सरकारले खटाउन नसकेका कारण समस्या भएको छ ।’


विगतमा गठन भएको अस्पताल व्यवस्थापन समिति विघटन गरेको लामो समय बितिसक्दा पनि अर्को समिति गठन हुन नसक्दा अस्पताल सुधारका धेरै काम अगाडि बढ्न नसकेको अस्पतालका कर्मचारीले बताएका छन् । अस्पतालका एकजना पुराना कर्मचारी भन्छन्, ‘उपक्षेत्रीय अस्पतालले अञ्चल अस्पताललाई रिफर गर्नुपर्ने बाध्यता छ ।’


टिम अस्पताल हुँदा दैनिक ३ सयदेखि ५ सय बिरामी उपचारका लागि आउने यो अस्पतालमा अहिले दैनिक सय जना बिरामीसमेत आउन छोडेका छन् । उपचार नै नहुने भएपछि बिस्तारै अस्पतालमा आउने बिरामीको चाप घटेको हो ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?