कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मभूमिबाट बिदाइ हुँदा चिकित्सक भावुक

भवानी भट्ट

कञ्चनपुर — महाकाली अञ्चल अस्पताल डाक्टरको अभावमा सामान्य किसिमका सेवासमेत दिन नसक्ने अवस्थामा छ । यहाँ आउने चिकित्सक तथा विशेषज्ञ डाक्टरहरू प्राय: अस्पताल प्रशासन र स्थानीयको व्यवहारले निराश भएर फर्किन्छन् । 

कर्मभूमिबाट बिदाइ हुँदा चिकित्सक भावुक

बिहीबार नागरिक सरोकार समूहले नयाँ तथा पुराना डाक्टरलाई सम्मानित गर्दा बेग्लै माहोल बन्यो । सम्मानित हुँदा नयाँ आएका र बिदाइ भएका डाक्टरहरू भावुक बने ।


दुई दशकसम्म महाकाली अञ्चल अस्पतालमा सेवा गरेर १० वर्षअघि यहाँबाट सरुवा भएका डा. सुभेषराज कायस्थ, २२ वर्ष सेवा गरेर हालै बिदा भएका डा. राम बिहारी चौधरीसहित यहाँ कार्यरत अन्य डाक्टरहरू सम्मानित भएका थिए । सम्मानित हुँदा यहाँबाट बिदाइ भई गएका डाक्टरहरूले यो क्षेत्रको स्वास्थ्य सेवामा लागिरहने प्रतिबद्धता जनाए ।


‘यो दुई दशक बढी समयसम्म सेवा गरेको कर्मभूमि हो, जन्मभूमिभन्दा बढी यहाँकै माया छ,’ अढाई वर्षअघि वीर अस्पतालको स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा निवृत्त प्राध्यापक डा. कायस्थले भने, ‘सेवा निवृत्त भएपछि देशका विभिन्न ठाउँबाट अनेक अवसरहरू आएका छन्, तर म ती अवसरका पछि लाग्दिनँ, जे गरे पनि यहींका जनताका लागि गर्छु ।’ उनले कर्मभूमिको मायाले यो ठाउँ छाड्नै नसकिने बताए ।


डा. कायस्थले २०४६ देखि महाकाली अञ्चल अस्पतालमा २० वर्ष सेवा प्रदान गरेका थिए । छाती रोग विशेषज्ञ कायस्थ धनगढी सरुवा भएपछि पनि यहाँका बासिन्दा त्यहीं गएर सेवा लिन्थे । सम्मानित भएका अर्का डाक्टर चौधरीले २२ वर्ष महाकाली अञ्चल अस्पतालमै सेवा गरेकाले यो ठाउँ बिरानो नभएको बताए ।


अञ्चल अस्पताल विकास समितिका तर्फबाट भर्ना गरिएका उनी हालै यहाँबाट बिदा भएका हुन् । ‘यहाँका जनताले मलाई सम्झिए त्यसका लागि धन्यवाद’ उनले भने, ‘फेरि पनि यस क्षेत्रमा सेवा गर्ने अवसर पाए म तयार रहनेछु ।’


नागरिक सरोकार समूहले नयाँ आउने र यहाँबाट सरुवा भएर जाने डाक्टरहरूलाई सम्मानित गर्ने परम्परा सुरु गरेको हो । बिहीबार एक कार्यक्रमको आयोजना गरी अस्पतालमा कार्यरत नयाँ तथा पुराना डाक्टरहरूलाई सम्मानित गरेको हो । थप डाक्टरहरू ल्याउन यहींको वातावरण सुधार हुनुपर्ने भन्दै यो अभियान सुरु गरिएको नागरिक सरोकार समूहका उत्तम विष्टले बताए ।


कार्यक्रममा डा. कायस्थले यस क्षेत्रका स्वास्थ्य सेवाको सम्भावना र चुनौती विषयक कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । यस क्षेत्रमा सम्भावना धेरै भए पनि पछौटेपन, इच्छाशक्तिका अभावका कारण जनशक्तिको विकास हुन नसकेको बताए ।


‘मेडिकल कलेज नभएको एक मात्र प्रदेश सुदूरपश्चिम हो,’ उनले भने, ‘यहाँ स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि छैन, तर हामीहरू मेडिकल कलेज कि स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर अल्झिएका छौं ।’ उनले सुदूरपश्चिममा मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान दुवै आवश्यक रहेको बताए ।

प्रकाशित : मंसिर १, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?