कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मदिराले बढायो महिला हिंसा’

मेनुका ढुंगाना

अछाम — यहाँका महिलाले मदिरा सेवनकै कारण हिंसा बढेको गुनासो गरेका छन् । लैंगिकतामा आधारित हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा उनीहरूले खुसी लुटिने मुख्य कारण मदिरा नै भएको बताए ।

‘जड्याँहा श्रीमान्का कारण २ छोरी च्यापेर दु:ख सहेरै बसेकी थिए । अन्तमा मैमाथि अनेक शंका गरेपछि भागेर माइतीको सहारामा आएँ,’ एक हिंसापीडित महिलाले भनिन् ।


अहिले ती महिला अरूको घरमा काम गरेर छोरीलाई पढाउन माइतीमै बसेकी छन् । मदिराकै कारण हिंसा र यातना सहेकी तथा बिचल्लीमा परेकी उनी अछामकी एक प्रतिनिधि पात्र मात्र हुन् ।


टोलटोलसम्मै मदिराको बिगबिगी भएकाले महिला हिंसाका घट्नासमेत बढ्दै गएको मंगलसैन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताए । ‘निर्वाचित भएर आइसकेपछि पहिलो पटक नै मदिरा व्यवस्थापन गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘हालसम्म कार्यान्वयन गर्न सकिएको छैन ।’

महिला हिंसा अन्त्य, महिनावारी व्यवस्थापन, दलित महिलाका लागि तालिम लगायत लक्षित वर्गका लागि विभिन्न शीर्षकमा ८९ लाख बजेट छुट्याएको उनले बताए ।


सोमबार मंगलसैनमा भएको बहस कार्यक्रममा अछाममा मदिराको बिगबिगीका कारण महिला हिंसाका घटनाहरू बढ्दै गइरहेको सहभागीहरूले बताए । पुरुषले अत्यधिक मदिरा सेवन गरी महिलालाई घरेलु हिंसा गर्ने र त्यस्ता घटना पछिल्लो समय बढ्दै गइरहेको प्रहरीको तथ्यांकले समेत देखाएको छ ।


२०६८ देखि खुलारूपमा मदिरा बिक्री वितरण हुन थालेपछि महिलामाथि हुने विभिन्न खाले हिंसामध्ये ७५ प्रतिशत घटना मदिराकै कारण हुने गरेको प्रहरीको तथ्यांक छ । प्रहरी तथ्यांकअनुसार आव ०७३/७४ मा महिला हिंसा सम्बन्धी २३ वटा उजुरी परे ।


०७४/७५ मा २५ र चालु आवको हालसम्म १० वटा उजुरी आएका छन् । यीमध्ये धेरै उजुरी मदिरा सेवनले निम्त्याएको डिएसपी जनकबहादुर शाहीले बताए । मंगलसैन नगरपालिकाको स्थानीय न्यायिक समितिमा आर्थिक वर्ष ०७४/७५ मा ८ वटा र चालु आवमा ८ वटा उजुरी आएको नगरपालिकाले जनाएको छ ।


ग्रामीण क्षेत्रका सयौं महिला मदिराका कारण हिंसा भोग्न बाध्य रहेको महिला अधिकारकर्मी मना अधिकारीले बताइन् । ‘हत्या, बलात्कार, सम्बन्धविच्छेददेखि लिएर दैनिक हुने गरेका कुटपिटका घटनाका पछाडिको कारण अधिकांशमा रक्सी नै देखिन्छ,’ उनले भनिन् ।

प्रकाशित : मंसिर २५, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?