कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानी–जमरा आयोजना निर्माणमा अवरोध

गणेश चौधरी

टीकापुर — राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको काम रोकिएको छ । टीकापुर नगरपालिकाको धनसिहपुरमा तटबन्ध निर्माण गर्दा आफूहरूको जग्गा मासिएको भन्दै १७ जनाले 
क्षतिपूर्ति मागेपछि निर्माण कार्य अवरुद्ध भएको हो । 

रानी–जमरा आयोजना निर्माणमा अवरोध

स्थानीयले विश्व बैंकमा जाहेरी गरेपछि दोस्रो चरणमा हुने शाखा कुलोको मर्मत–सम्भारका लागि रकम निकासा दिएको छैन । तटबन्धका कारण करिब ५० बिघा जग्गा मासिएको स्थानीयको दाबी छ ।

विश्व बैंकले रकम नपठाएपछि रानी जमरा र कुलरिया कुलाको शाखा कुलाको काम सुरु हुन नसकेको रानी, जमरा र कुलरिया कुलो सिँचाइ उपभोक्ता समितिका सचिव प्रशुराम चौधरीले बताए । ‘विश्व बैंकले १७ जनासितको सहमति नपठाएसम्म रकम निकासा नदिने भनिरहेको छ,’ उनले भने, ‘सिँचाइ आयोजनाले पानी बगेको छेउमा तटबन्ध गरेको छ । तटबन्ध बनाउँदा कसैले केही अवरोध गरेनन् । बनिसकेपछि अवरोध गरिरहेका छन् ।’

सहमतिका लागि स्थानीय राजनीतिक दलका नेता, सिँचाइ आयोजनाका अधिकारी र आवेदकसित छलफल गरे पनि सहमतिमा पुग्न नसकेको उनले बताए । दोस्रो चरणको कामका लागि रकम नहुँदा दोस्रो चरणको कामका लागि टेन्डर आह्वान गरेको छैन । दोस्रो चरणमा किसानको खेतसम्म जाने शाखा कुलो व्यवस्थित गरिने योजना थियो ।

तटबन्धका कारण पीडित भएको भनी निवेदन दिनेहरूले आफूहरू कर्णालीको बाढीका कारण पटक–पटक पीडित बनेको र धनसिंहपुरका अधिकांशले तत्कालीन टीकापुर विकास समितिबाट घडेरी पाए पनि आफूहरू त्यसबाट वञ्चित रहेको बताएका छन । अहिले सिँचाइ आयोजनाले तटबन्ध बनाउँदा झन् पीडित भएको उल्लेख गरेका छन् ।

मासिएको जग्गाको क्षतिपूर्तिका लागि उनीहरूले जिल्ला प्रशासन कार्यालय, रानी जमरा कुलरिया सिँचाइ कार्यालय, टीकापुर नगरपालिकामा निवेदन दिनुका साथै अपिल पनि प्रकाशन गरेका छन् । रानी, जमरा, कुलरिया कुलोको शाखा कुलो नबनेसम्म नहर बनाएको औचित्य नहुने जमरा कुलो जल उपभोक्ता समितिका अध्यक्ष लालवीर चौधरीले बताए । उनले भने, ‘मूल नहरमा त पानी आउला तर किसानको खेतसम्म पानी पुग्दैन । १७ जनाका कारण पुरै आयोजना ध्वस्त हुने अव्स्था छ ।’

आयोजनाको लम्की क्षेत्रमा सिँचाइको लागि नहर विस्तारको काम भने जारी रहेको छ । किसानले परापूर्वकालदेखि देशावरमार्फत कुलो खनेर सिँचाइ गर्दै आएको क्षेत्रमा काम अघि बढन सकेको छैन । यो आयोजना सम्पन्न भएपछि कैलालीको पूर्वी क्षेत्रका करिब २० हजार ३ सय हेक्टर भन्दा बढी जमिनमा व्यवस्थित सिँचाइ हुनेछ ।

व्यवस्थित सिँचाइ नभएका कारण यहाँका किसानले प्रत्येक वर्ष करिब ४ महिनासम्म रानी जमरा र कुलरिया कुलोको मुहान खनेर वर्षे धानका लागि सिँचाइ व्यवस्था गर्ने गरेका थिए ।

रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको पहिलो चरणको काम करिब सम्पन्न भइसकेको र दोस्रो चरणको काम सुरु भएको आयोजना प्रमुख मधुकर रानाले बताए ।

उनले भने, ‘मूल नहरको काम करिब सकिएको छ । दोस्रो चरणमा किसानको खेतसम्म पानी जाने साना कुलाको व्यवस्थापन गर्ने काम हुन्छ ।’

उनका अनुसार विश्व बैंकमार्फत हुने पहिलो चरणको काम सकिएको छ । नेपाल सरकारको लगानीमा भइरहेको काम केही बाँकी छ । मूल इन्टेकबाट प्रतिसेकेन्ड करिब ८० घनमिटर पानी बग्ने र आयोजनाको पहिलो चरणको लागत करिब १३ अरब रहेको उनले बताए ।

कैलालीको पूर्वी क्षेत्रमा रहेका रानी जमरा र कुलरिया कुलामध्ये रानी कुलो सबभन्दा पुरानो कुलो हो । जमरा कुलो व्यवस्थापन समितिका अध्यक्ष लालवीर चौधरीका अनुसार रानी कुलो करिब १ सय २२ वर्ष पहिले रानी पदम कुमारी शाहले निर्माण गर्न लगाएकी हुन् । रानी पदम कुमारीकै नामबाट आजसम्म पनि यस कुलोलाई रानी कुलोको नामले चिनिन्छ ।

‘राणाकालमा सुवर्ण शमशेरको क्षेत्र थियो यो,’ जमरा कुलो जल उपभोक्ता समितिका अध्यक्ष लालवीरले भने, ‘बिर्ता क्षेत्र भएकाले बस्ती विस्तारका लागि दाङबाट थारू जातिलाई ल्याएर कुलो बनाउन लगाए ।’ लालवीरका अनुसार त्यतिखेर थारूलाई कुलो खन्न पठाउने र कुलो खनेबापत सुँगुर काटेर खुवाउने चलन थियो । अहिले रानी कुलोले यस क्षेत्रका करिब ४८ गाउँमा सिँचाइ सुविधा उपलब्ध गराएको छ ।

करिब १ सय १५ वर्षअघि निर्माण गरिएको अर्को महत्त्वपूर्ण कुलो जमरा सिँचाइ कुलो हो । यसको निर्माण कर्णेल ढुण्डीराज शाहीले गराएका हुन् । यस कुलोले ३८ गाउँलाई सिँचाइ सुविधा उपलब्ध गराएको छ ।

यस क्षेत्रमा रहेको अर्को कुलोको निर्माण स्थानीय किसान मधु महतो र कन्हैया महतोले करिब ८५ वर्ष पहिले निर्माण गर्न लगाएका हुन् । यो कुलोले करिब ३३ गाउँलाई सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ ।

प्रकाशित : मंसिर २६, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?