कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सौकाले बुन्न छाडे गलैंचा

स्थानीयस्तरमा उत्पादित गलैंचाले बजार नपाउँदा अहिले तान लगायतका सामग्री थन्काएका छन् ।

दार्चुला — तयारी गलैंचा बजारमा आउन थालेपछि स्थानीय गलैंचाको बजार खस्किएको छ । तयारीसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका बासिन्दाले गलैंचा बुन्न छाडेका छन् ।

सौकाले बुन्न छाडे गलैंचा

केही वर्षअघिसम्म यहाँका सौका समुदाय घरघरमा गलैंचा बुन्थे । स्थानीयस्तरमा उत्पादित गलैंचाले बजार नपाउँदा अहिले तान लगायतका सामग्री थन्काएका छन् । स्थानीय विशनसिंह बुढाथोकीले भने, ‘हाम्रो समुदायको परम्परागत पेसा संकटमा पर्‍यो । केही वर्षअघिसम्म सबैले घरघरमा गलैंचा बुनेको भेटिन्थ्यो । पछिल्लो समय केही सीमित व्यक्तिले मात्र बुनिरहेका छन् ।’

केही वर्षअघिसम्म जिल्ला सदरमुकामसम्म सडकको पहुँच थिएन । सडक बनेपछि ५/७ वर्षयता यहाँको बजार रेडिमेड गलैंचाले लिएको छ । ‘स्वदेशी बजारमा बिक्री गर्न नसकिए केहीले भारतीय बजारमा बेच्थे,’ तिंकर टोलका स्थानीय दानसिह तिंकरीले भने, ‘पछिल्ला २/३ वर्षयता भारतमा चिनियाँ रेडिमेल गलैंचा आउन थाले ।’

सौका समुदायका केही व्यक्ति आफ्नो घरका लागि मात्र गलैंचा बुन्दै आएका छन् । स्थानीयस्तरमा कच्चा पदार्थको अभाव छ । मेहनत बढी खर्चनुपर्ने हुँदा लगानी बढी पर्छ ।

लगानीअनुसार प्रतिफल प्राप्त नहुने भएकाले पेसा संकटमा परेको तिंकरीको बुझाइ छ । ‘लागत र परिश्रम बढी लाग्ने हुँदा आफ्नै लगानीमा गलैंचा उत्पादन गर्न सकिँदैन,’ उनले थपे, ‘यो परम्परागत पेसालाई जोगाउन इच्छुकलाई राज्यले अनुदान र कच्चा पदार्थ उपलब्ध गराएर लोप हुने अवस्थामा रहेको व्यवसायलाई जोगाउनुपर्छ ।’

तानमा गलैंचा, राडीपाखी, स्वीटर, टोपी लगायत न्यानो लुगा बुन्ने गर्छन् । हिमाली क्षेत्रमा बसोबास भएकाले यो समुदाय न्यानो लुगा लगाउँछन् । पहिला ऊनलाई कातेर धागो बनाउँथे । अहिले बजारमा ऊनी मिक्स धागो पाइने भएकाले गलैंचामा बजारी धागो प्रयोग गरिन्छ ।

वृद्धवृद्धा भएको घरमा तान बुन्ने परम्परा कायमै रहेको र अन्य घरमा भने देख्न छोडेको स्थानीय शिक्षक चमकसिंह तिंकरीले बताए । यो पेसामा युवा आकर्षण गर्न राज्यले सीप विकास र अनुदान दिएमा गलैंचा उद्योगको भविष्य राम्रो सक्ने उनको भनाइ छ ।

खलंगास्थित तिंकर खेडामा आफ्नै घरमा माया तिंकरीले घरको काम बाहेकको समयमा तान बुनिरहन्छिन् । घरको खर्च धान्नुभन्दा पनि आफ्नो समुदायको परम्परागत पेसालाई जोगाउन तान बुन्ने गरेको बताइन् ।

यहाँ उत्पादित गलैंचा देशभर नै प्रख्यात मानिए पनि राज्यले यसमा लगानीसँगै उद्यम गर्नेलाई नयाँ–नयाँ डिजाइनको तालिमको खाँचो छ । बाहिरबाट जिल्ला आउने पाहुना यहाँको गलैंचा उपहारका रूपमा लान्छन् । स्वदेशमा कच्चा पदार्थ नपाइने भएकाले भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको मायाले सुनाइन् ।

घरमा खाली बस्नुभन्दा समयको सदुपयोग हुने र आफ्नो समुदायको सदियौंदेखिको पेसाको पनि जगेर्ना हुने उनले बताइन् । समय परिवर्तनसँगै मिहिनेत र लगानीअनुसारको तान बुनाइबाट प्रतिफल प्राप्त नहुँदा बिस्तारै गलैंचा बुन्ने काम घट्दै गएको उनको भनाइ छ । परम्परागत रूपमा ऊनीको व्यापार, भेंडाबाख्रा, चौंरीगाई तथा घोडा/खच्चड पालन गर्दै आएका यहाँका बासिन्दा अहिले अन्य व्यापार गर्न थालेका छन् ।

प्रकाशित : मंसिर २७, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?