कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'चार दलीय सहमति गैरसंवैधानिक’

कान्तिपुर संवाददाता

काठमाडौ — संघीय समाजवादी पार्टी नेपालले चार दलीय सहमतिमा चुनावी सरकार गठन हुनु गैरसंवैधानिक भएको बताएको छ ।


'हामी चुनाव लड्न तत्पर छौं तर चार दलले गैरदलीय चुनावी सरकार गठन गर्नु गैरसंवैधानिक छ,' पार्टी अध्यक्ष अशोक राईले भने, 'यसलाई प्रमुख चार दलले आफ्नो असफलता प्रदर्शन गर्ने घटनाका रूपमा लिएका छौं ।'
तीनदिने केन्द्रीय समिति बैठकपछि आइतबार पत्रकार सम्मेलन गरी उक्त पार्टीले वर्तमान राजनीतिक गतिरोधका मुख्य जिम्मेवार कांग्रेस, एमाले र एमाओवादीलगायत सत्तारूढ गठबन्धन रहेको भन्दै सर्वदलीय सहमति हुनुपर्ने माग गरेको छ ।
'राष्ट्रपति सबै दलहरूका अभिभावक हुन्,' अध्यक्ष राईले भने, 'देशलाई संवैधानिक रूपमा अघि बढाउन सबै दलसित छलफल गर्नुपर्छ, चार दललाई मात्र सर्वेसर्वा ठान्नु हुन्न ।'
'राष्ट्रपतिद्वारा संवैधानिक रूपमा बनेको सरकारद्वारा प्रस्तुत निर्वाचनसम्बन्धी अध्यादेश पनि स्वीकृत नगरिएको परिप्रेक्षमा संविधानसभा पुनःस्थापनाको विकल्प नै सबैभन्दा उपयुक्त र संवैधानिक विकल्प हो,' विज्ञप्तिमा भनिएको छ, 'प्रधानन्यायधिशको नेतृत्वमा गैरदलीय चुनावी सरकारको सहमति गर्नु लोकतन्त्रको मूल्यमान्यता तथा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको हाम्रो पार्टीको निष्कर्ष छ ।'
जनमोर्चा र समाजवादी एकता दानबहादुर विश्वकर्मा नेतृत्वको जनमोर्चा र नेपाल संघीय समाजवादी पार्टीबीच एकीकरण भएको छ । पत्रकार सम्मेलनमा एकीकरण घोषणा गरिएको हो ।
'जनताको इच्छा र आकांक्षालाई साकार रूप दिन, नेपाली क्रान्ति र त्यसका उपलब्धिहरूको संस्थागत गर्न,' २०६२/६३ को शान्तिपूर्ण जनक्रान्ति र त्यसको उपलब्धिलाई संविधानसभाको माध्यमबाट संस्थागत गर्न दलहरू असफल भएको उल्लेख गदर्ैै संयुक्त विज्ञप्तिमा भनिएको छ, 'संविधानसभाबाटै पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान निर्माण गर्न प्रतिबद्ध नयाँ वैकल्पिक राष्ट्रिय राजनीतिक शक्तिको आवश्यकता पूरा गर्न एकीकरण भएको घोषणा गर्दछौं ।' दुई पार्टी एकीकरणसँगै संघीय समाजवादी पार्टी र झन्डालाई समाहित भएको जनाइएको छ  ।

प्रकाशित : फाल्गुन ७, २०६९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?