कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

कहाँ जान्छन् किशोरी ?

सिन्धुपाल्चोक — गत माघ ५ गते बाह्रबिसे नगरपालिका–८ जम्बुपारिकी २१ वर्षीया कमला दाहाल एकाएक माइतबाटै गायब भइन् । दुई दिनसम्म परिवारले व्यापक खोजी गर्‍यो । कतै नभेटेपछि उनीहरू निराश छन् ।

कहाँ जान्छन् किशोरी ?

कमला हराएको दुई दिनपछि बाह्रबिसे कर्थलीकी २६ वर्षीया विमला तामाङ पनि त्यसरी नै हराइन् । सधैंझैं घरबाहिर निस्केकी उनी अबेरसम्म नफर्किएपछि आफन्तले गाउँदेखि बजारसम्म खोजी गरे । राजधानीसम्मै पुगेर खोज्दा पनि नभेटिएपछि प्रहरीमा सूचना दिएको उनकी दिदी ज्ञानुले बताइन् । ‘आस मारिसकेका छैनौं । अझै खोजी जारी राखेका छौं । केही खबर नगरी कहाँ गइन् थाहा छैन,’ उनले भनिन् ।


बाह्रबिसे नगरपालिकामा मात्रै ०७४ साउनदेखि हालसम्म ३० किशोरी हराएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पछिल्ला दिनमा किशोरी हराउने क्रम बढेको छ । ‘यो वर्षमात्रै किशोरी हराएका १२ वटा निवेदन परे । त्यसमा ५ जनलाई फेला पार्‍यौं,’ माइती नेपालकी जिल्ला संयोजक पवित्रा घिमिरेले भनिन्, ‘भूकम्पपछि ११ देखि २४ वर्षका ३८ किशोरी गायब छन् ।’ तीमध्ये १३ जनाको मात्रै उद्धार गर्न सकेको उनले बताइन् ।


जिल्ला प्रहरी कार्यालयको तथ्यांक भने अझ भयावह छ । प्रहरीका अनुसार भूकम्पपछि अहिलेसम्म ७३ जना हराएकामा ५२ अझै भेटिएका छैनन् । हराएकामध्ये अधिकांश किशोरी छन् । ‘सीमा क्षेत्र र दुर्गम गाउँबाट महिला, बालबालिका र किशोरी हराउने क्रम बढेको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले भने, ‘गाउँगाउँमै पुगेर सचेतना अभियान थालिए पनि हराउने क्रम रोकिएको छैन ।’ उनले किशोरी बेचबिखनमा परेको हुन सक्ने बताए । वैदेशिक रोजगारको प्रलोभन देखाएर दलालहरूले किशोरी लाने गरेको उनको भनाइ छ । ‘विदेश जाने सपनामा दर्जनौं किशोरी घरबाट भागिरहेका छन्,’ उनले भने, ‘दलालहरूले अवैध तरिकाले खाडी तथा अन्य मुलुकमा पुर्‍याएका किशोरी त्यहाँ अनेक किसिमको शोषणका सिकार हुन्छन् ।’

प्रकाशित : चैत्र १, २०७४ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?