रारामा बृहत् सरसफाइ

सरसफाइमा सेना, प्रहरी, रारा निकुञ्जका कर्मचारी, स्थानीयवासीको सहभागिता रहेको थियो ।
कान्तिपुर संवाददाता

मुगु — कर्णाली रारा पर्यटन वर्ष उद्घाटनको दोस्रो दिन रारामा बृहत् सरसफाइ गरिएको छ । पर्यटन वर्ष उद्घाटनको समयमा रारा ताल किनार तथा वरपरका क्षेत्रमा भएको फोहर व्यवस्थापनका लागि सरसफाइ गरिएको हो ।

रारा ताल र आसपासका क्षेत्रमा फालिएका प्लास्टिकजन्य सामग्री, सिसा, बोतललगायत फोहोर संकलन गरी खाल्डामा पुरिएको छ । सरसफाइमा सेना, प्रहरी, रारा निकुञ्जका कर्मचारी, स्थानीयवासीको सहभागिता थियो । करिब तीन सय जनाको समूहले रारा सरसफाइमा सहभागिता जनाएका हुन् । राराको प्राकृतिक सुन्दरता बचाउन सरसफाइ अभियान थालिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जनाए । उनका अनुसार पर्यटन वर्षका अवसरमा रारामा यस वर्ष धेरै पर्यटक भित्रने र ताल वरिपरिको क्षेत्र फोहोर हुने भएकाले नियमित रूपमा सरसफाइ गरिनेछ ।


पर्यटन वर्ष उद्घाटनका दिनमा रारा वरपर फालिएका फोहोरजन्य सामग्री खाल्डामा पुरिएको उनको भनाइ छ । मिलीचौदेखि ओखरबोट हुटु निजार हुँदै डाँफे र हेरिटेज रिसोर्टसम्मका क्षेत्रको फोहोर संकलन गरी नष्ट गरिएको हो । रारामा फोहोर हुन नदिन आसपासका क्षेत्रमा डस्टबिनको समेत व्यवस्था गरिएको मूल आयोजक समितिले जनाएको छ । पर्यटन वर्ष उद्घाटनमा रारा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत राराको सुन्दरता जोगाउन स्थानीयलाई आग्रह गरेका थिए ।

Yamaha


गन्तव्यमा फर्कंदै पाहुना
कर्णाली रारा पर्यटन वर्षको उद्घाटनमा आएका कर्णाली प्रदेशका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, मन्त्रालयका कर्मचारीलगायत आन्तरिक पर्यटकहरू गन्तव्यमा फर्कन थालेका छन् । पर्यटन वर्ष उद्घाटनका बेला आएका अतिथि तथा आन्तरिक पर्यटक फर्कन थालेपछि चाप घटै गएको भिलेज हेरिटेज रिसोर्टका स्टेसन म्यानेजर दीपक रावतले बताए । उनका अनुसार आइतबार बिहानसम्म खाना र बासको व्यवस्था मिलाउन तथा पर्यटकको व्यवस्थापनमा समस्या थियो ।


जिल्ला बाहिरबाट आएका पाहुना सडक र हवाईमार्गबाट गन्तव्यमा फर्कन थालेका हुन् । आसपासका जिल्लाहरू जुम्ला, बाजुरा, कालिकोट र जिल्लाभित्रका बासिन्दा भने पैदलै गन्तव्यमा फर्किएका छन् ।


पर्यटन वर्ष उद्घाटनको दिन शनिबार करिब पाँच हजार स्थानीयको सहभागिता रहेको जिल्ला मूल समारोह समितिले जनाएको छ । पाहुनालाई बस्ने व्यवस्था राम्रो गरेको हुँदा यो पटक रारामा पाहुना र पर्यटकले खाना र बासको गुनासो नगरेको जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाले बताए ।

प्रकाशित : वैशाख ३, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मुसीकोटले बनायो २४ कानुन

हरि गौतम

रुकुम (पश्चिम) — मुसीकोट नगरपालिकाले एक वर्षको अवधिमा २४ वटा कानुन निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएको एक वर्षको अवधिमा भएका दुई वटा नगरसभाबाट २४ वटा कानुन पारित भएको नगर कार्यपालिकाले जनाएको छ ।

असार ३२ मा भएको पहिलो नगरसभाबाट ७ र गत चैत ३० गते भएको दोस्रो नगरसभाबाट १६ वटा कानुन पारित भएका छन् । काम गर्दै जाँदा आवश्यक परेका खण्डमा कानुन बनाएर अघि बढ्ने गरेको नगर प्रमुख देवीलाल गौतमले बताए । उनले पहिलो सभाबाट पारित ऐन, नियम, नियमावली र कार्यविधिका आधारमा हालसम्म कामकाज चलाइए पनि थप कानुनको जरुरी परेपछि दोस्रो नगर सभाबाट थप कानुन सर्वसम्मत पारित गरिएको जानकारी दिए । कामकाज अघि बढाउन समस्या परेपछि नगर सभा आह्वान गरेर कानुन पारित गरेको उनले बताए । ‘हामी अघि बढ्न समेत समस्या भइसकेको थियो, कानुन नभएपछि हामी ठप्प थियौं, त्यसैले तत्काल आवश्यक थप कानुन बनाइएको हो,’ प्रमुख गौतमले भने ।


पहिलो नगर सभाले कार्यपालिकाका पदाधिकारीको आचारसंहित, नगरसभा सञ्चालन कार्यविधि, नगरपालिकाको आर्थिक ऐन, नगर कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि, नगर कार्यपालिकाको कार्य विभाजन, कार्य सम्पादन नियमावली र विनियोजन ऐन पारित गरेको थियो । दोस्रो नगर सभाले ६ वटा विधेयक, ९ वटा कार्यविधि, नियम र दिग्दर्शन तथा एउटा नियमावली पारित गरेको छ । दोस्रो नगर सभाबाट न्यायिक समतिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, स्थानीय कृषि व्यवसाय प्रवद्र्धन विधेयक, प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक, शिक्षा विधेयक र सहकारी विधेयक पारित भएको छ । यसैगरी उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, घ वर्गको निर्माण व्यवसायीको इजाजत पत्रसम्बन्धी कार्यविधि, नगरपालिकाको राजपत्र, बजार अनुगमन निर्देशिका, एफ.एम. रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, करारमा जनशक्ति व्यवस्थापन गर्नेसम्बन्धी नमुना कार्यविधि, एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, टोल विकास समिति गठन तथा परिचालन कार्यविधि र शिक्षा नियमावली पनि दोस्रो नगर सभाले पारित गरेको छ ।


पहिलो र दोस्रो नगरसभाबाट पारित कानुनलाई अब राजपत्रमा प्रकाशनको तयारी गरिएको छ । नगरपालिकाको दोस्रो नगर सभामार्फत नगरपालिकाको राजपत्रसम्बन्धी नियम बनाएकाले अबको हप्ता दिनभित्र नगर सभाबाट पारित सबै ऐन, नियम, कानुन, नियमावली, कार्यविधिलाई राजपत्रमा प्रकाशनको तयारी भैरहेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले बताए । नगर सभाबाट पारित कानुन राजपत्रमा प्रकाशन गर्नुपर्ने हुन्छ । नगर कार्यपालिका बैठकका निर्णय तथा नगर सभाबाट पारित कानुन राजपत्रमा नछापेर कामकाज चलाउन सकिने भए पनि राजपत्रमा छाप्दा त्यो थप परिपक्व हुने शर्माले बताए ।

प्रकाशित : वैशाख ३, २०७५ ११:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT