२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

रोकिएन पलायन

भविष्य खोज्न भन्दै विदेसिए कप्तानसहित महिला फुटबलर
सुबास हुमागाईं

काठमाडौँ — सजना रानामगर नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान हुन् । एपीएफबाट व्यावसायिक फुटबल खेल्दै आएकी सजनाले विभागीय टोलीको पनि नेतृत्व सम्हालिन् । तर, राजधानीमा जारी राखेप च्याम्पियनसिपअन्तर्गत १६ औं राष्ट्रिय महिला लिगमा भने सजना उपस्थित छैनन् । लिग हुनु केही दिनअघि सजना दुबईतर्फ लागिन् फुटबललाई चटक्कै छाडेर ।

रोकिएन पलायन

सजनासँगै राष्ट्रिय टोलीकी गोलरक्षक नमिताकुमारी दली पनि दुबई गएकी छन् । हालको राष्ट्रिय टोलीमा सबैभन्दा अनुभवी खेलाडी रहेकी नमिताकै कप्तानीमा पुलिसले पछिल्ला तीन संस्करणको लिग उपाधि जितेको थियो । लगातार चौथोपल्ट उपाधि जित्ने दाउमा रहेको नेपाल पुलिस क्लबको प्रदर्शन यसपालि अपेक्षाकृत छैन । कारण, नमितासँगै टोलीका महत्त्वपूर्ण खेलाडीहरू दुबई पुगिसके ।


पुलिसकी सहायक प्रशिक्षक चन्द्रा भण्डारीका अनुसार एकैपल्ट तीन खेलाडी नहुनुले टोलीलाई निकै समस्या परिरहेको छ । ‘नमिता, सुधा (लामा) र रीना (गुभाजू) को अनुपस्थितिले टोलीमा पक्कै समस्या परेको छ । हामीले पछिल्लो संस्करणमा लगातार तेस्रो उपाधिसहित सिल्ड नै आफ्नो नाम गरेका थियौं । तर यसपालि नयाँ रूपमा रहेको टोलीमा केही समस्या पक्कै देखिएको छ,’ उनले भनिन् । एक जमानामा राष्ट्रिय टोलीकी स्टार खेलाडी रहेकी चन्द्राको करिअरमा घुँडाको चोट बाधक बन्यो । उनले घुँडाको चोटका कारण खेलाडी जीवनलाई पूर्णविराम लगाएर प्रशिक्षणमा हात हालेकी हुन् । सी लाइसेन्सप्राप्त गरिसकेकी चन्द्रा सुपर लिगमा राम्रो प्रदर्शन गर्दै टोलीले उपाधि रक्षा गर्नेमा सकारात्मक छिन् ।


नमिता नियमित राष्ट्रिय टोलीकी सदस्य थिइन् । उनले पछिल्लो वर्ष भारतमा सम्पन्न चौथो साफ वुमन्स च्याम्पियनसिपमा पनि खेलिन् । नमितासँगै सुधा र रीनासँग पनि राष्ट्रिय टोलीबाट खेलेको अनुभव छ । तर नियमित खेलिरहेको अवस्थामै एक्कासि जागिर नै माया मारेर विदेश पलायन हुँदा नेपाली फुटबलको तीतो सत्यको पर्दाफास भएको छ । फुटबलमात्र नभएर भर्खरै एथलेटिक्सकी कीर्तिमानी खेलाडी केशरी चौधरी पनि दुबई नै पुगेकी छन् । उनी पनि सात वर्षदेखि पुलिस क्लबमै आबद्ध थिइन् ।


राष्ट्रिय टोलीकी उपकप्तान रेनुका नगरकोटेका अनुसार कप्तान पलायन हुनुले टोलीलाई ठूलो घाटा पुगेको छ । ‘राष्ट्रिय टोलीलाई ठूलो घाटा त छ नै, क्लबमै पनि समस्या परेको छ । कप्तानले फुटबल छाड्दा खेलमा मात्र हैन मानसिक रूपमा हामीलाई पनि कठिन हुन्छ । हामीले आफ्नो ठाउँबाट सक्दो राम्रो प्रदर्शन त गर्नैपर्छ । तर कप्तानको अनुपस्थिति भने खडकने छ,’ उनले भनिन् । चोटका कारण लामो समय विश्राम लिएकी सजनाले यही जेठमा पुनरागमन गरेकी हुन् । नेपालले उनकै कप्तानीमा मलेसियाविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । तीमध्ये एक खेलमा सजना आफैंले पनि गोल गरेकी थिइन् ।


दक्षिण एसियाली महिला फुटबलमा नेपालको प्रदर्शन सधैं बलियो रहँदै आएको छ । अहिलेसम्म भारतसँग मात्र पराजित नेपाली टोलीले दक्षिण एसियाबाहिर गएर प्रतिस्पर्धा गर्न पाएको छैन । नेपालले भारतविरुद्ध गरेको प्रदर्शन र भारतले अन्य देशविरुद्ध निकालेको नतिजा हेर्ने हो भने महिला फुटबलमा नेपालले अझै प्रगति गर्न सक्ने देखिन्छ । तर एन्फाले अहिलेसम्म नेपाललाई एसियन छनोट तथा विश्वकप छनोटमा सहभागी गराएको छैन । उमेर समूहमा पनि नेपालको प्रदर्शन खस्कँदो छ ।

महिला फुटबलमा लाग्न लामो समयदेखि विभागीय टोलीमा पाइने सरकारी जागिर नै एकमात्र आकर्षण हो । क्षेत्रीय टोलीबाट खेल्ने लगभग सबै खेलाडीको लक्ष्य भनेको राम्रो प्रदर्शन गरेर विभागमा जागिर खाने हुने गर्दछ । तर विभागीय टोलीको कप्तानीसँगै राष्ट्रिय टोलीबाट नियमित खेलिरहेका खेलाडी पलायन हुँदा आउने पिँढी फुटबलमा लाग्नुअघि सोच्न बाध्य बनाउने जानकारहरू बताउँछन् ।


राष्ट्रिय टोलीबाट खेलिसकेकी एक खेलाडीका अनुसार विभागले खेलाडीलाई उचित स्थान दिन नसक्दा यस्तो नतिजा आएको हो । ‘विभागकै लागि खेलाडीले पढ्ने उमेरमा फुटबलमा होमिएको हुन्छ । तर खेलाडीले सफलता हात पार्दा विभागले बढुवा गर्न आनाकानी गर्दा खेलाडी निरुत्साहित भए । पढाइ कमजोर भएका कारण खेलाडी जीवनपछि अन्य केही काममा होमिन पनि कठिन हुन्छ । जति राम्रो गर्दा पनि उचित स्थान नदिँदा भविष्य नै अन्धकार देखेपछि पलायन हुनुको विकल्प भएन,’ ती खेलाडी गुनासो पोखिन् ।


केही महिनाअघि सम्पन्न स्थानीय स्तर र राष्ट्रियस्तरको चुनावमा खेलाडीलाई ड्युटीमा खटाइनुले पनि खेलाडी र विभागमाझ केही समस्या निम्तिएको बुझाइ छ । आर्मीका खेलाडीहरू नियमित प्रशिक्षणमा रहे पनि पुलिस र एपीएफले भने टोलीमा रहेका सक्रिय खेलाडीलाई चुनावी ड्युटीमा खटाएको थियो । विगतमा खेलाडीलाई बिरलै यस्तो कार्यमा संलग्न गर्ने विभागले विगत केही समयमा भने कुनै छुट दिएको छैन । एन्फाले नियमित रुपमा महिला फुटबलको कार्यक्रम सञ्चालन नगर्दा विभागीय टोलीले फुटबलमा पहिलेझैं सक्रियता देखाएका छैनन् ।


महिला राष्ट्रिय टोलीका प्रशिक्षक कुमार थापाले आफ्नो जिम्मेवारीबाट राजिनामा दिइसके । महिनौं बितिसक्दा पनि उनको स्थानमा नयाँ प्रशिक्षक नियुक्त हुन सकेको छैन । हाल एन्फाले टोली छनोटका लागि यू–१४ टोलीका पूर्व प्रशिक्षक किशोर केसीलाई खेलाडी छनोटको जिम्मा दिएको छ । यसअघि भएको प्रधानसेनापति कपमा पनि केसी छनोटकर्ताकै भूमिकामा थिए । तर राष्ट्रिय टोलीको कुनै खेलतालिका नहुँदा टोली छनोटको कुनै औचित्य नै रहन्न । एन्फाले महिला टोलीका लागि नियमित प्रशिक्षण गर्ने कार्यक्रम ल्याए पनि उक्त प्रशिक्षण दुईदेखि तीन साताभन्दा अगाडि बढ्न सकेन ।


सन् २०१८ मा नेपालले पाँचौं साफ महिला च्याम्पियनसिपको आयोजना गर्दै छ । त्यसका लागि एन्फाले दीर्घकालिन योजनासहित अगाडि बढ्ने घोषणा गरेको पनि एक वर्ष बित्न लागिसक्यो । गत वर्ष साफ च्याम्पियनसिपमा सेमिफाइनल यात्रा तय गरेर फर्केलगत्तै दिएको आश्वासन कागजी रूपमा पनि अगाडि बढ्न सकेको छैन ।

राष्ट्रिय टोलीकी कप्तान पलायन हुनु र प्रशिक्षकबिनै राष्ट्रिय टोली छनोट हुनुले समस्या झनै जटिल बन्दै गएको छ । लिगको अवधारणादेखि खेलाडीको स्तरबारे सम्बन्धित निकायले बेलैमा उचित कदम नचाल्ने हो भने महिला फुटबलको भविष्य अन्धकारतर्फ मोडिने खेलाडीहरूकै बुझाइ छ ।

प्रकाशित : पुस २३, २०७४ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?