कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एथलेटिक्समा आर्मीको वर्चस्व

राखेप च्याम्पियनसिप
वेदराज पौडेल

इटहरी — ४२ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताका ३५ इभेन्टमा त्रिभुवन आर्मी क्लबले २२ स्वर्ण पदक जितेको छ । विगतझैं यसपालि पनि आर्मीले वर्चस्व राख्यो । तर कुनै विधामा पनि राष्ट्रिय कीर्तिमान बनेन । आर्मीले १७ रजत र १३ कांस्य पनि जित्यो ।

एथलेटिक्समा आर्मीको वर्चस्व

प्रतियोगितामा ५ विकास क्षेत्र, तीन विभागीय आर्मी, एपीएफ र नेपाल पुलिसका गरी १ सय ८७ खेलाडीले ३५ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फ १८ र महिलातर्फ १७ इभेन्ट समावेश थिए । राष्ट्रिय एथलेटिक्स विजेताले आगामी दिनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा सहभागिता जनाउने छन् ।


सशस्त्र प्रहरीको एपीएफले ७ स्वर्ण, ८ रजत र १२ कांस्य पदक जित्यो । नेपाल पुलिस क्लबले ४ स्वर्ण, ३ रजत र दुई कांस्य जितेर तेस्रो स्थानमा चित्त बुझायो । मध्यामाञ्चलले १ स्वर्ण, ३ रजत र २ कांस्य, मध्यपश्चिमाञ्चलले १ स्वर्ण, २ रजत र ४ कांस्य जितेका थिए । पश्चिमाञ्चलको भागमा २ कास्य र सुदूरपश्चिमको भागमा एक कांस्य परेको थियो ।


उत्कृष्ट खेलाडीमा रामप्रसाद थारु र कृष्णा चौधरी घोषित भए । दुवै आर्मीका हुन् । मंगलबार ट्रिपलजम्प पुरुषतर्फ नेपाल प्रहरीका चन्द्रदेव जोशीले स्वर्ण, मध्यामाञ्चलका भुवन महतोले रजत र आर्मीका शेरबहादुर विष्टले कांस्य पदक जिते । सोही इभेन्टको महिलातर्फ एपीएफकी शिला चौधरीले स्वर्ण, आर्मीकी संगीता मेचेले रजत र मध्यपश्चिमकी पूजा चौधरीले कांस्य पदक जिते ।


त्यस्तै ज्याभलिन थ्रोमा आर्मीका रोहित चौधरीले स्वर्ण, पुलिसका वीरेन्द्र चौधरीले रजत र एपीएफका प्रेमप्रकाश खड्काले रजत जिते । सटपुटमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण, एपीएफका प्रेमप्रकाशले रजत र प्रेम गुरुङले कांस्य पदक प्राप्त गरे । महिलातर्फ पुलिसकी चन्द्रकला लाम्गादेले स्वर्ण, एपीएफकी सीमाकुमारी थारुले रजत र आर्मीकी लक्ष्मी थारुले कांस्य पदक जितेका थिए ।


महिला लङजम्पमा आर्मीका कृष्ण चौधरीले स्वर्ण, एपीएफकी शिला चौधरीले रजत र मध्यपश्चिमाञ्चलकी जयरानी थारुले कांस्य पदक जिते । पुरुषतर्फ मध्यमाञ्चलका भुवन महतोले स्वर्ण, आर्मीका शेरबहादुर विष्टले रजत र आर्मीकै डिल्ली खत्रीले कांस्य हत्याए ।


पुलिसद्वारा सटपुट बहिष्कार

नेपाल पुलिसका सटपुट खेलाडी पुस्कल खड्काले आफूलाई निर्णायकले अपमान गरेको भन्दै खेल बहिष्कार गरेका छन् । सोमबार भएको सटपुटमा १६ पाउण्डको हुनुपर्नेमा १४ पाउण्डको सटपुटबाट खेल खेलाएको भन्दै आयोजकले पुन: मंगलबार उक्त खेलको फाइनल गराएको थियो ।


आफूहरूले सटपुटको तौल कम भएको जुरीलाई पटक–पटक भन्दा पनि वास्ता नगरेको तर जब आफूले चौथो राउन्डमा १४ दशमलब ८८ मिटरको राष्ट्रिय कीर्तिमान बनाएपछि निर्णायकले खेल स्थगित गरेर पुन: दोस्रो दिन खेलाएको आरोप पुस्कलको छ । उनले १९ वर्षअघि १३ दशमलब ९२ मिटरको उजिरसिंह विष्टको राष्ट्रिय रेकर्ड तोडेपछि विपक्षी खेलाडी र प्रशिक्षकको भनाइमा आएर परिणाम तोडमोड गर्ने काम भएको उनको दाबी छ ।


मंगलबार पुलिस खेलाडीबिना नै सटपुट खेलाइएको थियो । पुस्कलले खेलको निर्णयप्रति असन्तुष्टि जनाउँदै राखेपसमक्ष अपिलपत्र दर्ता गराएका छन् । उनले सातौं राष्ट्रिय खेलकुदमा समेत १४ पाउण्डकै सटपुट खेलाइएको दाबी गरे । उनले आफ्नो रेकर्ड प्रभावित गर्न आफूमाथि षड्यन्त्र भएको जिकिर गरे ।


मध्यमाञ्चल सेमिफाइनलमा

काठमाडौं – मध्यमाञ्चल १४ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । मध्यमाञ्चल समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।


मध्यमाञ्चलले लिगको अन्तिम खेलमा पश्चिमाञ्चललाई ६९–२० स्कोरले पराजित गर्‍यो । मध्यमाञ्चलकी माया स्याङतानले १२ स्कोर जोडिन् । मध्यमाञ्चल सेमिफाइनल पुग्ने तेस्रो टोली हो । यसअघि मध्यपश्चिम र आर्मी समूह ‘बी’ को क्रमश: विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगिसकेका छन् । अब पश्चिमाञ्चल र पूर्वाञ्चलको खेलबाट सेमिफाइनल पुग्ने अन्तिम टिमको टुंगो लाग्नेछ ।


त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा जारी प्रतियोगिताको पुरुषतर्फ १५ औं संस्करणमा तीनै विभागीय टोली एपीएफ, आर्मी र पुलिससहित मध्यमाञ्चलले सफलता पाए । एपीएफले पश्चिमाञ्चललाई ८६–७६ स्कोरले हरायो ।


एपीएफका विजय बुर्जाले २९ स्कोर जोडे । सदीश प्रधानको ३१ स्कोरमा आर्मीले मध्यपश्चिमलाई १२७–६२ को फराकिलो अन्तरले हरायो । पुलिसले पूर्वाञ्चलमाथि ९०–६६ ले जित्दा विकास गुरुङले २८ स्कोर गरे । आर्मी र पुलिसको लगातार दोस्रो जित हो । सुदूरपश्चिमविरुद्ध मध्यमाञ्चल ९०–६९ ले विजयी भयो । मध्यमाञ्चलका विनोद श्रेष्ठले १९ स्कोर बटुले ।


कबड्डी

गुलरिया– बर्दियाको भुरीगाउ‘स्थित सिंहबाहिनी मैदानमा जारी राखेप च्याम्पियनसिपअन्तर्गतको राष्ट्रिय कबड्डीमा मंगलबार पुरुषतर्फ ५ र महिलातर्फ ४ खेल भए । लिग चरणमा सुदूरपश्चिमले पूर्वाञ्चललाई ७३–४१ अंकले हराएको छ । पश्चिमाञ्चलले मध्यमाञ्चललाई ४ अंकको अन्तरले पन्छायो । पश्चिमाञ्चलले ३९–३५ अंकले नतिजा निकालेको थियो ।


एपीएफले सुदूरपश्चिमलाई ५०–३० अंकले हरायो । त्रिभुवन आर्मीले पूर्वाञ्चलविरुद्ध ९५–२५ को फराकिलो अन्तरले सफलता पाएको थियो । मध्यमाञ्चलले मध्यपश्चिमलाई ७४–३६ अंकले हरायो ।


महिलातर्फ मध्यमाञ्चलले पश्चिमाञ्चललाई ५६–३३ अंकले हरायो । सुदूरपश्चिमले पूर्वाञ्चललाई १६ का विरुद्ध ६९ अंकले हराएको हो ।

प्रकाशित : पुस २६, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?