एपीएफ लिग च्याम्पियन
काठमाडौँ — फरवार्ड सावित्रा भण्डारीले उत्कृष्ट फर्म जारी राख्दै अन्तिम खेलमा पनि दुई गोल गरेसँगै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत १६ औं राष्ट्रिय महिला लिगको उपाधि जितेको छ ।
सुपर लिगको अन्तिम खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै ट्रफी उचाल्यो । एपीएफ अपराजित हुँदै लिग भएको हो । एपीएफको यो पहिलो लिग उपाधि हो । साबिक विजेता पुलिसले लगातार तीनपल्ट लिग जितेको थियो । टोलीको चौथोपल्ट लिग जित्ने सिलसिलामा पूर्णविराम लागेको हो ।
विभागीय टोलीबीचको प्रतिस्पर्धात्मक खेलमा एपीएफले पहिलो हाफको १७ औं मिनेटमा सुरुआती अग्रता लियो । अनिता बस्नेतले मैदानको दायाँ विंग्सबाट दिएको क्रस पुलिसकी गोलरक्षक सुस्मिता ठकुरीले सम्हाल्न नसक्दा सावित्राले खाली पोस्टमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसपछि सरु लिम्बूले टोलीको अग्रता दोब्बर पार्दै एपीएफको पकड बलियो पारिन् । तर, एपीएफकी गोलरक्षक एन्जिला सुब्बाको गल्तीको फाइदा उठाउँदै पुलिसले खेलमा पुनरागमन गर्ने आशा जगायो । रुपा मगरले ३४ औं मिनेटमा गोल गरेपछि खेल थप प्रतिस्पर्धात्मक बन्यो ।
उत्कृष्ट गोलरक्षक एपीएफकी एन्जिला तुम्बापो सुब्बा ।
दोस्रो हाफमा एपीएफले लगातार आक्रमण बुने पनि पुलिसकी गोलरक्षक सुस्मिताले राम्रो
बचाउ गरिन् । खुट्टाको चोट बाबजुद खेलेकी उनले ७४ औं मिनेटमा भने गोल बचाउन सकिनन् । सावित्राले सुस्मिता ठाउँमा नरहेको अवस्थामा गोल गर्दै एपीएफको जित पक्का गरिन् । सावित्राले प्रतियोगिताका ६ खेलमा २९ गोल गरिन् ।
जितपछि एपीएफका प्रशिक्षक जनक सिंहले उपाधि जित्दा खुसी भए पनि प्रदर्शन भने सन्तोषजनक मात्र रहेको प्रतिक्रिया दिए । ‘हाम्रो प्रदर्शन सन्तोषजनक रह्यो । उपाधि जित्दा खुसी पक्कै छु तर आशा गरेअनुसार खेलाडीले प्रदर्शन गर्न सकेनन् । यो भन्दा अझै राम्रो नतिजा ल्याउने अपेक्षा राखेका थियौं,’ उनले भने ।
त्यसअघि दिनको पहिलो खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिमाञ्चललाई ७–० ले हरायो । टोलीको जितमा कप्तान कृष्णा खत्रीले ५ गोल गरिन् । त्यसमा शर्मिला थापामगर र बिमला चौधरीले १–१ गोल थपे । प्रतियोगिताको विजेता एपीएफले २ लाख र उपविजेता आर्मीले १ लाख रुपैयाँ पुरस्कार पाए । तेस्रो स्थानको पुलिसले ५० हजारमा चित्त बुझायो ।
विधागत उत्कृष्ट (जनही २५ हजार)
गोलरक्षक एन्जिला तुम्बापो सुब्बा, एपीएफ
डिफेन्डर अञ्चली वाइबा, आर्मी
मिडफिल्डर दीपा राई, आर्मी
फरवार्ड सावित्रा भण्डारी, एपीएफ
प्रशिक्षक जनक सिंह, एपीएफ
सुपरलिग अंक तालिका
टोली जित हार अंक
एपीएफ ३ ० ९
आर्मी २ १ ६
पुलिस १ २ ३
सुदूरपश्चिम ० ३ ०