‘जिन्दगीकै ठूलो भुल’

अब एन्फामा नेतृत्व परिवर्तन नगरेसम्म देशको फुटबलको भविष्य छैन ।
अहिले फुटबल बुझ्ने एन्फा बाहिर र नबुझ्ने भित्र रहेको अवस्था छ । यसलाई चुनावमार्फत् परिवर्तन गर्नुपर्छ ।
पहिलाजस्तो एक व्यक्ति वा कसैको परिवारले चलाउने होइन, एन्फामा सामूहिक नेतृत्व हुनुपर्छ ।
नरेन्द्रलाई समर्थन गरेर पश्चाताप महसुस भइरहेको छ ।
राजु घिसिङ

काठमाडौँ — हुन त नरेन्द्र श्रेष्ठ भ्रष्टाचार अभियोगमा गणेश थापामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० वर्ष प्रतिबन्ध लगाएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यवाहक अध्यक्ष भएका थिए । थापाको नेपाली फुटबलमा २२ वर्षे राज सकियो । तर उनकै विश्वासपात्र उत्तराधिकारी निस्किए ।

टासी घले

उनै थापाका विश्वासपात्र श्रेष्ठले गत वर्ष कात्तिकमा भएको एन्फा अध्यक्ष निर्वाचनमा बाजी मारे । तीन वर्षअघि एन्फामा शुद्धीकरण अभियान थालेका तत्कालीन उपाध्यक्ष कर्माछिरिङ शेर्पालाई ५ मतले पछाडि पार्दै श्रेष्ठ नेपाली फुटबलको ‘हट(सिट’ बसेका थिए ।
त्यस बेला रिक्त रहेको अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएको थियो । गणेश थापा विरोधी र पक्षधरको प्रतिस्पर्धा चर्को थियो । चुनावको ठीक एकदिनअघि भएको एन्फाको कार्यसमिति बैठकले टासी घलेलाई मानार्थ अध्यक्ष मनोनीत गरेको थियो । उक्त मनोनीत र घलेको भूमिका नै निर्वाचनमा निर्णायक साबित भएको थियो । जम्मा ७२ भोटको प्रतिस्पर्धा थियो । त्यसमा तीन भोट फेरिएको भए एन्फा र नेपाली फुटबलको राजनीतिले अर्कै मोड लिने थियो । त्यस निर्वाचनमा आफ्नो भूमिकालाई लिएर अहिले घलेको मन कुँडिएको छ, चित्त नराम्रैसँग दुखेको छ ।

‘चुनावको अघिल्लो दिन एन्फाको मानार्थ अध्यक्षमा मनोनीत गर्दा मलाई युवा विकास र विधान संशोधनको संयोजकको जिम्मेवारी दिने वचन दिइएको थियो,’ एन्फाका पूर्व उपाध्यक्षसमेत रहेका घलेले भने, ‘एन्फा कम्प्लेक्समै मानार्थ अध्यक्षको कार्यकक्ष नै स्थापना गर्ने प्रतिबद्धता पनि जनाएँ । तर चुनावपछि मलाई बैठकमै बोलाइएन । संकट पर्दा एकपल्ट मात्र सहभागी गराइयो । मलाई धोका दिए ।’ एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मणि कुँवरलगायत गणेश थापा पक्षधरसँग निकै रुष्ट देखिएका उनले थपे, ‘परिवर्तनका लागि जति प्रयास गरे पनि आफूलाई नेतृत्व पक्षले टाढै राख्न खोजे । यस्तो (खराब) व्यवहार गर्छ भन्ने सोचेकै थिइनँ ।’
‘कायम गर्ने सिस्टम छैन । आर्थिक पारदर्शिता छैन । उनीहरू (एन्फा नेतृत्व) लाई फुटबलको मतलव छैन । विकास होइन, विनासको बाटोमा लगेका छन् । तर हामी चुप लागेर बस्ने छैन,’ एसियाली फुटबल महासंघ (एएफसी) को प्राविधिक समितिमा सदस्यका रूपमा पनि काम गरिसकेका घलेले भने, ‘धरान र बुटवलमा एकेडेमी तुरुन्तै सञ्चालन गर्न १०–१० लाखको प्रायोजन म आफैंले ग्यारेन्टी गर्ने प्रस्ताव गरेपनि काम गरेनन् । विकासे योजनाका फाइलहरू नै लुकाइए । काम गर्नेलाई पन्छाउन थालियो ।’
‘योग्यलाई हटाउनुहुन्न’
राष्ट्रिय टिमका पूर्व कप्तान उपेन्द्रमान सिंह, दीपक खाती र मणि कुँवरले गत वर्षको चुनावमा एक उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका थिए । गणेश थापाका सालो रहेका कुँवर निर्वाचित भए । उपेन्द्रलाई निर्वाचनमा सहयोग गरेका राष्ट्रिय टिमका पूर्वकप्तानहरू हरि खड्का र बालगोपाल महर्जन एन्फामा प्रशिक्षकमा कार्यरत थिए । तर चुनावपछि एन्फाले उनीहरूको करार नवीकरण गरेन । एन्फा स्रोतअनुसार उनीहरूलाई जागिरमा निरन्तर रहन ‘पहिले चुनावमा सिंह (उपेन्द्र) लाई सघाएकोमा सार्वजनिक रूपमा माफी माग्नु’ भनिएको थियो ।
‘योग्यलाई हटाउनुहुन्न, उनीहरूको कौशल उपयोग गर्नुपर्छ,’ चार दशकयता फुटबलमा सक्रिय घलेले भने, ‘अब एन्फामा नेतृत्व नै फेर्नुपर्ने बेला आएको छ । नेतृत्व परिवर्तन नगरेसम्म देशको फुटबलको भविष्य छैन ।’ एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचन १४ चैतमा हुँदै छ । त्यसले चार वर्षका लागि एन्फाको नेतृत्व चयन गर्नेछ । ‘अहिले फुटबल बुझ्ने एन्फा बाहिर र नबुझ्ने भित्र रहेको अवस्था छ । यसलाई चुनावमार्फत् परिवर्तन गर्नुपर्छ,’ उनले भने ।
नरेन्द्र श्रेष्ठ नेपाली फुटबलको सर्वोच्च पदमा रहेको पनि दुई वर्ष भइसक्यो । तर फुटबल विकासको मेरुदण्ड मानिएको ‘ए’ डिभिजन लिग उनको कार्यकालमा आयोजना नै गरिएको छैन । अहिले जिल्ला संघहरूमा चुनावी माहोल छ तर अधिकांश जिल्लामा विवाद चर्किएको छ । फुटबलका सक्रिय क्लबहरूलाई अधिवेशनमा सहभागी हुन ‘बन्देज’ लगाइएको छ भने आफ्ना समर्थकलाई मात्र अवसर दिइएको छ ।
घरेलु फुटबलको महारथी क्लब मनाङ मस्र्याङीका संस्थापकसमेत रहेका घलेले भने, ‘लिग नभएको पनि चार वर्ष भयो । खेलाडीहरू बेरोजगार छन् । क्लबका लागि कुनै कार्यक्रम छैन । एन्फामा काम गर्ने सिस्टम छैन । कार्यशैली हेर्दा एन्फामा फुटबललाई राम्रो गर्ने व्यक्ति नै छैनन् । त्यसैले अहिलेको नेतृत्व असफल भइसक्यो ।’ हाल नेपाल गल्फ संघका अध्यक्षसमेत रहेका ६० वर्षीय उनले भने, ‘एउटा क्लब नै चलाउन नसकेका व्यक्तिले एन्फा कसरी चलाउन सक्छन् ?’
नरेन्द्र श्रेष्ठ न्युरोड टिम (एनआरटी) का पूर्वअध्यक्ष पनि हुन् । एनआरटीलाई बलियो बनाउन नसकेपछि उनी नेतृत्व त्याग्न बाध्य भएका थिए । त्यसपछि एन्फामा प्रतियोगिता संयोजकको फेरि प्रवेश गरेका उनले गणेश थापा प्रतिबन्धमा परेयता एन्फाको नेतृत्व गरिरहेका छन् । थापाका विश्वासपात्र श्रेष्ठले तीन वर्षअघि एन्फामा शुद्धीकरणको अभियान थालेका तत्कालीनउपाध्यक्ष कर्माछिरिङ शेर्पालाई निर्वाचनमा पराजित गरेका थिए ।
‘सामूहिक नेतृत्व आवश्यक’
एन्फाले दुईपल्ट मिति सारेर कार्यसमितिको निर्वाचन १४ चैतमा तोकेको हो । ‘चुनाव सार्ने नियत ठीक छैन,’ घलेले भने, ‘एन्फा इतिहासकै सबभन्दा कमजोर अवस्था आइपुगेको छ । त्यसैले नेतृत्व परिवर्तन आवश्यक भइसकेको छ । पहिलाजस्तो एक व्यक्ति वा कसैको परिवारले चलाउने होइन, एन्फामा सामूहिक नेतृत्व हुनुपर्छ ।’ उनले एन्फामा काम गर्ने प्रणाली स्थापित गर्न नसक्दा नै नेपाली फुटल भुटानभन्दा पनि पछाडि पर्दै गएको प्रसङ्ग कोट्याए ।
एन्फाको कार्यशैली हेर्दा गत वर्षको निर्वाचनमा आफूले गम्भीर भुल गरेको पनि घलेले बताए । ‘नरेन्द्रलाई समर्थन गरेर पश्चातापको महसुस भइरहेको छ,’ उनले भने, ‘उनले मप्रति जस्तो व्यवहार गरे, त्यसलाई लिएर मैले चुनावमा उनलाई गरेको समर्थन जिन्दगीकै ठूलो भुल हो भन्ने लागेको छ ।’ उनले थपे, ‘फिफा, एएफसी, दातृ संस्थाहरूबाट निरन्तर बजेट आउँछ तर लिग सञ्चालन नगरेर क्लबहरूलाई सिध्याउन लागेका छन् । काम गर्ने जिल्लालाई पाखा लगाइएको छ । प्रायोजक तयार भएर पनि प्रतियोगिता नै गर्दैन । नेपालको फुटबल धराशयी अवस्थामा पुगेको छ । यो नेतृत्व फुटबल विकासको बाधक बनेको छ ।’


एकलौटी चुनाव गरेको आरोप
-नारायण शर्मा
नवलपरासी– अधिवेशनमा सहभागी हुनबाट वञ्चित गरिएका १४ क्लबले अधिवेशन रोक्न गरेको मागलाई अस्वीकार गर्दै जिल्ला फुटबल संघ नवलपरासीको एक समूहले शुक्रबार एकलौटी नेतृत्व चयन गरेको छ । यसले जिल्लासँग आबद्ध क्लब दुई खेमामा विभाजित भएको छ । १३ वर्षदेखि जिल्ला फुटबल संघका अध्यक्ष प्रकाश पंगेनीसम्मिलित समूहले एकलौटी समिति गठन गरेको घोषणा गरेको हो ।
अधिवेशन गराउन एन्फाबाट खटिएका केन्द्रीय प्रतिनिधि रमेश रायमाझीलाई समेत थाहै नदिई पंगेनी समूहले अधिवेशन सम्पन्न भएको घोषणा गरेको हो । प्रतिनिधि रायमाझीले आफू तोकिएकै समयमा अधिवेशन स्थलमा पुग्दा कोही पनि नभेटेका कारण अधिवेशन नै नभएको बताए । उनले आफू उपस्थित नभईकन भएको भनिएको अधिवेशन वैध नहुने कान्तिपुरलाई बताए । उनले आफूले सत्यतथ्य बुझेर प्रतिवेदन केन्द्रमा पेश गर्ने बताए । एन्फाको निर्वाचन निर्देशिकाको बूँदा नम्बर ७ मा केन्द्रीय प्रतिनिधिको रोहबरमा अधिवेशन सम्पन्न गनुपर्ने प्रस्ट उल्लेख छ ।
एन्फाका प्रवक्ता सञ्जिव मिश्रले टेलिफोनमा केन्द्रीय प्रतिनिधिलाई थाहै नदिई अधिवेशन गर्नु गैरकानुनी हुने कान्तिपुरलाई बताए । उनका अनुसार केन्द्रीय प्रतिनिधिको प्रतिवेदन आइसकेपछि केन्द्रले यसबारे थप निर्णय लिनेछ ।
जिल्ला फुटबल संघमा आबद्ध २९ क्लबमध्ये १४ वटालाई मताधिकारबाट वञ्चित गरेर अध्यक्ष पंगेनीको समूहले अधिवेशन सम्पन्न गरेको घोषणा गरेको हो । अधिवेशन गर्ने भनिएको थारु होमस्टेमा सहभागीहरू पुग्दा कोही पनि नभेटिएको असन्तुष्ट पक्ष तथा मनकामना युवा क्लबका अध्यक्ष धनबहादुर गुरुङले बताए ।
एन्फाका केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष प्रकाश पंगेनीले सबै प्रकृया पूरा गरेको दाबी गर्दै नियम नमान्ने र समयमा दर्ता नवीकरण नगरिएका क्लबलाई विधानले रोकेको बताए । उनले सबै प्रकृया विधानसम्मत भएको दाबी गरे ।

प्रकाशित : पुस २९, २०७४ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्

घर बाहिर जित्नै गाह्रो

कान्तिपुर संवाददाता

काठमाडौँ — टेस्ट क्रिकेटमा दर्शकको संख्या घटै छ । किनभने सबैलाई थाहा छ, कसले जित्ने छ । खेलमा यस्तो हुन्छ भने त्यो राम्रो होइन । म न्युकासल समर्थक हुँ । मलाई लाग्छ, प्रत्येक खेलमा मेरो टिम जित्ने छ । उनीहरूले पक्कै यस्तो गर्न सक्ने छैनन् तर यस्तो सम्भावना बढी छ । यदि यसलाई एसेज क्रिकेट शृंखलामा इंग्ल्यान्डले अस्ट्ेरलियालाई हराउँछ भन्ने तथ्यसँग तुलना गरिन्छ ।’ 

इंग्ल्यान्डका कप्तान जो रुट । 

यो भनाइ हो पूर्व इंग्लिस स्पिनर ग्रेम स्वानको । साँच्चै के टेस्ट क्रिकेट यति साह्रो पूर्वानुमान गर्न सकिने भएको हो त ?
वा भनौं क्रिकेटमा घरबाहिर जत्तिको जित्न अरु कुनै खेलमा गाह्रो छैन हो त ? जस्तो इंग्ल्यान्डकै प्रसङ्ग । यो टिमले घरमा जित्ने सम्भावना जति बढी छ, बाहिर हार्ने सम्भावना पनि उत्तिकै बढी । सन् २००१ यता इंग्ल्यान्डले घरमा एसेज शृंखला गुमाएको छैन, जबकि सन् १९८६–८७ यता इंग्ल्यान्डले अस्ट्ेरलियामा एकपल्ट मात्र जितेको छ । यसपल्ट पनि इंग्ल्यान्डले एसेज शृंखला ४–० ले गुमायो । सन् २०१३–१४ मा यो हारको अन्तर ५–० रह्यो ।
त्यसैले पनि टेस्ट क्रिकेट पण्डित एड स्मिथले पनि माने, ‘साँच्चै म पनि चिन्तित छु । टेस्ट क्रिकेटमा पूर्वानुमान गर्न कति सजिलो भएको छ ।’ यसै कारण कतै टेस्ट क्रिकेट रमाइलो पनि हुन छाडेको त छैन ? अर्को प्रश्न । टेस्ट क्रिकेटमा घरेलु टिम वास्तवमै बलियो हुन्छ । यस पछाडि धेरै कारण पनि छन् । फेरि यो खासै नयाँ तथ्य भने होइन । पछिल्ला वर्षका केही शृंखलालाई उदाहरण मान्ने हो भने पनि घर बाहिर गएर जित्ने प्रवृत्तिमा खासै परिवर्तन आएको छैन । यदि पुराना दिनसँग दाँज्ने हो भने ।
पछिल्लो सय वर्षको टेस्ट क्रिकेट इतिहास पल्टाउने हो भने घर बाहिर गएर शृंखला जित्ने सम्भावना २०–३० प्रतिशतमात्र छ । सन् ९० मा यो प्रतिशत २३ थियो । सन् २०१० तिर पुगेर यो २७ प्रतिशत भएको छ । यसरी घरेलु टिम बलियो हुनुको प्रमुख कारण त अरु केही होइन, पिच नै हो । प्रस्ट छ, टेस्ट खेल्ने सबै १० देशले आफ्ना प्रतिद्वन्द्वीका लागि फरक प्रकृतिको पिच प्रस्तुत गर्ने गर्छ । अस्ट्ेरलिया र दक्षिण अफ्रिकामा बल खुबै बाउन्स हुन्छ ।
त्यसैले त्यतातिर तीव्र गतिका बलर राजाजस्तै हुन्छन् । इंग्ल्यान्ड, न्युजिल्यान्ड र भारततिर बलले स्विङ खाने गर्छ, ब्याट्सम्यानलाई छाडेर । त्यसैले पेसम्यानभन्दा बल स्वीङ गराउन सक्ने बलर यी देशका पिचमा सफल हुने गर्छन् । हुँदा(हुँदा बल पनि फरक हुने गर्छ । जस्तो इंग्ल्यान्डतिर टेस्ट खेल्दा डयुक बल प्रयोग हुन्छ । अस्ट्ेरलियातिर कुकाबुरा । सबैलाई थाहा छ, डयुक बलले बलरलाई फाइदा दिन्छ । एउटा बलमा माहिर ब्याट्सम्यान अर्को बलमा औसत खेलाडी हुनसक्छ ।
सायद अर्को एउटा प्रमुख कारण टिमले विदेश भ्रमण गर्दा त्यसअनुसार पर्याप्त तयारी पनि गर्न सकेको हुन्न । त्यसमाथि अचेल शृंखला कम समयावधिको हुन थालेको छ । त्यसैले भ्रमणकारी टिमले अभ्यास खेल पनि कम पाउन थालेका छन् । यस्तोमा घरेलु टिमले आफूअनुकुल पिच बनाउँछ । त्यसमा खेल्ने अनुभव नै विपक्षी टिमसँग छैन भने समान टक्कर कसरी हुन्छ । त्यसमाथि विपक्षी टिमबारे खेल्नुअगाडि नै सबै थाहा भइसकेको हुन्छ ।
अझ विपक्षी टिमलाई गाह्रो हुने कारण आफूले भ्रमण गरेको देशको मौसम फरक हुनु पनि हुन्छ । आखिरमा मौसमले पनि क्रिकेटमा धेरे फरक पार्छ नै । अब मूल प्रश्न, के टेस्ट क्रिकेटमा भ्रमणकारी टिमलाई जति गाह्रो हुन्छ, त्यत्तिकै अरु खेलमा पनि हुने गर्छ त ? हार्वर्ड विश्वविद्यालयले गरेको अनुसन्धानमा के निस्केको छ भने कम्तीमा फुटबलसँग तुलना गर्दा त टेस्ट क्रिकेट पाहुना टिमका लागि निर्दयी नै साबित हुने गर्छ । तर पनि क्रिकेट अनिश्चिताको खेल हो, यसमा असम्भव भन्ने केही हुन्न ।
-मार्क हिगिन्सन, लन्डन (बीबीसी)

प्रकाशित : पुस २९, २०७४ ०६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्