कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शतकबाट चुके मारक्रम

एएफपी

सेन्चुरियन — एडेन मारक्रम शतकबाट ६ रनले चुक्दा दक्षिण अफ्रिकाले भारतविरुद्ध शनिबार दोस्रो टेस्टको पहिलो दिन औसत सुरुआत गरेको छ । दिनको खेल सकिँदा घरेलु टोली दक्षिण अफ्रिका ६ विकेटमा २ सय ६९ रनको स्थितिमा छ । सुरुआती दुई सत्रमा राम्रो प्रदर्शन गरेको दक्षिण अफ्रिकाले अन्तिम सत्रमा ४ विकेट गुमाएको थियो ।

शतकबाट चुके मारक्रम

पाँचौं टेस्ट खेलिरहेका ओपनर मारक्रम तेस्रो शतक नजिक पुग्दा विकेटकिपर पार्थिव पटेलको हातबाट समातिए । ९४ रनको स्थितिमा छँदा रविचन्द्रन आश्विनको बललाई थर्डम्यानतर्फ खेल्दा उनी क्याचआउट भएका थिए । मारक्रमले १ सय ५० बल खेल्दै १५ चौका प्रहार गरे । उनले पहिलो विकेटमा ३१ रन जोडेका डिन एल्गरसँग ८५ रनको साझेदारी गरे ।

मध्यक्रमका ब्याट्सम्यान हसिम अमला ८२ रन जोड्दै रनआउट भए । हार्दिक पाण्डेयले आफ्नै बलिङमा गरेको उत्कृष्ट फिल्डिङमा फसेका उनले त्यसअघि दुईपल्ट जीवनदान पाएका थिए । उनलाई १४ रनमा हार्दिक र ३० रनमा पार्थिवले ड्रप गरे । एबी डी भिलियर्स २३, क्विन्टन डी कक र भेर्नोन फिलान्डर शून्यमा पेभेलियन फर्किए । टोलीका लागि कप्तान फाफ डु प्लेसिस २५ तथा केशव महाराज १० रनमा नटआउट छन् । भारतबाट आश्विनले ३ तथा ईशान्त शर्माले १ विकेट लिए ।

पहिलो टेस्टमा पराजित भारतले तीन खेलाडी परिवर्तन गरेको छ । शिखर धवन, रिद्धिमान साह र भुवनेश्वर कुमारको स्थानमा लोकेश राहुल, पार्थिव र ईशान्त टोलीमा आएका छन् । घरेलु टोलीले घाइते डेल स्टेयनको स्थानमा लुंगी एन्गिदीलाई डेब्यू दिएको छ ।

बोल्टको घातक बलिङ

डुनेडिन– ट्ेरन्ट बोल्डको घातक बलिङ मदतमा न्युजिल्यान्डले तेस्रो वान डेमा पाकिस्तानलाई सजिलै १ सय ८३ रनले हराएको छ । योसँगै न्युजिल्यान्डले पाँच खेलको शृंखलामा कब्जा जमाएको छ । न्युजिल्यान्ड शृंखलामा तीनै खेल जितेर अपराजित छ । बोल्टले १७ रनमा ५ विकेट लिए । न्युजिल्यान्डले २ सय ५७ रन बनाएकोमा पाकिस्तान ७४ रनमै समेटियो ।

प्रकाशित : पुस ३०, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?