कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मीलाई खप्तड गोल्डकप उपाधि

धनगढी — सुदूरपश्चिमको धनगढीमा जारी खप्तड गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । सोमबार फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) लाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै आर्मी उपाधि जित्न सफल भएको हो ।

आर्मीलाई खप्तड गोल्डकप उपाधि

टाइब्रेकरमा एपीएफका सुदिप शिख्राकारको दोस्रो प्रहार पोस्टमा लागेर फर्किंदा आर्मी भाग्यमानी भयो । टाइब्रेकरमा आर्मीका लागि नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दीप लामा, दीपक गुरुङ र विवेक बस्नेतले गोल गरेका थिए । एपीएफका अन्जन विष्ट, नविन लामा, पाल्साङ लामा र रन्जन विष्टले गोल गरे ।


निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकर बाट लिनुपरेको थियो । यो आर्मीको जारी सिजनमा चौथो उपाधि हो । प्रतियोगिताको विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टलगायतले पुरस्कृत गरेका थिए ।


प्रतियोगिताको उपाधिसँगै विजेता टोलीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । उपविजेताले भने ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो । दर्शकले खचाखच भरिएको धनगढी रंगशालामा करिब दश हजारको उपस्थिति थियो ।


प्रतियोगिताको आयोजक सुदुरपश्चिम ११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले अर्को संस्करणको विजेताले २१ लाख रुपैयाँ पाउने जानकारी दिए ।

प्रकाशित : माघ १, २०७४ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?