कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलो दिनै अमेरिकीलाई झट्का

अस्ट्रेलियन ओपन टेनिस
एएफपी

मेलबर्न — राफेल नाडलले चोटको समस्याबाट मुक्त भएको संकेत दिँदै अस्ट्रेलियन ओपन टेनिसमा सोमबार विजयी सुरुआत गरेका छन् । प्रतियोगिताको पहिलो दिन सोमबार अमेरिकी खेलाडीहरूका लागि खराब रह्यो । भेनस विलियम्ससँगै माथिल्लो वरीयताका खेलाडी पराजित हुँदै बाहिरिए । 

पहिलो दिनै अमेरिकीलाई झट्का

स्पेनी नम्बर एक खेलाडी नाडलले सन् २०१७ को अन्त्य घुँडाको चोटसँगै गरेका थिए । उनले वर्षको पहिलो ग्रान्ड स्लाम खेल्नुअगाडि अभ्यास प्रतियोगिता पनि खेलेनन् । तर कोर्टमा उत्रेयता उनी आफ्ना डोमिनिक गणतन्त्रका प्रतिद्वन्द्वी भिक्टर इस्टेलाविरुद्ध निर्दयी साबित भए । नाडलले ९४ मिनेटमात्र चलेको खेल ६–१, ६–१, ६–१ को सोझो सेटमा आफ्नो पक्षमा पारे ।

‘कोर्टमा फर्कन पाएकामा म खुसी छु,’ नाडलले भने, ‘आजको खेल सजिलै जित्न सक्नु मेरा लागि खुसीको समाचार हो ।’

दोस्रो वरीयताकी महिला खेलाडी कारोलिन वाज्नीआकीले पनि सजिलो जितसँगै दोस्रो चरणको यात्रा गरिन् । अहिलेसम्म पहिलो ग्रान्ड स्लाम उपाधिको खोजीमा रहेकी डेनमार्ककी उनले रोमानियाकी माहेला बुजारनेस्कुलाई ६–२, ६–३ ले हराइन् ।

यस्तै खुसी भने पाँचौं वरीयताकी भेनसले आत्मसात् गर्न सकिनन् । उनी स्विस स्टार बेलिन्दा बेन्सिचको हातबाट पराजित भइन् । बेन्सिचले हालै मात्र रोजर फेडेररसँग मिलेर होपम्यान कप जितेकी थिइन् । उनको जितको अन्तर ६–३, ७–५ रह्यो । ‘मैले आज खराब खेलिनँ, तर पराजित रहेँ,’ ३७ वर्षीया भेनसको प्रतिक्रिया थियो ।

‘आजको जितमा निकै खुसी छु र यस्तै खेलबाट मैले सिक्ने अवसर पाउने हो,’ २० वर्षीया बेन्सिचले भनिन् । चाँडै घर फर्कन बाध्य रहनेमा अर्का अमेरिकी खेलाडी तथा यूएस ओपन विजेता सलोनी स्टेफेन्स पनि रहिन् । उनलाई चिनियाँ खेलाडी झाङ सुईले लामो समय चलेको खेलमा २–६, ७–६ (७–२), ६–२ ले हराइन् ।

अर्का अमेरिकी जोन इस्नर पनि पहिलो चरणबाटै घर फर्के । म्याराथन खेलाडीमा चिनिने १६ औं वरीयताप्राप्त इस्नर घरेलु प्रतिद्वन्द्वी म्याथ्यु इवडेनसँग चार सेटमा पराजित भए । आठौं वरीयताका अमेरिकी ज्याक सकले पनि जापानका युची सुगीतालाई संघर्षपूर्ण प्रतिस्पर्धाबीच खेल सुम्पिए । महिलातर्फ १० औं वरीयताकी अमेरिकी कोको भान्देवेघेसहित जेनिफर बार्डी पनि पराजित भए ।

प्रकाशित : माघ २, २०७४ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?