कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोकोभिच बाहिरिए

एएफपी

मेलबर्न — चोटका कारण पूर्ण फिट नभई कोर्टमा उत्रिएका १२ पटकका ग्रान्ड स्लाम विजेता नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएका छन् । जायन्ट किलरको उपमा पाएका कोरियाली खेलाडी चुङ ह्योएनले सोमबार सर्बियाली जोकोभिचलाई सोझो सेटमा पराजित गरे ।

जोकोभिच बाहिरिए

दायाँ कुहिनाको चोटका कारण ६ महिना विश्रामपछि फर्किएका जोकोभिचले दुखाइका बाबजुद सातौं पटक अस्ट्रेलियन ओपन जित्ने सपना बुनेका थिए । तर रोड–लेभर एरिनामा चुङसँग ७–६ (७/४), ७–५, ७–६ (७/३) पराजित हुँदै उनी बाहिरीए । चुङले अघिल्लो चरणमा चौथो वरीयताका एलेक्जेन्डर भेरेभलाई हराएका थिए । हारपछि जोकोभिचले चुङको प्रशंसा गर्दै जितको हकदार भएको बताए । ‘उनलाई धेरै बधाई छ । उनले निकै राम्रो खेले र उनी जितका हकदार थिए,’ दुखाइका कारण खेलदौरान कम्मर समाउँदै गरेका जोकोभिचले भने । जोकोभिचलाई आदर्श खेलाडी मान्ने चुङले भने सपना पूरा भएको अभिव्यक्ति दिए । ‘म विश्वास गर्न सकिरहेको छैन । मेरो सपना आज पुरा भएको छ,’ उनले भने । ५८ औं वरीयताका चुङले अब क्वाटरफाइनलमा अमेरिकी खेलाडी टेन्निस सान्डग्रेनको सामना गर्नेछन् ।


पहिलोपल्ट अस्ट्रेलियन ओपन खेलिरहेका सान्डग्रेनले पाँचौ वरीयताका डोमिनिक थिएमलाई पराजित गरेका हुन् । उनले अस्ट्रियन खेलाडीलाई ६–२, ४–६, ७–६ (७/४), ६–७ (७/९), ६–३ ले पराजित गरे । डिफेन्डिङ च्याम्पियन रोजर फेडेररले भने मार्टोन फुक्सोभिक्सलाई ६–४, ७–६ (७/३), ६–२ ले हराए । यससँगै फेडेरर १४ औं पटक प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाउन सफल भए । उनले सेमिफाइनलमा स्थान बनाउन टोमस बर्डिचको सामना गर्नेछन् । बर्डिचले इटालीका फाबियो फोगिनीलाई ६–१, ६–४, ६–४ ले पराजित गरे ।


महिलातर्फ विश्व नम्बर १ सिमोना हालेपले जापानकी नाओमी ओसाकालाई ६–३, ६–२ ले हराइन् । उनले छैटौं वरीयताकी क्यारोलिना प्लिस्कोभासँग खेल्नेछिन् ।


प्लिस्कोभाले २० औं वरीयताकी बार्बोरा स्ट्रिकोभालाई ७–६ (७/५), ३–६, ६–२ ले हराएर क्वाटरफाइनलमा स्थान बनाइन् ।


पहिलो सेट गुमाए पनि जर्मनीकी एन्जेलिक केरबर पुनरागमन गर्दै अगाडि बढिन् । दोस्रो सेटमा खेल बचाउन सर्भिस गरेकी उनले ताइवानकी भेट्रान खेलाडी सिए सु–वेईलाई ४–६, ७–५, ६–२ ले पाखा लगाइन् । उनले अब अमेरिकी म्याडिसन किजसँग खेल्छिन् । १७ औं वरीयताकी किजले आठौं वरीयताकी फ्रान्सेली क्यारोलिन गार्सियालाई ६–३, ६–२ ले सहजै हराइन् ।

प्रकाशित : माघ ९, २०७४ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?