कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गरिफा सेमिफाइनलमा

वेदराज पौडेल

इटहरी — पाहुना टोली गरिफा युनाइटेड स्पोर्टिङ क्लब कोलकाता मंगलबार मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । गरिफाले अन्तिम क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० ले हराउँदै अन्तिम चारको यात्रा गरेको हो । 

गरिफा सेमिफाइनलमा

फाइनल पुग्नका लागि कोलकाताको भेट बिहीबार मनाङ मस्र्याङदीसँग हुनेछ । मनाङले झापा ११ लाई पन्छाउँदै सेमिफाइनल पुगिसकेको छ । पहिलो सेमिफाइनलमा बुधबार थ्रीस्टारविरुद्ध आर्मीले प्रतिस्पर्धा गर्नेछ ।


इटहरी रंगशालामा मंगलबार दोस्रो मिनेटमा नै चलाखीपूर्वक कोलकाताका सेसी सोलासले विपक्षी खेलाडीलाई छलाउँदै अगाडि बढाएको बलमा गोल गरेका थिए । सुरुमा ४–४–२ को रणनीतिमा उत्रिएको आयोजकले एक गोल खाएपछि रणनीति परिवर्तन गर्‍यो ।


पछिल्लो समय फाल्गुनन्द गोल्डकप जितेको राष्ट्रिय जागृतिका लागि कोलकाता अपरिचित टिम हो । अग्ला कदका ५ नाइजेरियनसहित मैदान उत्रेको गरिफा कोलकोता लिग खेलिसकेकाले बलियो टोली हो । तर, ४ हजार घरेलु दर्शक र आफ्नो मैदानको फाइदा उठाउँदै आयोजकले खेल अवधिभर नै उत्कृष्ट प्रदर्शन गर्दै कोलकोतालाई दबाबमा राख्यो ।


एक गोल खाएपछि रक्षात्मक रणनीतिमा उत्रिएको आयोजक क्लबले कोलकाताविरुद्ध राम्रो अवसर पाएर पनि फिनिसिङ गर्न नसक्दा बाहिरियो । खेलभर कोलकाताले तीन र आयोजकले दुई सुन्दर अवसर पाएका थिए । तर, दुवैले त्यसलाई सदुपयोग गर्न सकेन । खेलमा कोलकाताका खेलाडीले पाँच पहेँलो कार्ड सामना गरे ।


आयोजक क्लबका खेलाडीले बल पेनाल्टी बक्स नजिक पुर्‍याउनु अघि नै कोलकोताका गोलरक्षक राना चक्रवर्तीले अवस्था सहज बनाउँथे । उनी पहिल्यै डिफेन्स गर्थे र बल क्लियर गर्थे । रक्षापंक्तिमा रहेका नाइजेरियन मूलका डुम्बियाले निकै राम्रो प्रदर्शन देखाए । होचा कदका आयोजकका खेलाडीले ग्रास बलमा बढी ध्यान दिनुपर्नेमा त्यसो नगर्दा अग्ला कदका नाइजेरियनले लामा प्रहारहरू विफल बनाइदिए ।

खेलमा आयोजकका दिपेन तामाङ, प्रवेश दनुवार, तीर्थ बस्नेतले गरेका केही दर्शनीय प्रहार कोलकाताका गोलरक्षकले जोगाए । म्यान अफ द म्याच प्रवेश दनुवार भए । उनले १० हजार पाए ।


राष्ट्रिय जागृतिका प्रशिक्षक श्याम मानन्धरले खेलाडीको प्रदर्शन राम्रो भए पनि सुरुआतमै सम्हालिन नसक्दा हार बेहोर्नुपरेको बताए । गरिफा युनाइटेडका प्रशिक्षक प्रोनव चक्रवर्तीले लामो यात्रा र यहाँको मैदानमा अभ्यास गर्न नपाएका कारण आफ्ना खेलाडी थाकेको बताए ।


आजको सेमिफाइनल

थ्रीस्टारविरुद्ध त्रिभुवन आर्मी

इटहरी रंगशाला

प्रकाशित : माघ १०, २०७४ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?