कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकामा विश्वकप ट्रफी उत्साह

हिमेश

कोलम्बो — सम्भवत: श्रीलंकाली फुटबल पछिल्लो समय केही सेलाएको छ । श्रीलंकाली फुटबलले अन्तर्राष्ट्रियस्तरमा लगातार खराव नतिजा पनि बेहोरिरहेको छ ।

श्रीलंकामा विश्वकप ट्रफी उत्साह

यसबाट पार लाग्ने उपाय के हुन सक्छ त ? अहिले तत्कालका लागि यहाँको फुटबलमा कम्तीमा उत्साह थप्न कामका लागि राम्रो बहाना बनेको छ, विश्वकप ट्रफिको कोलम्बो भ्रमण । र, अपेक्षा गरेभन्दा पनि यस ट्रफिका लागि बढी उत्साह देखियो, क्रिकेट हाबी रहेको कोलम्बोमा ।


श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमसिंघे स्वंयले पनि माने, विश्वकप ट्रफिको पहिलो पल्ट आफ्नो भूमिमा आगमन ऐतिहासिक रह्यो र विश्वास गर्न सकिन्छ, यसले वास्तवमै श्रीलंकाली फुटबलमा नयाँ उत्साह थप्नेछ । उनले भने ‘ट्रफिको श्रीलंका भ्रमणले यहाँको फुटबलमा नयाँ उमंग थप्ने काम भएको छ । फुटबलले श्रीलंकालाई फेरि एक स्थानमा ल्याउन र मजबुत गर्न मदत मिल्नेछ ।’ लगभग छ महिनापछि रुसमा आउने सस्करणको विश्वकप सुरु हुँदैछ र यसकै पृष्ठभूमिमा ट्रफि भ्रमणको पहिलो गन्तब्ध रह्यो, कोलम्बो ।


अब यो ट्रफिले कोलम्बोबाट नै तय गर्नेछ, १ लाख २६ हजार किलोमिटरको यात्रा । र, पुग्नेछ, ५४ देश । मंगलबार राति मात्र ट्रफि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को विशेष विमानबाट कोलम्बो आइपुगेको थियो । लन्डनबाट यो यात्रा तय गर्न अगाडि ट्रफिलाई विश्वकप आयोजक देश रुसका विभिन्न सहरमा पनि घुमाइएको थियो । दक्षिण एसियामा यसपल्ट ट्रफिले माल्दिभ्स र पाकिस्तानको पनि यात्रा गर्नेछ । यसअघि बीएमआईसीएचमा ट्रफिलाई सार्वजनिक प्रदर्शनमा राखिएको थियो ।


त्यसलाई हेर्न श्रीलंकाली फुटबल प्रेमीको घुँइचो लागेको थियो । त्यही अन्तर्राष्ट्रिय सम्मेलन भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री विक्रमसिंघेले ट्रफिको सार्वजनिक प्रदर्शनको सुरुआतका लागि आयोजित कार्यक्रममा श्रीलंकाली फुटबलमा फेरि राम्रा दिन फर्कन विश्वास पनि पोखे । त्यस अवसरमा श्रीलंकाली फुटबल विकासका लागि भिसन २०३० कार्यक्रम पनि घोषणा गरिएको थियो । त्यस अवसरमा कोकाकोला इन्डिया एन्ड साउथवेस्ट एसियाका अध्यक्ष टी कृष्णकुमारले ट्रफि कोलम्बो ल्याउने उपलब्धी साकार भएको खुसी व्यक्त गरे ।


फिफाको व्यवसायिक प्रायोजक साझेदार रहेको कोकाकोलाले नै ट्रफिको विश्व भ्रमण आयोजना गर्नेछ । त्यस अगाडि बुधबार विहान नै श्रीलंकाली पुरुष र महिला फुटबल टिमका लागि ट्रफिको विशेष प्रदर्शनी राखिएको थियो । त्यसको ठीक अगाडि ट्रफिलाई श्रीलंकाली राष्ट्रपति मैत्रीपाला श्रीसेनासमक्ष औपचारिक रूपमा प्रस्तुत गरिएको थियो । यसका लागि राष्ट्रपतिको कार्यालयमा विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो ।


ट्रफिसँगै पूर्व विश्वकप विजेता क्रिस्टियन करेम्बु कोलम्बो आए र उनले पनि श्रीलंकाली फुटबलले अब विकासको बाटो लिने बताए । उनको भनाइ थियो, प्रत्येक फुटबल प्रेमीले विश्वकपको सपना बुन्न सक्छ । सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा उनी त्यस टिमका एक प्रमुख सदस्य थिए । मिडियासँगको कुराकानीमा उनको भनाइ थियो, ‘फुटबलसँग विश्वलाई एकजुत गर्ने शक्ति छ र यसका लागि विश्वकप सबैभन्दा राम्रो अवसर हो ।’

प्रकाशित : माघ १०, २०७४ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?