कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

धरानसँग आर्मी स्तब्ध

दीपक परियार

लेखनाथ — धरान फुटबल क्लबले १६ औं आहा रारा गोल्डकप फुटबलमा आइतबार आर्मीलाई स्तब्ध पार्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

धरानसँग आर्मी स्तब्ध

धरानले क्वाटरफाइनलमा तीनपल्ट फाइनल खेलेको आर्मीलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पारेको हो । निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त २० मिनेटको प्रतिस्पर्धा १–१ मा टंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । फरवार्ड नवयुग श्रेष्ठले अतिरिक्त समयको दोस्रो मिनेटमा प्रहार गरेको बलमा गोलपोस्ट बाधक बनेको थियो । अन्तत: त्यो अवसर आर्मीका लागि अफाप सिद्ध भयो ।


आर्मी धनगढीमा खप्तड गोल्डकपको उपाधि जितेर मदन भण्डारी स्मृति इटहरी गोल्डकप खेल्न पूर्व पुगेको थियो । इटहरीमा आर्मी थ्रीस्टारविरुद्ध सेमिफाइनलमा हारेपछि पोखरा आइपुगेको थियो । उसका लागि पोखरा यात्रा पनि सुखद भएन ।

फरवार्ड जर्जप्रिन्स कार्कीले टाइब्रेकरमा प्रहार गरेको बल क्रसबारमा लाग्दै बाहिरिएपछि अन्तिम चारमा धरानको भाग्य खुलेको हो । नवयुग, दीपक गुरुङ, दीप लामा र विवेक बस्नेत सफल रहे पनि आर्मीको यात्रा अन्तिम आठमै समाप्त भयो । कप्तान विष्णु सुनार, निशान लिम्बू, बुद्धिमान राई, रोमन लिम्बू र सुरज विकले टाइब्रेकरमा सटीक प्रहार गर्दै धरानलाई जित दिलाएका थिए । निशान म्यान अफ द म्याच पनि चुनिए ।


दर्शकको समर्थन पनि धरानले नै पाएको थियो । आहा रारा गोल्डकपमा आर्मी र धरान तेस्रोपल्ट भिडेका हुन् । दोस्रो संस्करणमा आर्मीले ४–० को जित निकाले पनि १२ औं संस्करणको दोस्रो चरणमै धरानले आर्मीको चुनौती २–१ ले समाप्त पारेको थियो ।


यसअघि कप्तान भरत खवासको गोलसँगै आर्मीले पहिलो हाफमा अग्रता लिएको थियो । उनले १८ औं मिनेटमा गोल गर्दै विभागीय टिमलाई अगाडि बढाएका थिए । तर निशान लिम्बूले ६८ औं मिनेटमा गोल गर्दै धरानलाई बराबरीमा पुर्‍याए । उनले ‘सिक्स यार्ड बक्स’ मा आर्मीले क्लियर गर्न नसकेको बललाई पोस्टको दिशा दिंदै खेल १–१ बनाएका थिए ।


नवयुग र भरतले गोलका केही सहज अवसर गुमाउँदा पनि आर्मी अप्ठ्यारोमा परेको थियो । धरानले पनि केही अवसर सिर्जना गर्‍यो तर उपयोग गर्न भने सकेन । धरानका टिम म्यानेजर अशोक राईले भने, ‘सुरक्षित पनि रहनुपर्ने भएकाले तीनजना मिडफिल्डमा राखेर डिफेन्स बलियो बनायौं । बल होल्ड गरेर खेल टाइब्रेकरमा पुर्‍याउने रणनीति सफल भयो । र, अन्त्यमा जित हात पार्‍यौं ।’ धरानले सेमिफाइनलमा पुलिस वा मनाङ–मस्र्याङ्दीको सामना गर्नेछ ।


आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लगातार प्रतियोगिता खेलेर आएको थकान आºनो खेलाडीमा देखिएको प्रतिक्रिया दिए । उनले अग्रता लिएपछि आफ्ना खेलाडीले विपक्षीलाई कमजोर आँक्दा नतिजा हात नलागेको पनि गुनासो गरे । ‘धरानले समूहमा एक भएर खेल्यो तर हाम्रा खेलाडी व्यक्तिगत खेलमै केन्द्रित भए । धरानले यसैको फाइदा लियो,’ उनले भने ।


आजको खेल

एपीएफविरुद्ध थ्रीस्टार

प्रकाशित : माघ १५, २०७४ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?