कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थ्रीस्टार फाइनलमा

धरान — इन्ज्युरी टाइममा विष्णु गुरुङले गरेको गोल रुस्लान थ्रीस्टार क्लबका लागि बुढासुब्बा रेडबुल गोल्डकप फुटबलको फाइनल पुग्न निर्णायक बनेको छ । 

थ्रीस्टार फाइनलमा

धरान रंगशालामा बिहीबार कोलकातास्थित दुर्गापुर स्टील फुटबल क्लबलाई १–० ले हराउँदै थ्रीस्टार उपाधि दाबेदार भएको हो । विष्णु ८१ औं मिनेटमा अनन्त तामाङको ठाउँमा मैदानमा छिरेका थिए ।


विजेता थ्रीस्टारले उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लबसँग माघ २७ मा प्रतिस्पर्धा गर्नेछ । निर्धारित ९० मिनेटसम्म दुर्गापुरले रोकेको थ्रीस्टारलाई चार मिनेट इन्ज्युरी टाइमको फाइनल यात्रा तय गर्ने अवसर भयो । तीव्र दबाबमा खेलेको थ्रीस्टारका लागि विष्णुले रिबाउन्डमा गोल गरेका हुन् । उनले बुद्ध चेम्जोङको पासमा पहिलो प्रहार गर्दा गोलरक्षक विशाल खोइतको हातबाट फुत्कियो । त्यही रिबाउन्ड बल प्रहार गर्दा विष्णु गोल गर्न सफल भए ।


चारपल्टको पूर्व विजेता थ्रीस्टारले दुर्गापुरविरुद्ध केही गोलअवसर गुमायो । खेलको १६ औं मिनेटमा बुद्ध चेम्जोङको पासमा अनन्तको हेड प्रहार बाहिरियो । खेलको ३५ औं मिनेटमा दुर्गापुर स्टीलका इमानुयलले थ्रीस्टारका अजायी मार्टिनलाई पेनाल्टी बक्सनजिकै लडाएपछि प्राप्त फ्रि–किक रजिन धिमालले प्रहार गरे । तर त्यसले गोलपोस्टको दिशा लिन सकेन ।


स्कोरर गर्न तडपिरहेको अवस्थामा ३९ औं मिनेटमा विश्वास श्रेष्ठको पासमा नीराजन खड्काको प्रहार फितलो बनेको थियो । तत्कालै विक्रम लामाको फ्रि–किक प्रहारलाई विश्वासले हेड गरे पनि गोलमा परिणत गर्न सकेनन् ।

सुदूरपश्चिमलाई ४–० ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थ्रीस्टारबाट ७२ औं मिनेटमा नीराजनको प्रहार पोलमा ठोक्किएर फर्केको थियो । ७८ औं मिनेटमा सुनील बलको पासमा मार्टिनको हेड बाहिरिएलगत्तै बुद्ध लामाको प्रहार विपक्षी गोलरक्षकले बचाएका थिए ।


आयोजक धरान फुटबल क्लबमाथि विजय पाएको दुर्गापुर स्टीलले भने थ्रीस्टारसँग खासै प्रदर्शन गर्न सकेन । म्यान अफ द म्याच बनेका गोलरक्षक एलेन न्यौपाने भए ।

प्रकाशित : माघ २६, २०७४ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?