कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाइअल्टिच्युट ट्रेनिङ गन्तव्य जुम्ला

एलपी देवकोटा

काठमाडौँ — विहानीको चिसो मौसममा दुई दर्जन बढी खेलाडीको अघि लागेर जंगलको उकालो दौडिन्छन् धावक हरिबहादुर रोकाय। अभ्यासमा आउने सबै खेलाडीहरू उनीजस्तै दौडेरै जुम्ला चिनाउने अभियानमा तल्लीन छन्। हाइअल्टिच्युड ट्रेनिङ सेन्टरको रूपमा जुम्लालाई चिनाउन चाहन्छन् पूर्वराष्ट्रिय धावक एवं प्रशिक्षक रोकाय। 

हाइअल्टिच्युट ट्रेनिङ गन्तव्य जुम्ला

उनले अहिले दुई दर्जन बढी खेलाडीलाई दैनिक प्रशिक्षण दिइरहेका छन्। जुम्लामा रंगशाला, खेल मैदानको व्यवस्था गरी ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ सञ्चालन गरिए पर्यटकको संख्यासमेत बढ्ने स्थानीय उनको भनाइ छ। खेलाडीका अनुसार तालिम केन्द्र सञ्चालन भए जिल्लामै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहज हुनेछ। खेल पर्यटनमार्फत स्थानीयले राम्रो आम्दानी गर्न सक्ने रोकायको अनुभव छ।

जुम्लाको पातारासीमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर बनाउनका लागि युवा तथा खेलकुद मन्त्रालयले स्थलगत अनुगमनसमेत गरिसकेको छ। चन्दननाथ–५ राजासिममा रंगशाला निर्माण गर्न जिल्ला खेलकुद विकास समितिले पनि पहल गरिरहेको छ। जिल्लामा खेल मैदान नहुँदा खेलाडीलाई प्रशिक्षणमा समस्या छ। चन्दननाथ नगरपालिका ५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले जिल्लामा रंगशाला निर्माण भएपछि खेलकुद क्षेत्रमा जिल्लाले फड्को मार्ने बताए। उनले जुम्लालाई ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ मा विकसित गर्ने योजना रहेको सुनाए।

रोकायले दौडेरै विश्व कीर्तिमान राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाइसकेका छन्। उनले अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिने स्वदेशी तथा विदेशी खेलाडीलाई प्रशिक्षित गर्ने आफ्नो लक्ष्य भएको सुनाए। एथलेटिक्सतर्फ जुम्लालाई ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’ मा विकास गर्न आफू प्रयासरत रहेको उनको भनाइ छ। अल्ट्रा म्याराथन दौड्ने खेलाडीलाई जुम्लामा बाहै्र महिना तालिम दिने योजना रहेको प्रशिक्षक रोकाय बताउँछन्। ‘जुम्लालाई ट्रेनिङ सेन्टरका रूपमा विकास गर्न सकियो भने जुम्लाको आर्थिक उन्नति हुने निश्चित छ,’ उनले भने, ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर बनाउन पटक–पटक छलफल भएका छन्।’

उनको प्रशिक्षणमा रहेका खेलाडीले क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगितामा पदक जित्दै आएका छन्। कर्णाली स्पोर्ट्स क्लबमार्फत खेलाडीले बर्सेनि पदक जित्दै आइरहेका हुन्। धावक रोकायको जिल्ला भएकाले पनि एथलेटिक्समा जुम्लाले फड्को मारेको क्लबका अध्यक्ष सरोज शाहीले ठम्याइ छ। २०४१ सालमा भएको राष्ट्रिय एथलेटिक्सको ५ हजार र १० हजार मिटर दौडमा रोकायले स्वर्ण जितेका थिए। उनले कर्णालीमा पदक भित्र्याएपछि खेलाडीको एथलेटिक्सप्रति चासो बढेको खेलकुद विकास समिति जुम्लाका अध्यक्ष हरि श्रेष्ठले बताए। जुम्लाबाट बक्सिङमा विष्णुबहादुर थापाले राष्ट्रिय प्रतियोगिता खेले। सुटिङमा गौरी कठायतले राष्ट्रिय पदक जुम्लामा भित्र्याएकी थिइन्। २०४५ सालमा सिंगापुरमा भएको १० हजार मिटरको अन्तर्राष्ट्रिय दौडमा जुम्लाका लोकबहादुर रोकाय सातौं भएका थिए। भलिबलका अशोक श्रेष्ठ, नारायण हमाल, तारासिंह कठायतले राष्ट्रिय प्रतियोगिता खेलेका थिए।


जुम्लामा रोकायसँग प्रशिक्षण लिएकी धाविका विश्वरूपा बुढाले पाँचौं र छैटौं राष्ट्रिय खेलकुदमा पदक जितेकी थिइन्। २०७१ साल फागुनमा कान्तिपुर हाफ म्याराथनमा विश्वरूपाले कीर्तिमान कायम गरेकी थिइन्। उनी अहिले नेपाली सेनामा आबद्ध छिन्। विभिन्न राष्ट्रिय प्रतियोगितामा रोकायले प्रशिक्षण दिइरहेका खेलाडीले पदक जित्न थालेपछि जुम्लाका युवाको खेलप्रति मोह बढ्दै गएको छ। जुम्ला–रारा अल्ट्रा म्याराथनमा पनि जुम्ली खेलाडीले नै वर्चश्व कायम गरे। जुम्लादेखि मुगुको रारा तालसम्म भएको जुम्ला–रारा अल्ट्रा म्याराथनमा ७ देखि ७९ वर्षसम्मका सयभन्दा बढी खेलाडी दौडिएका थिए।


जुम्लामा अभ्यास गर्ने खेलाडीलाई तराईमा समेत दौडन सहज हुने खेलाडी पूर्णलक्ष्मी न्यौपानेले बताइन्। उनले रोकायसँगै प्रशिक्षण लिइरहेकी छन्। पहाड तथा पाटनहरूमा आफू नियमित दौडिने गरेको सुनाइन्। छोटो दूरी दौडलाई अभ्यास गर्दा राजासिममा र लामो दूरीको दौडलाई अभ्यास पाटनमा गर्ने गरेको पूर्णलक्ष्मीले बताइन्। हालै जुम्लामा सम्पन्न हेरिटेज दौडमा तेस्रो भएकी उनी नेपाली सेनामा प्रवेश

गरेकी छन्।

प्रकाशित : माघ २७, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?