कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकैसाता दुई ठूला प्रतियोगिता

घनश्याम गौतम

बुटवल — फुटबलमा पश्चिम क्षेत्रकै प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबलको २० औं संस्करण र मोफसलकै ठूलो राशिको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता एकै साता बुटवलमै हुने भएको छ । 

दुवै आयोजकले शुक्रबार बुटवलमा छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै फागुन अन्तिम साता प्रतियोगिता हुने जानकारी दिए । रूपन्देही जिल्ला फुटबल संघले तिलोत्तमा गोल्डकप फागुन २४ देखि चैत ३ सम्म बुटवलकै देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा प्रतियोगिता हुने जनाएको छ ।


मदन भण्डारी स्पोर्ट्स एकेडेमीले मदन भण्डारी नकआउट फुटबल प्रतियोगिता फागुन २८ देखि चैत ७ सम्म बुटवलकै मानवज्ञान माविको मैदान रामनगरमा हुने जानकारी दिएपछि पुरानो र ऐतिहासिक एवं ठूलो राशिको दुई प्रतियोगिता एकैसाथ हुने संकेत देखिएको छ । एकेडेमीले भने एन्फाको प्रतियोगिता सर्ने दाबी गरे । पत्रकार सम्मेलनमा उनले हामीले पहिलो छलफलमा एन्फाले फागुन ७ मा गर्ने जानकारी दिएपछि फागुन २८ को समय तय गरिएको मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यले बताए । ‘एन्फा फुटबल खेलको संरक्षण गर्ने संस्था पनि हो,’ उनले भने, ‘खेल र खेलाडीको हितमा प्रतियोगिता आयोजना भएकाले दुवै आयोजक सकारात्मक भएर अघि बढ्नु पर्छ । एन्फा फुटबल प्रतियोगिताको संरक्षकसमेत भएकाले एकै समयमा दुई खेल हुन नसक्ने उनले दाबी गरे । तर दुवै टोलीले प्रतियोगिताको अन्तिम तयारी भइरहेको बताए ।


एन्फाको केन्द्रमा समेत यस विषयमा कुरा भइरहेको भन्दै उनले आफूहरूको प्रतियोगिता तोकिएको समयमै हुने बताए । विजेताले १५ लाख रुपैयाँ जित्ने छ । दोस्रोले ७ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले प्रतिटिम १–१ लाख रुपैयाँ पाउने छन् । एकेडेमीले खेल अवधिभर प्रतिखेलाडी ३ लाख रुपैयाँको बिमासमेत गरेको छ । जुन खेलाडीका लागि थप उत्साह हो । प्रतियोगिता राष्ट्रपतिबाट उद्घाटन हुने गरी समय निर्धारण गरिएको एकेडेमीका प्रदेश ५ का अध्यक्ष नरबहादुर घर्तीले बताए । ‘राष्ट्रपतिबाट उद्घाटन र प्रधानमन्त्रीबाट समापन हुनेछ,’ उनले भने ।

तिलोत्तमा गोल्डकपको २० औं संस्करण पनि निर्धारित समयमै हुने आयोजकले जनाएको छ । विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ जित्ने छ । जुन राशि गत वर्षको तुलनामा २ लाख रुपैयाँ बढी हो । दोस्रोले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पाउने छ । रूपन्देही जिल्ला अध्यक्ष दीर्घबहादुर केसी ‘कुमार’ ले प्रतियोगितामा भारतबाट सिक्किम ११ र दार्जिलिङ ११, भुटानको भुटान क्लब, नेपालका ए डिभिजनका १३ टोली सहभागी हुने बताए ।


‘गोल्डकप हरेक वर्ष गर्ने हाम्रो प्रयास हो,’ उनले भने, ‘विविध राजनीतिक अस्थिरता, आर्थिक र खेलमा प्रतिवद्धताको अभावले अहिले ४२ वर्षमा २० औं संस्करणमा आइपुगेको छ ।’ प्रतियोगिताको १९ औं संस्करण सीएमजी क्लब संकटा काठमाडौंले जितेको थियो । प्रतियोगिताका सर्वाेकृष्ट खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही २१ हजार १ सय ११ नगद पुरस्कार दिइने अध्यक्ष केसीले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?