कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलिस सेमिफाइनलमा

नगेन्द्र अधिकारी

हेटौंडा — घरेलु टोली विजय युथ क्लबलाई ३–० ले हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब आइतबार टुबोर्ग हेटौंडा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ ।

पुलिस सेमिफाइनलमा

पुलिसको जितमा अभिषेक रिजालले दुई र रवि पासवानले एक गोलको योगदान दिए । अभिषेकले पहिलो हाफको ११ र ४० औं मिनेटमा तथा रविले ५९ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा रविको पासमा अभिषेकले र दोस्रो हाफमा अभिषेकको पासमा रविले गोल गरेका थिए । दोस्रो गोल अभिषकले पेनाल्टी बक्स बाहिरबाट देब्रे खुट्टाले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । तेस्रो गोल रविले हेडमार्फत् गरे । अभिषेकले विपक्षी डिफेन्सलाई छक्याउँदै गरेको क्रसमा रविले हेडमार्फत गोल गरेका हुन् । म्यान अफ द म्याच पुलिसका अभिषेक घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।


खेलमा विजय युथका डिफेन्डर मनोज विष्टले रातो कार्ड पाएका थिए । पुलिसका प्रिलेन तामाङलाई हातपात गर्न खोजेपछि रेफ्रीले उनलाई रातो कार्ड दिइएको थियो । १० खेलाडीमा समेटिएको घरेलु टोलीले अन्तिम समयमा केही राम्रा मौका पाए पनि गोलमा परिणत गर्न चुकेको थियो ।


पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेल ‘टिमवर्क’ ले जित्ने भन्दै आफ्नो टिमको गुमेको साख फर्काउने प्रयासमा आफूहरू लागेको बताए । विजय युथका प्रशिक्षक सुविन घिमिरेले डिफेन्स कमजोर भएको स्विकारे । उनले नयाँ खेलाडीका कारण टिम सेट हुन नपाएको बताए ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा चलिरहेको प्रतियोगितामा सोमबार विभागीय टोली त्रिभुवन आर्मी र सुदूरपश्चिम भिड्ने छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?