कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोगोमा सातै प्रदेशको झल्को

आठौं राष्ट्रिय खेलकुद
ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्जमा मंसिरमा हुने आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक गरिएको छ । लोगोसँगै प्रतियोगिताको नारा र गीत पनि सार्वजनिक गरिएको हो । 

लोगोमा सातै प्रदेशको झल्को

लोगोमा रहेको चन्द्रसूर्य अंकित झण्डाले सिंगो नेपालको प्रतिनिधित्व गरेको छ भने परेवाले आपसी भाइचाराको सन्देश बोकी आठौं राष्ट्रियको प्रतितिधित्व हुने गरी ८ वटा पात आफ्नो चुच्चोमा बोकेको छ । बुद्धका दुई आँखाले सबैमा शान्ति र स्थिरताको कामना गरिएको छ भने लोगोमा राखिएको गेटले बर्दिया राष्ट्रिय निकुञ्जको प्रतिनिधित्व गर्दछ । परेवाका सप्तरंगी ७ प्वाँखले संघीय नेपालको सात प्रदेशलाई इंगित गरेको छ ।


यसअघि नै सार्वजनिक गरिएको मस्कट (हात्तीको छावा) लाई स्पोर्टी डिजाइन गरिएको छ । लोगो र मस्कट सन्तोष विष्टले डिजाइन गरेका हुन् । नारायण खतिवडाले रचना गरेको आठौं राष्ट्रिय खेलकुदको गीत ‘खेलाडी हौं’ पनि सार्वजनिक गरिएको छ । त्यस्तै ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ लाई आठौं राष्ट्रिय खेलकुदको नाराका रूपमा चयन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार नेपालगन्जमा लोगो, गीत, नारा र मस्कट सार्वजनिक गरे ।


खेलाडी हौं बोलको गीतको यस्तो छ :

राष्ट्रिय खेलकुद पर्व यसै प्रदेशमा, देशको छवि उँचो राख्छौं अन्तर्राष्ट्रियमा

चन्द्र–सूर्य झण्डा हो स्वाभिमान हाम्रो, एकताको सन्देश बोकी खेल खेल्छौं राम्रो ।

फरक–फरक जाति हामी फरक–फरक बोल्छौं, तर खेलमा हामी सबैलाई जोड्छौं अघि–अघि छावा हेर्नोस् मार्चपासमा, शुभ घडी शुभ सन्देश हाम्रो खेलमा ।


प्रदेश नम्बर ५ मा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज रहेकाले पर्यटन प्रवद्र्धनका लागि मस्कटमा हात्तीको छावा तय गरिएको हो । लोगो बनाउन परिषद्ले सार्वजनिक रूपमा प्रतिस्पर्धा गराएको थियो । सदस्यसचिवले समयमै प्रतियोगिता गराउन धमाधम भौतिक संरचना निर्माण भइरहेको बताए ।


प्रतियोगिताका लागि करिब डेढ अर्ब रुपैयाँ बजेट खर्च अनुमान गरिएको छ । त्यसबाहेक ५० करोड रुपैयाँ अतिरिक्त खर्च हुने उनले जनाए । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरा र बर्दियामा विभिन्न खेल हुनेछ । त्यसका लागि भौतिक संरचनाहरू धमाधम निर्माण भइरहेका छन् । बर्दिया र दाङमा पनि प्रतियोगिताका लागि संरचना निर्माण भइरहेका छन् । संरचना निर्माणका लागि ठेकेदारलाई ६ महिनाको समयावधि दिइएको छ । राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश गरिएको छ ।


यसैबीच बाँकेको खजुरा गाउँपालिका सीतापुरमा नेपालकै पहिलो सुविधासम्पन्न भलिबल स्टेडियम बन्ने भएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?