कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

पिंकाथन शनिबार

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतका आठ सहरमा गरी ७० हजार महिला सहभागी हुने पिंकाथन दौड गत सालदेखि नेपालमा पनि सुरु भएको हो । यसका संस्थापक मिलिन्द सोमन कार्यक्रमका लागि पटक–पटक नेपाल आउने गरेका छन् । काठमाडौंको दौडमा पहिले करिब २५ सय महिला सहभागी थिए ।

यसपालि पनि उत्तिकै संख्या दोहोरिन लागेको नेपालस्थित आयोजक लेजर पोर्टका नमराज जोशीले बताए ।


‘बुधबारसम्म दर्ता खुला छ,’ जोशीले कान्तिपुरसँग भने, ‘दुई हजार बढीले भाग लिने छाँटकाँट देखिएको छ । दर्ताका लागि ६ सय रुपैयाँ लाग्छ । विद्यार्थीलाई ४५० रुपैयाँ मात्र लिन्छौं । यसबापत् टिसर्ट, बिब र खाजा प्रदान गर्छौं ।’ शनिबार महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट दौड आरम्भ हुने बताइएको छ । ३, ५, १० र २१ किलोमिटर दूरीमा दौडिन पाइने पिंकाथनमा ५ र ३ किमिलाई फन रन अर्थात् मनोरञ्जनका लागि दौड भनिएको छ भने १० र २१ किमि दौडका विजेताले नगद पुरस्कार पाउनेछन् ।


सन् २०१२ मा स्तन क्यान्सरबारे जानकारी फैलाउने उद्देश्यले मुम्बईबाट सुरु गरिएको दौडलाई अहिले महिला सशक्तीकरणको नाउँमा निरन्तरा दिन थालिएको छ । भारतीय सुपर मोडल एवं अभिनेतासमेत रहेका मिलिन्द महिलालाई घर–गहृस्थीमा सीमित नहुन सल्लाह दिन्छन् । केही समयअघि आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ नै ठूलो कुरा भएकाले हरेक महिला खेलकुदमा सहभागी हुनुपर्ने बताएका थिए । ‘उहाँ शुक्रबार काठमाडौं आउँदै हुनुहुन्छ,’ जोशीले भने, ‘टिसर्ट वितरणका बेला सहभागीले भेट्न पाउनेछन् ।’


महाराजगन्ज, बालुवाटार, टंगाल, गैरीधारा, लैनचौर, ठमेल, सिंहदरबार, जमल, सामाखुसी, लाजिम्पाट हुँदै पुन: महाराजगन्जमा टुंगिने यसपालिको दौडमा अभिनेत्री केकी अधिकारी, अभिनेता अनुपविक्रम शाही, मोडल नगमा श्रेष्ठ, सविता कार्कीलगायत सेलिब्रिटीले भाग लिँदैछन् । काठमाडौं दौडपश्चात् पोखरामा पनि पिंकाथन आयोजना गर्ने जोशीको योजना छ । समारोहमा जुम्बा सेसन पनि चल्ने छ । द रोड रनर्स क्लबसँगको सहकार्यमा हुन लागेको दौडले नेपालमा पिंक रिभोलुसन सुरु गरेको लक्ष्य लिएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?